डडेल्धुरा, पुस १५ गते । आज पुस १५ गते, सुदूरपश्चिममा ठूलीरात अर्थात् पुसे पन्ध्रका रुपमा मनाइँदैछ । डडेल्धुरा लगायतका केही जिल्लामा मङ्गलबार उत्तरायणका रुपमा पनि मनाइन्छ । आजका दिन तरुल लगायत कन्धमुल र फर्सी पकाएर खाने चलन रहि आएको भए पछि पछिल्ला वर्षहरुमा युवाहरुले यस प्रति चासो दिएको नदेखिने पण्डित लोकराज भट्टले बताउनुभयो ।
उहाँका अनुसार आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राति मीठा मीठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, डेउडा खेल्ने र भोली बिहान उज्यालो नहुँदै नुहाईधुवाई गर्ने चलन रहेको छ ।
‘‘रातभरी कथा, कहानी (स्थानीय भाषामा आइना, बात) सुन्ने र सुनाउनेसंगै तरुल सखरगखण्ड पकाएर खाने गरिन्छ,’’ पण्डित लोकराज भट्टले भन्नुभयो, ‘‘पन्नरी रातका रुपमा समेत मनाइने यो पर्वमा आज १५ किसिमका परिकारहरु खाने गरिन्छ ।’’

तेल वा घिउमा तारेर पकाइएका खानेकुरा अथवा घिउ हालेको भात खाने गरिन्छ । तिहारमा भैली खेलेर जम्मा भएको रकमबाट आजै कुन्क्यौलो (वनभोज) खाने गरिन्छ । पुस १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीर समेत फुर्तिलो हुन भएकाले चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको समेत पण्डित भट्टले बताउनुभयो ।
एक दिन भए पनि आज घरबाहिर पकाएर खानुपर्ने मान्यताका कारण परिवारका सबै सदस्य ‘कुन्क्यौलो’ (वनभोज) जाने र मीठामीठा खानेकुरा खाने चलन रहिआएको छ । डिसेम्बर २२ तारिखलाई विश्वभरी नै सबैभन्दा छोटो दिन भनिए पनि नेपाली समाजमा भने पुस १५ लाई छोटो दिन मान्ने गरिन्छ ।
आजदेखि दिनहरु विस्तारै लम्बिँदै जाने र असार १५ मा वर्षकै ठूलो दिन मानिन्छ । भारतमा पुस १५ लाई लोहरी पर्वका रुपमा मनाइने गरिन्छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















