काठमाडौँ, फागुन ११ गते । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एवं सर्वाधिक गोल कर्ता सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो घुँडामा लागेको चोटको उपचार गर्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अविस्कार गरेको बताउनुभएको छ ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेख्दै ‘साम्बा’ले आफु उपचारका लागि भौतारिएको भन्दै आर्थिक सहयोगका लागि समर्थक र फुटबल प्रेमीमा अपिल गर्नुभएको छ ।
उहाँले आफ्नो फेसबुक स्टाटसमा लेख्नुभएको छ :
नमस्कार, म सावित्रा भण्डारी, तपाईंहरूको ‘साम्बा’
यहाँहरू सबैलाई थाहा नै छ म पछिल्लो ७ हप्तादेखि चोटका कारण मैदान बाहिर छु । सोचेजस्तो हुन्थ्यो भने अहिले म चोटको शल्यक्रिया गरेर फिजियो सुरु गरेको केहि समय बितिसक्ने थियो । तर अझै पनि म उपचारका लागि भौतारिएको छु ।
मेरो घुँडाको एसिएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ । यसका लागि मैले पुनस् जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ । पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो । त्यसबेला आर्थिक र मानसिक रूपमा मलाई कुनै समस्या थिएन, जसकारण मैले समयमा पुनरागमन गर्दै मैदान फर्कन सकेँ। ।
तर यसपटक एन्फा नेतृत्वबाट वाचा गरेको सहयोग पनि पाइएन । चोट लागेको ३ सातापछिका लागि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको भए पनि एन्फाले आफ्नो तर्फबाट प्रयास गर्ने बतायो ।
तर सो अनुसार एन्फाबाट प्रक्रिया अघि बढेन । मैले पटक पटक प्रयास गर्दापनि उहाँहरूलाई सम्पर्क गर्न कठिन भयो । अघिल्लो साता एन्फा अध्यक्ष आफैंले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । उहाँले नगद ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैँ गर्न भन्नुभयो । एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झन्डै २ महिनापछि मात्र शल्यक्रिया मितिका लागि फेरि प्रयास गर्नुपर्ने भएको छ ।
यसबिचमा क्लबले मलाई न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न तयार रहेको बताइरहेको छ । तर मेरो चोट गम्भीर रहेको र पछिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको रहेकाले मैले पुनः सोहि अस्पतालमा उपचार गराउने इच्छा राखेको हुँ । क्लबले बिमाबाट प्राप्त रकम मेरो लागि निकासा गरिदिने भएको छ ।
तर उक्त रकम मेरो शल्यक्रिया र ७/८ महिना रिह्याबका लागि अपुग हुने भएकाले आम समर्थकमाझ सहयोग माग्न आइपुगेको छु । यसका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक आँकलन रहेको छ ।
म बाहिर रहेकाले सरकारसमक्ष पनि मेरो प्रतिनिधित्व गर्दै उपचारका लागि सहयोगको प्रयास भएका छन् । तर सरकारी प्रक्रिया अपेक्षा गरे अनुसार अघि बढ्न नसक्दा मैले शल्यक्रिया नगरी भर गर्ने स्थिति रहेको छैन ।
मैले आफ्नो करियरमा सधैं कठिनाइहरूको सामना गर्नुपरेको छ, र हरेक पटक साहसका साथ त्यसलाई पार गरेको छु । यसपटक पुनस् माथि उठ्न तपाईंको सहयोगको आवश्यकता परेको छ ।
मेरो लागि यो आफ्नो करियरको सबैभन्दा कठिन लडाइँ भएको छ । मैले यो अवस्था आउला भन्ने सोचेको पनि थिइनँ । आफ्नो अभिभावक मानेको एन्फाले पनि पछि हटेपछि मेरो साथ दिन आम समर्थकहरू नै हुनुहुन्छ । एन्फाभित्र म क्लबका लागि खेल्दा चोट लागेको भन्ने तर्क सुन्दा म आफैं निराश भएको छु । तर मैले देशका लागि सँधै शतप्रतिशत दिएको छु र आउने दिनमा पनि देशका लागि खेल्न तत्पर छु ।
इजरायल होस् या फ्रान्स, मैले सधैं नेपालकै नाम राखेको महसुस भएको छ । यहाँ न्युजिल्यान्ड र अस्ट्रेलियामा खेल्दा पनि मैले व्यक्तिगत भन्दा पनि राष्ट्रको पहिचान बोकेको ठानेको छु ।
आर्थिक रूपमा मैले आजसम्म आर्जन नगरेको रकम यो उपचारका लागि आवश्यक परेको छ । त्यसैले नै म आज यहाँहरूमाझ सहयोगको याचना गरिरहेको छु । आशा छ मेरो उपचारका लागि आवश्यक सहयोग चाँडै जम्मा हुने छ । र म राष्ट्रिय टोलीको कप्तान, जो युरोपमा पुगेर खेलेको छु, मैले यो परिस्थितिको सामना गर्नुपर्छ भने सोच्नुहोस अरूको अवस्था के होला ? मैले यसबारे निरन्तर आवाज पनि उठाउँदै आएको छु, तर नियतिले पुनः एकपटक मलाई नै यो अवस्थामा ल्याएको छ ।
मलाई सहयोग गर्न नेपालमा रहनुहुनेले तल राखिएको QR वा बैँक मार्फत सहयोग गर्नुहोला ।
विदेशमा रहनुहुनेले यो लिंकमा गएर सहयोग गर्नुहोला :
https://givealittle.co.nz/…/support-sambas-surgery…
यो चोटले मलाई शारीरिक र मानसिक रूपमा थकाएको छ, तर मलाई विश्वास छ म फर्कने छु ।
थाकेको हो, हारेको छैन
पुन: एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कने छु ।
जय नेपाल !
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








