12/29/2025, 21:18:28
सोमबार, पुष १४, २०८२

गृहसचिव राजकुमार श्रेष्ठद्वारा पदभार ग्रहण


काठमाडौँ, पुस १४ गते । गृह मन्त्रालयमा सरुवा भएर आउनुभएका गृहसचिव राजकुमार श्रेष्ठले सोमबार पदभार ग्रहण गर्नुभयो। गृहमन्त्री ओमप्रकाश अर्यालले सरुवा भई आउनु भएका गृह सचिव श्रेष्ठलाई स्वागत गर्नुका साथै नयाँ जिम्मेवारीमा सरुवा भई जानुभएका सचिव रामेश्वर दंगाललाई मन्त्रालयमा बसेर आजसम्म गर्नुभएको कार्यप्रति धन्यवाद दिंदै बिदाइ गर्नुभएको थियो।

यस्तै, गृह सचिवको नयाँ जिम्मेवारी सम्हाल्नु भएका सचिव श्रेष्ठलाई मन्त्री अर्यालले सफल कार्यकालको शुभकामना दिनुभयो। यसअघि, गृह मन्त्रालयमा आयोजित स्वागत तथा बिदाइ कार्यक्रममा बोल्नुहुँदै गृहसचिव श्रेष्ठले सरकारले दिएको कार्यभार आफूले सबै कर्मचारी साथीहरुको सहयोगबाट सक्दो कुशलतापूर्वक निर्वाह गर्ने बताउनुभयो।

आगजनी र खरानीबाट उठेको यस मन्त्रालयलाई अहिले सामान्य अवस्थामा ल्याउन सरुवा भएर जानुभएका गृह सचिव रामेश्वर दंगालसमक्ष आभार प्रकट गर्नुभयो। मन्त्रिपरिषदको पुष ११ गते बसेको बैठकले सचिव दंगालको लोकसेवा आयोगमा र सचिव श्रेष्ठको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृहमा सरुवा गर्ने निर्णय गरेको थियो।

कार्यक्रममा सचिव श्रेष्ठले अहिलेको बदलिँदो परिस्थिति र नागरिकको जनभावना अनुरुप सेवा प्रदान गर्न सबै कर्मचारीहरूलाई निर्देशन दिनुभयो। बिदाई कार्यक्रममा मन्त्रालयका सहसचिवहरू तथा विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो।