01/08/2026, 04:06:47
बुधबार, पुष २३, २०८२

‘बिमा कार्यक्रम जोगाउन सरकारले एउटा नीति लिनुपर्छ’


काठमाडौँ, पुस २२ गते । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले सरकारले बिमा कार्यक्रम जोगाउन एउटा नीति लिनुपर्नेमा जोड दिनुभएको छ ।

मङ्गलबार बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक डा. काफ्ले बिमा कार्यक्रममा खर्च र आम्दानीको बिचमा ठूलो खाडल भएको भन्दै सरकारले एउटा नीति लिनुपर्ने बताउनु भएको हो ।

सरकारले बिमितको प्रिमियम बढाउनुपर्छ, या बिमाको सेवा घटाउनुपर्छ, होइन भने सरकारले दिने योगदान बढाउन पर्ने मध्ये एउटा नीति लिनुपर्ने स्पष्ट पार्नुभएको हो ।

उहाँ भन्नुहुन्छ, “बिमा कार्यक्रममा खर्च र आम्दानीको बिचमा ठूलो खाडल छ। यो समस्या बोर्डले मात्रै समाधान गर्न सक्दैन। बिमा कार्यक्रमलाई दिगो बनाउने हो भने कि त प्रिमियम बढाउनुपर्छ, या सेवा घटाउनुपर्छ, होइन भने राज्यले दिने अनुदान बढाउनुपर्छ ।

त्यसका अलावा उहाँले कानुनमा भएअनुसार निजामती कर्मचारी लगायतका राष्ट्र सेवकलाई स्वास्थ्य बिमामा अनिवार्य गर्न आग्रह गर्नुभएको छ ।कार्यक्रम प्रभावकारी कार्यान्वयनमा मानव संशाधनको अभाव, सङ्गठन संरचना नहुनु, स्वास्थ्य बिमा ऐनअनुसार अनिवार्य बीमा लागू गर्न नसक्ने रहेको बताउनुभयो ।

अस्पतालले समयमा नै भुक्तानी नपाउँदा अस्पतालाई सेवा दिन गाह्रो भएको स्पष्ट पार्नुभयो । उहाँका अनुसार बोर्डका अनुसार २०८२ कात्तिक मसान्तसम्मको रुजु सम्पन्न भएको छ ।

२०८१ चैत मसान्त सम्मको सम्पूर्ण स्वास्थ्य संस्थाको भुक्तानी सम्पन्न र २०८२ असोज समान्तसम्मको सबै स्वास्थ्य संस्थालाई ४६ प्रतिशत भुक्तानी भएको छ । बाँकी दाबी रकम अभावका कारण रोकिएको काफ्लेको दाबी छ ।

बोर्डका सूचना अधिकारी विकेश मल्लले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०८२ मङ्सिरसम्म कुल जनसंख्याको करिब ३५ प्रतिशत अर्थात् एक करोड दुई लाख २० हजार आठ नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध छन् ।  त्यसमध्ये ६८ लाख ४५ हजार ९३५ जना सक्रिय बिमित छन्। परिवारको आवद्धता ४५ प्रतिशत पुगेको छ भने सेवा उपभोग दर ७२ प्रतिशत रहेको छ। नवीकरण दर ७९‍.७ प्रतिशत रहेको बोर्डको तथ्याङ्कको उल्लेख छ ।

हाल देशभर २७० वटा स्वास्थ्य संस्था सेवा प्रदायकका रूपमा आबद्ध छन्। लक्षित वर्गमा अति गरिब चार लाख ७७ हजार १५४ जना, ज्येष्ठ नागरिक १२ लाख २२ हजार ४७९ जना, एचआईभी सङ्क्रमित ४३ हजार २३६ जना, अति अशक्त अपाङ्ग एक लाख ९१ हजार ३९१ जना तथा कुष्ठरोग सङ्क्रमित चार हजार ६९६ जना बीमा कार्यक्रममा आवद्ध छन्।

त्यसैगरी, एमडीआर/एक्सडीआर टीबी चार हजार ८१ जना र महिला स्वास्थ्य स्वयंसेविका बिमित एक लाख ८० हजार ५७२ जना बिमित छन्।