घोडाघोडी (कैलाली), पुस १५ गते । कैलालीमा चालु आर्थिक वर्षमा १२२ जनाले झुन्डिएर आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गत साउन महिनादेखि हालसम्म आत्महत्या गर्ने १३६ जनामध्ये झुन्डिएर आत्महत्या गर्नेको सङ्ख्या १२२ रहेका छन् । बाँकी १४ जना विष सेवन गरी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार सिंह अनुसार चालु आ.वमा सबभन्दा बढी आत्महत्या कैलालीमा गरेको देखिन्छ । आवको हालसम्म तथ्याङ्क हेर्दा जिल्ला प्रहरी कार्यालय कैलालीमा ४३ जनाले आत्महत्या गरेको देखिन्छ ।
उहाँका अनुसार इलाका प्रहरी कार्यालय मालाखेतीमा २८, भजनीमा २३, सुखडमा २०, टीकापुरमा ११ र लम्कीमा ११ जना आत्महत्या गर्नेको तथ्याङ्क रहेका छन् । आत्महत्या गर्नेमा ६२ जना पुरुष, ४१ महिला, नौ बालक, १४ बालिका रहेका छन् । आव २०८१/८२ मा आत्महत्या गर्नेको सङ्ख्या २३५ रहेका छन् । जसमा झुन्डिएर आत्महत्या गर्ने २०४, विष सेवन २८ र हामफाली आत्महत्या गर्ने तीन जना रहेको सूचना अधिकारी सिंहले जानकारी दिनुभयो । गत वर्ष आत्महत्या गर्ने पुरुषको सङ्ख्या ११३, महिला ७७, बालक १२ र बालिका ३१ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख नरेन्द्र चन्दले आत्महत्या गर्नुको मुख्य कारण डिप्रेसन, मोबाइल र सामाजिक सञ्जाल, बेरोजगार, घरझगडा रहेको बताउनुभयो । समाजमा बढ्दै गइरहेको आत्महत्या रोक्नका लागि समग्र राज्यप्रणाली नै लाग्नुपर्ने उल्लेख गर्दै प्रमुख चन्दले भन्नुभयो, “प्रहरीका विभिन्न एकाइमार्फत गाउँ, टोल, वडा, नगर स्तरमा समिति बनाएर सचेतनाका कार्यक्रम प्रहरीले गरेका छन् । यत्तिले मात्र पुग्दैन सबै तह, तप्का र सरोकारवाला सङ्घ संस्थाले समन्वय गरेर लाग्नु पर्छ ।” बालबालिकाले मोबाइल नपाएका कारणले पनि आत्महत्या गर्ने गरेको पाइएकाले घरपरिवारबाट बालबालिकालाई माया, समय दिनुका साथै मनो-परामर्शको आवश्यकता रहेको जनाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















