01/07/2026, 12:36:55
बुधबार, पुष २३, २०८२

म एमालेमै छु, अब बिनासर्त पार्टी काममा लाग्छु : वासुदेव घिमिरे


बुटवल, पुस २१ : सामाजिक सञ्जालमार्फत नेकपा एमाले परित्याग गरेको घोषणा गरेका एमाले लुम्बिनी प्रदेश सदस्य वासुदेव घिमिरेले आफू एमालेमै सक्रिय रहेको सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘आवेगको निर्णय सार्वजनिक गरे पनि आफू मन, वचन र कर्मदेखि नै एमालेमै रहेको’ प्रस्टीकरण दिएका हुन् ।

रूपन्देही क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधि सभाका पूर्व सदस्य तथा तिलोत्तमा नगरपालिकाका संस्थापक प्रमुख रहेका घिमिरेले एमाले छोडेको सन्देशले एमालेमै तरंग ल्याएको थियो । उनले गत मंगलबार स्टाटस लेखेर एमालेको जिम्मेवारी छोडेको सार्वजनिक गरेलगत्तै एमाले उपाध्यक्ष विष्णु पौडेल उनलाई पार्टी काममै फर्काउन सक्रिय भएका थिए । पौडेलसहितका नेतासँग बुटवलमै भएको लामो छलफल र निकटस्थ कार्यकर्ताको दबाबपछि घिमिरे पार्टी छोडेको निर्णय फिर्ता लिन बाध्य भएका हुन् ।

घिमिरेले सामाजिक सञ्जालमार्फत आइतबार स्पष्टीकरणसहितको ‘मेरो राजनीतिक निर्णय र कार्यकर्ताको भावनाः एउटा स्पष्टीकरण’ स्टाटस लेख्दै पार्टी काममै रहेको सार्वजनिक गरेका छन् । उनले आफूले पार्टीमा काम गर्नका लागि कुनै पदको बार्गेनिङ नगरेको पनि दाबी गरेका छन् । ‘पार्टीभित्रै रहेर युवा पुस्तामा नेतृत्व हस्तान्तरण, पार्टीलाई आधुनिक र ‘जेन–जी’ मैत्री बनाउने अभियान छोड्दिनँ,’ उनले भनेका छन्, ‘मलाई गाली गर्नेहरूलाई समयले उत्तर दिनेछ, म एमालेमा रहन्छु, मन, वचन, कर्मदेखि नै रहन्छु ।

एमाले छोडेको घोषणा गरेलगत्तै उनलाई कार्यकर्ता र शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत ‘अवसरवादी’को आरोप लगाएका थिए । आफूविरुद्ध सामाजिक सञ्जालमा चर्को आलोचना र अवसरवादीको ट्याग लागेपछि उनले त्यसबारे पनि आफ्नो राजनीतिक यात्राबारे स्मरण गर्दै ‘राजनीति केवल पदप्राप्तीको दौड मात्र नभएको र यो विचार मन्थन र आमजनताको भावनाको प्रतिनिधित्व गर्ने पवित्र माध्यम भएको’ पनि उल्लेख गरेका छन् ।

त्यसैले मैले युवा संघ हुँदै पार्टी काममा खटिँदा, नगर प्रमुखका रूपमा काम गर्दा र संघीय सांसदका रूपमा सदनमा आवाज उठाउँदा सधैं जनताको सेवा र पार्टीको सुदृढीकरणलाई मुख्य प्राथमिकतामा राखेको थिएँ,’ उनले लेखेका छन्, ‘पछिल्लो समय पार्टीभित्र देखिएका केही प्रवृत्तिले आफूलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको तर पद र अवसरको बार्गेनिङ कहिल्यै पनि प्राथमिकतामा रहेन र छैन ।

उनले आफूलाई कुनै पनि काममा विलम्ब भएको पटक्कै मन नपर्ने र परिवर्तन चाहने भएकाले अलि छिटो निर्णय लिने दाबी गरेका छन् । त्यही स्वभावका कारण पार्टीभित्रको उकुसमुकुस दबाएर राख्न नसकेपछि मनको बह पोख्दै स्टाटस लेखेरे पार्टीमा नरहेको जानकारी गराएको स्पष्टीकरण पनि दिएका छन् ।

पार्टी अलगको मेरो निर्णय कुनै बार्गेनिङ वा पद प्राप्तिका लागि छँदै थिएन,’ उनले लेखेका छन्, ‘त्यसैले अहिले बिना सर्त, बिना पद पार्टीमा काम गर्ने गरी निर्णय गरेर पार्टी काममा लागिसकेको छु ।’ नेकपा एमाले जस्तो विशाल र ऐतिहासिक पार्टी समयको पदचापसँगै बदलिएर अघि बढ्नुपर्ने उनको सुझाव छ ।

‘जेन–जी’ पुस्ताको आन्दोलन, उनीहरूको फरक सोच र प्रविधिमैत्री सपनालाई पार्टीले आत्मसात् गर्नुपर्ने पनि उनको सुझाव छ । ‘गत मंगलबार मैले पार्टीबाट अलग हुने जुन निर्णय लिएँ, त्यो मेरो व्यक्तिगत स्वार्थको उपज थिएन । त्यो त एउटा ‘आवेग’ थियो– ती बेथितिहरूविरुद्ध,’ उनले भनेका छन्, ‘तर निर्णय सार्वजनिक भएपछि साथीहरूले वासुदेव कमरेड, यो घर छोडेर समाधान निस्कँदैन । यो घरमा सँगै बसेर सपारौं भन्ने आग्रहले मलाई भावुक र गम्भीर बनायो ।

पार्टी उपाध्यक्ष विष्णु पौडेलसँगको छलफल र कार्यकर्ताको सुझावले आफूलाई गहिरो रूपमा छोएको पनि उनको दाबी छ । उनले अब निःसर्त पार्टीमै रहेर काम गर्ने र पार्टीले दिने जुनसुकै जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

– घनश्याम गौतम