12/17/2025, 01:47:47
मङ्गलबार, पुष ०१, २०८२

दाेधारा चाँदनीमा बाढीजन्य विपद्को उच्च जोखिम, बजेट न्यून


१ पुस, कञ्चनपुर : भदौ पहिलो साता बाढीले जोगबुडा नदी किनारका बडुवालटोल, पटेराखल्ला, सुन्दरनगर, कञ्चनभोज, कुतियाकभर लगायतका आधा दर्जन बढी बस्ती डुबानमा परे । डुबानका कारण ४० भन्दा बढी परिवार विस्थापित भए । सुन्दरनगरस्थित सशस्त्र प्रहरीको बिओपी समेत डुबानका कारण विस्थापित भयो ।

विस्थापितलाई तत्काल विद्यालयमा राखियो । तर उनीहरुलाई खाना खुवाउनेदेखि ओढ्ने, ओछ्याउन सहयोग गैरसरकारी संघसंस्थाकै भर पर्नुपर्‍यो । नदीमा बाढी कम भएपछि स्थानीय आफ्नो घरभित्रको लेदो र पानी पन्छाएर फेरि घरमै बस्न थाले ।

गत वर्ष नेपालमा वर्षामापन सुरु भएयताकै भीषण वर्षापछि आएको बाढीले जोगबुडा नदी किनारका दर्जन बढी बस्ती डुबानमा परेका थिए । त्यतिबेला पनि डुबानमा परेकाहरुलाई उद्धार गर्नेदेखि विस्थापित भएकालाई बसोबास र खानाको व्यवस्थापना तथा पुर्नस्थापना लगायतमा स्थानीय तह गैरसरकारी संस्थाकै भर पर्न बाध्य भए ।

महाकाली नदीपारिको दोधारा चाँदनी नगरपालिका क्षेत्र जोगबुडा र महाकालीका कारण वर्षेनी डुबान र कटानको उच्च जोखिममा रहेको छ । अझ जोगबुडा नदी किनार दुवैतर्फका बस्तीहरु वर्षेनी डुबानमा परेर स्थानीय विस्थापित हुने गरेका छन् ।

बाढीजन्य विपद्का हिसाबले दोधारा चाँदनी नगरपालिका जहिल्यै उच्च जोखिममा रहने गरेको छ । तर स्थानीय तहले छुट्याउने बजेट भने त्यस अनुसारको देखिएको छैन । नगरपालिकाले सडक र भौतिक पूर्वाधारमै बढी जोड दिएको पाइन्छ । नदी किनारमा बसोबास गर्ने बस्तीमा सचेतना फैलाउनेदेखि सुरक्षित स्थानमा सार्ने तथा उच्च जोखिम भएको क्षेत्रमा तटबन्ध निर्माणदेखि रोकथामका लागि निकै कम बजेट विनियोजन गरेको देखिन्छ ।

चालु आर्थिक वर्ष ०८२/०८३ मा नगरपालिकाले विपद् व्यवस्थापनका लागि ११ लाख मात्रै बजेट विनियोजन गरेको छ । वडा कार्यालयहरुबाट पनि विपद् व्यवस्थापनका लागि भनेर ५० हजारदेखि १ लाखसम्म मात्रै बजेट छुट्याएको देखिन्छ । नगर कार्यपालिकाले ल्याएको पछिल्ला तीन आर्थिक वर्षको बजेटमा विपद् व्यवस्थापनदेखि रोकथामका लागि तटबन्ध निर्माणमा कनिका छरेजस्तै गरी बजेट छुट्याइएको देखिन्छ ।

जोगबुडा र महाकाली नदी किनारमा तटबन्ध निर्माणदेखि विपद्का बेला उद्धार र राहात लगायतका लागि पर्याप्त मात्रामा बजेट विनियोजन नहुँदा नगरपालिकाले गैरसरकारी संघसंस्थाहरुलाई गुहार्नुपर्ने भइरहेको छ । ‘बाढीले वर्षेनी विस्थापित हुनुपरेको छ, तर विस्थापित भएका बेला राम्ररी खाना खान पनि पाउदैनौं,’  दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरका प्रेम रोकायाले भने, ‘न रोकथामको काम हुन्छ, न विस्थापित भएकालाई उचित व्यवस्थापन नै ।

