12/29/2025, 17:28:35
सोमबार, पुष १४, २०८२

‘कसले कसरी घुसपैठ गर्‍यो सूक्ष्म अनुसन्धान हुनुपर्छ’


काठमाडौँ, पुस १४ : तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २४ गतेका घटनालाई युवाको मागभन्दा पृथक् ढंगले हेर्नुपर्ने बताएका छन् ।

भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ आयोगमा बयान दिँदै लेखकले आपराधिक कार्यमा संलग्न जो सुकैलाई कारबाही गर्नुपर्ने बताए । ‘आयोगले प्रदर्शनमा कसले कसरी घुसपैठ गर्‍यो भन्ने विषयलाइ पनि अत्यन्त सूक्ष्म ढंगले अनुसन्धान गर्न आवश्यक छ । आयोगले वर्तमान र भविष्य दुवैका लागि यस विषयमा गम्भीरतापूर्वक हेर्नेछ भन्ने मेरो विश्वास छ,’  लेखकले भने ।

उनले मन्त्रीको जिम्मेवारी मूलतः आफ्नो मन्त्रालयसँग सम्बन्धित नीतिगत र कानुन निर्माणको नेतृत्व गर्ने तथा निर्देशन दिने रहेको उनको भनाइ छ ।

भदौ २३ र २४ मा भएको मानवीय एवं भौतिक विनाश तत्कालीन घटनाबाट उत्पन्न रिस र आवेगको उपज मात्र थियो भन्ने आधार नरहेको उनले बताएका छन् । ‘भविष्यमा यसका सत्य, तथ्य खुल्दै जालान् । पूर्वतयारीका साथ सुनियोजित रुपले गरिएका आक्रमण, तोडफोड र आगजनीका घटना क्षणिक आक्रोश र आवेगमा हुनै सक्दैनन् । राज्यका अमूल्य तथा महत्वपूर्ण अभिलेख समाप्त गरेर र राष्ट्रिय संरचनाहरुलाई भग्नावशेष बनाएर भविष्यमा पनि कुनै शासन व्यवस्था अघि बढ्न सक्ने कुरा होइन । त्यसकारण ती आक्रमण सुनियोजित र योजनाबद्ध थिएनन्, होइनन् भनेर मेरो मनले स्वीकार गर्न सकिरहेको छैन,’  लेखकले भनेका छन् ।

भदौ २३ मा जेन-जीले राखेका माग ठिक भए पनि घुसपैठ भएर जसरी जे-जस्ता दुःखद् घटना भए र राज्यका ऐतिहासिक तथा अमूल्य संरचनामाथि जसरी आक्रमण भए, त्यो तत्कालीन आवेगको उपज थियो भन्नु ती पवित्र मनोभाव भएका युवाप्रति अन्याय हुने लेखकले बताए ।