12/19/2025, 15:27:06
शुक्रबार, पुष ०४, २०८२

सुदूरपश्चिमबाट एक वर्षमै ५० हजार युवा विदेशिए


बैतडी, पुस ४ गते । सुदूरपश्चिम प्रदेशबाट गएको १४ महिनामा ५० हजार युवा वैदेशिक रोजगारीमा गएका छन् ।

श्रम स्वीकृति लिएर आव २०८१/०८२ मा ३८ हजार २५४ र चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि कात्तिकसम्म १२ हजार ७७७ जना गरि ५१ हजार ३१ जना विदेशिएका छन् । यी मध्ये चार हजार ३४४ जना महिलासमेत रहेका छन् । विदेश जानेमा बैतडी, कैलाली, कञ्चनपुर र अछामका धेरै छन् । एक वर्षमा बैतडीका पाँच जना युवाको विदेशमा मृत्युसमेत भएको छ ।

वैदेशिक रोजगार विभागको आव २०८१/०८२ मा मात्रै बैतडीबाट पाँच हजार २५१ जना, अछामबाट सात हजार २५, कैलालीबाट सात हजार ६४६, कञ्चनपुरबाट छ हजार ६५८, बझाङबाट तीन हजार ७७ जना, बाजुराबाट दुई हजार ५७८, दुई हजार ४६३, दार्चुलाबाट दुई हजार ४६८ र डोटीबाट सबैभन्दा कम एक हजार १२१ जना एक वर्षमा ३८ हजार २५४ जना विदेशिएका छन् ।

बिहीबार दशरथचन्द नगरपालिकाले अन्तर्राष्ट्रिय आप्रवाशन दिवस २०२५ को आयोजना गरेको छ । सो कार्यक्रमा नगरपालिकाका ११ वटै वडामा सचिवह सहभागी हुनुहुन्थ्यो । उक्त कार्यक्रममा नेपालबाट श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या ८९ लाख ६५ हजार ३८२ पुगेको तथ्याङ्क सरोकारवालालाई जानकारी गराएको छ ।

कार्यक्रममा दशरथचन्द नगरपालिकाका उपप्रुमख कौशीला चन्दले युवाहरु बिना सिप वैदेशिक रोजगारीमा जाँदा सोचेको जस्तो आम्दानी गर्न नसकेकाले सीप सिकेर मात्रै विदेश जान वडा स्तरमै सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।

गत वर्षदेखि दशरथचन्द नगरपालिकाबाट श्रम स्वीकृति प्रदान गर्ने सेवा सुरु गरेपछि सचेतना बढे पनि वैदेशिक रोजगारीका नाममा ठगी नरोकिएको रोजगार शाखा संयोज नन्दजा जोशीले बताउनुभयो । जिल्ला प्रशान कार्यालय बैतडी तथ्याङ्क अनुसार जिल्ला सञ्चालित अप्रवासी श्रोत केन्द्रबाट चालु आवको साउनदेखि कात्तिकसम्म ५०४ जनाले सुरक्षित वैदेशिक रोजगारीका बारेमा परामर्श सेवा पाए पनि सात वटा ठगीका मुद्दा दर्ता भएका छन् ।

अवसरसँगै सामाजिक चुनौती थपिँदै

वैदेशिक रोजगारीले नेपालका ७८ प्रतिशत घरधुरीले विप्रेषण प्राप्त गर्दा शिक्षा, स्वास्थ्य र गरिबी न्यूनीकरण गर्ने अवस सिर्जना गरेको छ । यद्यपि सामाजिक र पारिवारिक चुनौति थपिँदै गएको दशरथचन्द नगरपालिकाका रोजगार शाखा प्रुमख नन्दराज जोशीले बताउनुभयो ।

तथ्याङ्क अनुसार वैदेशिक रोजगारीबाट आव २०८१/०८२ मा नेपालमा १७ खर्ब २३ अर्ब २७ करोड रुयियाँ रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगारीले सकरात्मक प्रभाव पारेको भए पनि मनोसामाजिक समस्या बढेको, बालकालिका र ज्येष्ठ नागरिकमा एक्लोपन, जग्गा बाँझो रहेको र सहरी जनङ्ख्या र ग्रामीण जनसङ्ख्यामा असमानता बढेको जोशीले बताउनुभयो ।

– गोकर्ण दयाल