यस वर्ष बाढीले जोगबुडापारिको सुन्दरनगर निकै प्रभावित भयो । उनीहरुले राहातका थैला बोकेर वडादेखि नगरपालिका र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई समेत भेटे । ‘हामीलाई राहात होइन, पक्की तटबन्ध बनाइदेउ,’ भन्दै उनीहरु वडा र नगरपालिकामा धर्ना समेत बसे । भदौ तेस्रो साता लेखक बाढी प्रभावित क्षेत्रको अनुगमनमा पुग्दा उनीहरु चाँदनी बजारमा राहातका थैला बोकेर धर्नामा बसेका थिए । उनीहरुसँगको भेटमा लेखकले तटबन्ध निर्माणका लागि आवश्यक पहल गर्ने आश्वासन पनि दिए ।

दोधारा चाँदनीवासीले यस्तो माग राख्ने र आश्वासन पाउन थालेको वर्षौं भइसकेको छ । हरेक निर्वाचनमा महाकाली र जोगबुडा नदीमा पक्की तटबन्ध निर्माण प्रमुख चुनावी एजेण्डा बन्ने गरेको छ । तर चुनाव जितेपछि यो एजेण्डा सेलाउँदै जान्छ । कहीँकतै फाटफुट रुपमा तटबन्ध निर्माण गरिन्छ । तर गुरुयोजना बनाएर महाकाली र जोगबुडाको कटानदेखि बाढी बस्तीमा पस्नबाट रोक्ने गरी दीगो रुपमा काम गर्न कार्यक्रम तथा बजेट आउँदैन ।

नगरपालिकाकै बजेटले यत्रो नदी नियन्त्रण गर्न सकिने सम्भावना छैन, संघीय सरकारबाट थोरै बजेट मात्रै आउँछ,’ महाकाली र जोगबुडा नदीको बाढीबाट सबैभन्दा बढी प्रभावित हुने दोधारा चाँदनी नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले भने, ‘हाम्रो बजेटले विपद्का बेला स–सानो राहात वितरण र सामुदायिक विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउन मात्रै सकिन्छ ।’  विपद् व्यवस्थापन समितिका लागि आवश्यक सामग्री खरिद गर्न समेत समस्या हुने गरेको छ ।

दोधारा चाँदनी नगरपालिका–१० कुतियाकभर, शान्ति टोल, बैदी फाँटा र अछामी टोललगायत आधा दर्जन बस्ती बाढीको उच्च जोखिममा रहेका छन् । महाकालीको बाढीले जोगबुडाको बहाव रोकिएर बस्तीमा पस्ने भएकाले वर्षेनी डुबानको समस्या हुने गरेको हो । नेपाली सेना र विभिन्न गैरसरकारी संस्थाको सहयोगमा कुतियाकभरमा दुई वटा सेफहाउस निर्माण गरिएका छन् । अहिले उक्त क्षेत्रका वासिन्दा बाढी आउँदा तिनै सेफ हाउसमा बस्ने गरेका छन् । जोगबुडावारि शान्ति टोलमा पनि सेफ हाउस निर्माण भइरहेको वडाध्यक्ष सिंह बताउँछन् ।

महाकाली नदीमा अन्तरराष्ट्रिय गैरसरकारी संस्था जाईकाले चार दशकअघि बनाएको तटबन्ध जीर्ण भइसकेको छ । नेपाल–भारत सीमा बयलबन्ददेखि कुतियाकभरसम्म २२ किलोमिटर क्षेत्रमा ठाउँ ठाउँमा तटबन्ध जीर्ण भएकाले जतिबेला पनि भत्किन सक्ने जोखिम छ । केही ठाउँमा मर्मतको काम भएपनि त्यसकै भरमा नहुने स्थानीय बताउँछन् ।

