01/08/2026, 10:11:49
बिहिबार, पुष २४, २०८२

चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित


कैलाली, पुस २३ गते । लगातारको शीतलहरका कारण चिसो बढेपछि कैलालीको गौरीगङ्गा नगरपालिका कार्यालयले एक हप्ताका लागि नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ ।

नगरपालिका कार्यालयले जारी गरेको सूचनामा केही दिनदेखि अत्यधिक चिसो भई बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै विद्यालयको दैनिक पठनपाठन पनि प्रभावित भएकाले यही पुस २४ देखि आगामी माघ २ गतेसम्मका लागि बिदा दिइएको उल्लेख छ ।

बाक्लो हुस्सु र कुहिरोसँगै दिनहुँ चल्ने गरेको शीतलहरका कारण बढेको कठ्याङ्ग्रिने चिसोले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । जाडोको सामना गरिरहेका अधिकांश सर्वसाधारणलाई आगो ताप्ने व्यवस्थाका लागि धनगढी उपमहानगरपालिका र गौरीगङ्गा नगरपालिकासहितका पालिका तहहरूले केही दिनअघि दाउरा उपलब्ध गराएको थियो ।

शीतलहरका कारण धनगढीको अधिकतम तापक्रम र न्यूनतम तापक्रम घट्दै गएको छ । पहाडी क्षेत्रमा पारिलो घाम लाग्दा यतिबेला तराईका जिल्लालाई भने कुहिरो र हुस्सुले ढाकेको छ । शीतलहरले बढ्ने चिसोका कारण आलु, तोरीलगायतको हिँउदे बालीमा डढुवा रोगको समस्या देखिएको किसानले बताएका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..