01/07/2026, 00:41:24
मङ्गलबार, पुष २२, २०८२

शतायु खड्गबहादुरको दीर्घायु कथा : न चासो, न गुनासो


गलेश्वर (म्याग्दी), पुस २१ गते । शतायु नाघेका म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, बगरफाँटका खड्गबहादुर थापा शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनु हुन्छ । नियमित दिनचर्या, खानपान र धार्मिक आस्थालाई जीवनको आधार बनाउनु भएका उहाँको दीर्घायु यहाँका मानिसहरूका लागि प्रेरणा बनेको छ ।

विसं १९८३ मा जन्मिनुभएका थापाले नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनका थुप्रै कालखण्ड अनुभव गर्नु भएको छ । राणा शासन, प्रजातन्त्र, पञ्चायती व्यवस्था हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा देशमा आएका परिवर्तन उहाँले नजिकबाट देख्नु भएको हो ।

शतायु थापाको जीवन यात्रामा ८४ वर्षीया पत्नी खिरकुमारी थापाको साथ निरन्तर छ । पत्नी खिरकुमारीसँगै ७९ वर्षीया साली तुलकुमारी पनि उहाँसँगै हुनु हुन्छ । बिहान सबेरै उठ्ने, पूजा–पाठ गर्ने र सादा जीवन बिताउने उनीहरूको दिनचर्या दशकौँदेखि उस्तै छ ।

सय वर्ष पार गर्नुभएका थापा बिहानै उठ्नु हुन्छ । पुसको जाडोमा बाहिर निस्केर घाम ताप्ने, घरआँगन वरिपरि हिँड्डुल गर्ने र हरिभजन गाउँदै दिन बिताउने गर्नु हुन्छ । श्रीमती खिरकुमारीसँगै जीवनका सुख–दुःख, अभाव र सङ्घर्षसँगै भोगेका यी दम्पती समाजका लागि प्रेरणाका पात्र बनेका छन् । खड्गबहादुर भन्नु हुन्छ, “सरकारले भत्ता दिएको छ, आफ्नै छोरानाति नभए पनि दाइभाइका छोरानातिले खबर लिने, आवश्यक परेको बेला साथ सहयोग दिने गरेका छन् । अरू कुरामा कुनै चासो पनि छैन र कसैप्रति कुनै गुनासो पनि छैन ।

खड्गबहादुर थापाको जीवन धार्मिक संस्कार र आस्थासँग गहिरो रूपमा गाँसिएको छ । बिहान उठ्नेबित्तिकै ईश्वर स्मरण गर्ने, मन शुद्ध राख्ने र अरूको कुभलो नचिताउने बानी उहाँको रहेको स्थानीय बताउँछन् ।

हिन्दु धार्मिक मान्यता अनुसार दीर्घायु हुनु पूर्वजको आशीर्वाद, सत्कर्म र संयमित जीवनको प्रतिफल मानिन्छ । यही विश्वासमा हुर्किएको पुस्ताका प्रतिनिधि हुनु हुन्छ खड्गबहादुर थापा । उहाँ भन्नु हुन्छ, “धन, सम्पत्ति भन्दा पनि मन शान्त भयो भने रोग लाग्दैन ।

अभावबिच बितेको सङ्घर्षपूर्ण जीवन

थापाको जीवन सहज थिएन । बाल्यकाल र युवावस्थामा आजको जस्तो सुविधा थिएन । खेतबारीमा श्रम गर्नु, घाँस–दाउरा गर्नु, टाढाटाढाबाट पानी बोक्नु नै दैनिकी थियो । थापा भन्नुहुन्छ, “सकुन्जेलसम्म भारी बोक्ने, खेतबारीमा काम गर्ने गर्थे, शरीरलाई कहिल्यै पनि अल्छी हुन दिइनँ । शरीर बलियो थियो । दुःख त कति गरियो भनिसाध्य छैन ।

चिकित्सा विज्ञानका अनुसार प्राकृतिक र सन्तुलित आहारले मधुमेह, उच्च रक्तचाप र मुटुरोगको जोखिम कम गर्छ । थापाको जीवनशैलीले यही वैज्ञानिक तथ्य पुष्टि गरेको देखिन्छ ।

