काठमाडौँ, पुस १४ : तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको घटनाको नैतिक जिम्मेवारी लिए पनि २४ गतेको घटना भने नियोजित भएको बताएका छन् । सोमबार भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिँदै उनले २३ गतेको घटनाको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको बताएका हुन् ।
‘गृह मन्त्रालयको राजनीतिक नेतृत्वमा रहेको नाताले त्यस दुःखद् घटनाबाट म अत्यन्त मर्माहत भएँ । ठूलो पीडाबोध भएकाले देशको गृहमन्त्रीको पदमा रहेको व्यक्तिले पदीय नैतिक जिम्मेवारी बोक्नु पर्दछ भन्ने दृढ संकल्पका साथ नैतिकताका आधारमा तत्काल घटनाको नैतिक जिम्मेवारी लिइ राजीनामा गरेको हुँ । म अहिले पनि भन्छु – भाद्र २३ को घटना हुँदा म देशको गृहमन्त्री थिएँ, मैले गृहमन्त्रीका हैसियतले काम गर्दा सदैव नेपालको संविधान, प्रचलित अन्य कानून, गृह मन्त्रालयको जिम्मेवारीसँग सम्बन्धित सरकारका नीतिभित्र रहेर असल मनशायका साथ काम गरेको छु र यी सबै विषयका साथै मेरो व्यक्तिगत र पदीय नैतिक जिम्मेवारीलाई कहिल्यै बिर्सिएको छैन,’ लेखकले बयानमा भनेका छन् ।

तर आफ्नो राजीनामापछि भदौ २४ गते भएका हिंसात्मक घटना राष्ट्रिय अस्तित्व,स्वाभिमान र लोकतन्त्रविरुद्ध भएको र कुनै पनि देशभक्त नेपालीले कल्पना गर्नै नसक्ने कुरा भएको उनको भनाइ छ ।
‘राष्ट्रका प्रमुख निकायहरु सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति भवनसहित राज्यका तीनै प्रमुख अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका जलाएर खरानी बनाउने दुस्साहस कुनै नेपाली मनले गर्न सक्छ भन्ने म कल्पना गर्न सक्तिनँ । लोकतन्त्रमा शक्ति सन्तुलन र पृथकीकरणको सिद्धान्तका प्रतिनिधि संस्थामाथिको आक्रमण जेन–जी पुस्ताको सोच र योजना भन्दा बिल्कुल बाहिरको विषय हो भन्ने म ठान्दछु । यो नियोजित षडयन्त्र नै थियो । यो राष्ट्र र लोकतन्त्रमाथिको नियोजित आक्रमण हो भन्ने मेरो ठम्याइ छ,’ बयानमा उनले अगाडि भनेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