कार्यपालिकाले विपद् व्यवस्थापनका लागि बजेट कम विनियोजन गरे पनि यसका लागि छुट्टै कोष बनाइएको छ, त्यसैबाट खर्च गरिन्छ,’ दोधारा चाँदनी नगर कार्यपालिकाका प्रवक्ता हरिसिंह धनाडीले भने, ‘आवश्यकता अनुसार त्यसै कोषबाट खर्च गरिन्छ ।’ उनले वडाहरुमा पनि विपद् व्यवस्थापनका लागि बजेट विनियोजन गरिँदै आएको बताए ।

अहिले प्रदेश सरकारको लगानीमा दोधारा चाँदनी नगरपालिका–१० कुतियाकभरमा ५ करोड लगानीमा तटबन्ध निर्माण भइरहेको प्रवक्ता धनाडीले बताए । कुतियाकभरमा ७ सय मिटर तटबन्ध निर्माण गरिने छ । यसको ठेक्का प्रक्रियादेखि निर्माण कार्यको रेखदेख सबै प्रदेश सरकारकै निकायबाट हुनेछ । उनले सुन्दरनगर क्षेत्रमा जोगबुडा नदी किनारमा भत्केको ठाउँमा अहिले नगरपालिकाले सधानहरु प्रयोग गरेर तटबन्ध मर्मत भइरहेको बताए ।

तटबन्ध निर्माणका लागि प्रदेश र संघकै भर पर्नुपर्छ, हामीसँग धेरै बजेट हुँदैन, स–सानो रकमबाट विपद् व्यवस्थापनको काम गरिरहेका छौं’, धनाडीले भने, ‘यो पनि पर्याप्त हुँदैन ।’  हरेक बर्खामा जोगबुडा नदी किनारका डेढ/दुई सय परिवार विस्थापित हुने गरेका छन् । वडा ३ को पटेराखल्ला, ८ को सुन्दरनगर र १० को कुतियाकभरलगायतका बस्तीहरु हरेक वर्ष डुबानमा पर्दछन् ।

जलवायुजन्य विपद् न्यूनीकरणका लागि स्थानीय अनुकुलन कार्ययोजना (लापा) देखि विभिन्न नीतिहरु बनेका छन् । तर ती नीति अनुसार बजेट विनियोजन नहुने भएकाले बाढीजन्य विपद न्यूनीकरणमा समस्या देखिएको सुदूरपश्चिम विश्वविद्यालयका वातावरण विज्ञानका उपप्राध्यापक तर्कराज जोशी बताउँछन् ।

विपद् न्यूनीकरणका लागि वजेट तल्लो स्तरबाटै छुट्याउने व्यवस्था छ, तर त्यो कार्यान्वयन भएको छैन,’ उनले भने, ‘विपद्का लागि आउने बजेट निर्माणका काममा पनि थोरै मात्रै खर्च भएको देखिन्छ । पूर्वसूचना प्रणालीको विकासदेखि समुदायमास्तरमा सचेतना फैलाउन पनि खर्च गर्नुपर्ने देखिन्छ ।’ उनले अधिकांश स्थानीय तहमा विपद् र वातावरण शाखा नै नरहेको र भएका ठाउँमा पनि जनशक्ति नभएकाले समेत समस्या देखिएको बताए ।

२०७८ को जनगणना अनुसार दोधारा चाँदनी नगरपालिकामा ८ हजार ८९१ घरमा ९ हजार ६५७ परिवार रहेका छन् । जसमा १९ हजार २५४ पुरुष र २४ हजार २३२ महिला गरी ४३ हजार ४ सय ८६ जनसंख्या रहेको छ । अधिकांश बस्तीहरु नदी किनारमै छन् । नदी किनारका बस्ती सामान्य वर्षामा समेत डुबानमा पर्दै आएका हुन् ।

– भवानी भट्ट