01/08/2026, 04:07:18
बुधबार, पुष २३, २०८२

सहिद दशरथ चन्द विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त


धनगढी, पुस २२ : धनगढी गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभाले मंगलबार उपकुलपति र रजिस्ट्रार नियुक्त गरेको छ ।

सहकुलपति तथा शिक्षामन्त्री महाविर पुनको अध्यक्षतामा बसेको सभा बैठकले उपकुलपतिमा प्राध्यापक डाक्टर सुनिलकुमार जोशी  र रजिष्ट्रारमा खेमराज जोशीलाई नियुक्त गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।

उपकुलपतिका लागि २ जना र रजिष्ट्रारका लागि १० जनाको आवेदन परेको थियो । नियुक्तिका लागि सिफारिस समितिले उपकुलपतिमा सुनिलकुमार जोशीको नाम एकल सिफारिस गरेको थियो भने रजिष्ट्रारमा ३ जनाको नाम सिफारिस भएका थिए । उपकुलपतिका लागि तेस्रो पटक दरखास्त माग गरेपछि मात्र आवेदन परेको थियो । ती मध्ये पनि १ जनाको दरखास्त योग्यता नपुगेको भन्दै समितिले रद्ध गरेको थियो ।

गत असारमा विश्वविद्यालयको ऐन संसद्बाट पारित भएपछि सरकारले उपकुलपति र रजिस्ट्रार नियुक्तिको प्रक्रिया अघि बढाएको थियो । सुदूरपश्चिम प्रदेशमा चिकित्सा शिक्षाको पठनपाठन थाल्न विश्वविद्यालय स्थापना र सञ्चालनको तयारी भइरहेको छ ।

पहिलो उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति जयराज अवस्थीको संयोजकत्वमा ३ सदस्यीय छनोट तथा सिफारिस समिति गठन गरिएको थियो ।