दाम्पत्य समझदारी र पारिवारिक साथ

चौरासी वर्षीया श्रीमती खिरकुमारी थापा जीवनभरको सहयात्री बनेर श्रीमानका साथमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले ठूला सपना देखेनौँ, मन मिलाएर जीवन बितायौँ ।

समाजशास्त्रीहरूका अनुसार सुदृढ पारिवारिक सम्बन्ध र भावनात्मक साथले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ, जसले दीर्घायुमा मद्दत गर्छ । थापा दम्पतिको जीवन यसैको उदाहरण हो । थापाले आफ्नो दीर्घायुको प्रमुख कारण धार्मिक आस्था र अनुशासनलाई मान्नु हुन्छ । उहाँ हरेक दिन बिहान स्नानपछि पूजा–पाठ गर्ने गर्नु हुन्छ । “मन शान्त भयो भने शरीर आफैँ ठीक हुन्छ,” उहाँले भन्नु भयो ।

चिकित्सकहरूका अनुसार शतायु पार गरेका धेरै व्यक्तिहरूमा समान जीवनशैली देखिन्छ । कम तनाव, नियमित हिँड्डुल, सन्तुलित आहार र सकारात्मक सोच दीर्घायुका मुख्य आधार मानिने चिकित्सकहरू बताउँछन् । ध्यान, प्रार्थना र सामाजिक सक्रियताले मस्तिष्कमा सकारात्मक प्रभाव पार्ने अनुसन्धानले देखाएको छ । “धार्मिक अभ्यास र ध्यानले तनाव कम गराउँछ, जसले दीर्घकालीन स्वास्थ्यमा सहयोग पुर्‍याउँछ,” नविक आनन्द योग केन्द्रका योगगुरु नवीन जुग्जालीले बताउनु भयो ।

युवावस्थामा खेतीपाती र मजदुरी गर्दै गुजारा चलाउनुभएका थापाले गरिबी र अभावका दिन पनि देख्नु भयो । “खान नपाएको दिन आयो, तर गलत बाटो कहिल्यै समातिनँ,” उहाँले भन्नुभयो, “दुःखलाई स्वाभाविक रूपमा स्वीकार गर्न सक्ने मानिस मानसिक रूपमा बलियो हुन्छ । धेरै चिन्ता गर्ने मान्छे छिट्टै थाक्छ ।

नयाँ पुस्तालाई सन्देश

शतायु थापाले नयाँ पुस्तालाई अनुशासित र संयमित जीवनशैली अपनाउन सुझाव दिनु भएको छ । “छिटो सबै चाहने बानीले शरीर र मन दुबै बिगार्छ,” उहाँले भन्नु भयो । मदिरा, धूम्रपान र असन्तुलित खानपानबाट टाढा रहन सके दीर्घायु सम्भव हुने उहाँको धारणा छ । आधुनिक जीवनशैली, असन्तुलित खानपान, मानसिक तनाव र रोगको चपेटाका कारण मानिस अल्पायुमै थला पर्दै क्रम बढ्दै गएको अवस्थामा शतायु वृद्ध थापा नयाँ पुस्तालाई अनुशासित र संयमित जीवनशैली अपनाउन सुझाव दिनु भएको छ ।

स्थानीय बासिन्दाले खड्गबहादुर थापालाई ‘जीवित इतिहास’ का रूपमा सम्मान गर्छन् । स्थानीय समाजसेवी नारायण कार्की भन्नुहुन्छ, “इतिहास किताबमा मात्र होइन, यस्ता व्यक्तिमा पनि सुरक्षित हुन्छ ।

शतायु पार गरेका खड्गबहादुर थापाको जीवनले दीर्घायु केवल औषधी वा सुविधाले होइन, जीवनशैली, अनुशासन र मानसिक सन्तुलनले सम्भव हुन्छ भन्ने सन्देश दिएको छ । आधुनिक जीवनशैलीका कारण बढ्दो तनाव र रोगबिच उहाँको जीवन समाजका लागि प्रेरणाको स्रोत बनेको छ ।

– ध्रुवसागर शर्मा