12/29/2025, 22:44:38
सोमबार, पुष १४, २०८२

सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बन्यो नेपाली कम्युनिस्ट पार्टी


धनगढी, पुस १४ : सुदूरपश्चिम प्रदेशसभामा नेकपा सबैभन्दा ठूलो दल भएको छ । साविकको नेकपा माओवादी, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबीच एकतापछि नेपाली कम्युनिस्ट पार्टी ठूलो दल बनेको हो ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा यसअघि १८ सांसद रहेको नेपाली कांग्रेस सबैभन्दा ठूलो दल थियो । सभामुखबाहेक १० सांसद रहेको नेकपा माओवादी र चार सांसद रहेको एकीकृत समाजवादीबीच यसअघि नै एकता भएपछि १३ सांसद (एक जना निलम्बन) सहित दोस्रो ठूलो दल बनेको थियो । सोमबार सात सांसद रहेको नागरिक उन्मुक्ति पनि नेकपामै समाहित भएपछि अब सो पार्टीका २० सांसद भएका छन् ।

सुदूरपश्चिममा हाल एमालेको साझेदारीमा कांग्रेस नेतृत्वको सरकार छ । एमालेका ११ सांसद छन् । प्रदेश सभामा एक जना राप्रपा र एक जना स्वतन्त्र सांसद (हाल उज्यालो नेपाल पार्टी) का सांसद छन् ।

– अर्जुन शाह