भदौ २३ र २४ गते जेन-जीको असाधारण आन्दोलनपछि सत्ता बदलियो । आन्दोलनको जनादेशसँगै प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठित सरकारलाई फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने कार्यादेश प्राप्त छ । सुशासन स्थापित गर्न भ्रष्टाचार नियन्त्रण गरी नागरिकलाई प्रभावकारी रूपमा सेवा प्रवाह गर्नुपर्ने दायित्व पनि सरकारमाथि छ । जेन-जीको प्रतिनिधित्व सुनिश्चित गर्ने र सबै दललाई निर्वाचनमा सहभागी गराउने जिम्मेवारी पूरा गर्नुपर्ने जिम्मेवारी त छँदै छ । सरकार, दल, जेन-जीका माग र निर्वाचनका मुख्य मुद्दामाथि बहस भइरहँदा अब जेन-जीको कार्यभार के हो ? नेपाल जेन-जी फ्रन्टकी संयोजक एवं जेन-जी अभियन्ता रक्षा बमसँग अशोक अधिकारी र सपना थामीले गरेको कुराकानी :
देश फागुन २१ गतेका लागि घोषित निर्वाचनमा होमिएको छ । जेन-जी आन्दोलनको जग र जनादेशमा निर्वाचन गराउने कार्यादेश पाएको सरकारले ती मुद्दा कार्यान्वयन कसरी अघि बढाएको छ ?
देशले नवीन रूपान्तरण, परिवर्तन, सामाजिक न्याय, सुशासन, पारदर्शी राज्यप्रणाली, भ्रष्टाचारमुक्त राज्य र राजनीतिक स्थिरता खोजेका बेला भदौ २३ र २४ गते जेन-जी आन्दोलन भयो । आन्दोलनको प्रस्टै जनादेश छ । पहिलो, राजनीतिक नेतृत्वमा ‘म्युजिकल चेयर’ जस्तै खेल भइरहेको थियो, अब त्यो रोकिनु पर्छ । देश र नागरिकका लागि सोच्ने नेतृत्व चाहियो भन्ने नै जेन-जीको माग थियो र हो । दलहरूमा पुस्ता हस्तान्तरण गर्ने र सुधार चाहियो भनेका हौँ । दलहरूभित्र आन्तरिक लोकतन्त्र बलियो भए देशकै लोकतन्त्र बलियो हुन्छ । आन्दोलनले दलहरूलाई कार्यशैलीमा सुधार गर्नु पर्छ भन्ने सन्देश दिएको छ । देश र पार्टीको नेतृत्व गरिरहेका शीर्ष नेतृत्वको कार्यशैलीकै कारण जेन-जी आन्दोलन भयो ।
अब दलहरूभित्र सुधार हुनु पर्छ । नेतृत्व सुध्रिनु र सच्चिनु पर्छ । जनता सचेत भइसके । युवापुस्ताको भावना अनुरूप काम नभएपछि आन्दोलन भयो । अब सरकारको पहिलो म्यान्डेट निर्वाचन गराउनु हो । यो सरकार विशेष परिस्थितिमा गठन भएको हो । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन सम्पन्न गरेपछि बन्ने सरकारले जनताको जनादेश अनुसार काम अघि बढाउँछ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र राजनीतिक अवस्थालाई सही मार्गमा अघि बढाउने छ । हुन त नागरिकले तिरेको कर कहाँ जाँदै छ, सदुपयोग किन भएन भनेर प्रश्न गर्न युवा सडकमा आएका थिए । तत्कालीन सत्तासँग जनता खुसी थिएनन् । २५–३० वर्षसम्म पनि एउटै अनुहारलाई देखिरहँदा जनतामा वितृष्णा थियो । समीकरण बन्ने र भत्किने सिलसिला चलिरहेको थियो । सुशासनका मुद्दा ओझेलमा परेका थिए । जनताले हाम्रा कुरा सत्ताले सुनोस् भनेर आन्दोलनलाई साथ दिएका हुन् । निर्वाचन गरेर यी मुद्दा सम्बोधन गर्न सरकार आफ्नो कार्यादेशप्रति जिम्मेवारीसाथ अघि बढिरहेको छ ।
सरकार सञ्चालन र निर्वाचनका सन्दर्भमा जेन-जीसँग समन्वय कस्तो छ ?
सरकारले जेन-जी अभियन्तासँग समन्वय गरिरहेको छ । सरकार गठन भएदेखि नै जेन-जीसँग समन्वय गरेरै सरकारले काम गरिएको छ । जेन-जीका धेरै समूह हुँदा सरकारलाई समन्वय गर्न र सबै समूहका माग पूरा गर्न सरकारलाई चुनौती छ । सरकार निर्वाचनको तयारीमा जुटिरहेको छ । अब केही दिनमा आचारसंहिता लागु हुन्छ । त्यसपछि कुनै पनि किसिमको हस्तक्षेप हुनु हुँदैन । निर्वाचन आयोगले निष्पक्ष, भयरहित र स्वतन्त्र रूपमा निर्वाचन गराउने छ । सरकारसँगै सरोकारवालासँग समन्वय गरेरै हामी निर्वाचन उन्मुख भएका छौँ ।

निर्वाचन आउन दुई महिना बाँकी छ । जेन-जीबिच एकता छैन, धेरै समूहमा विभाजित देखिएको छ । साझा र संयोजनकारी नेतृत्व किन पाएन जेन-जी अभियानले ?
जेन-जी एउटा पुस्ता हो । एउटै पुस्ता भए पनि सबैको सोच एउटै हुँदैन । विचारमा विविधता हुँदा सबै एक ठाउँमा बस्न र एकीकृत हुन नसकेको हो । जेन-जीभन्दा अगाडिको पुस्ताको विचार पनि एउटै छैन । विचार र दृष्टिकोणले फरक फरक दलमा त्यो पुस्ता छ । फरक विचार भए पनि त्यसलाई कदर गरिनु पर्छ । आन्दोलनको जनादेश र मुद्दाका सन्दर्भमा हामी सबै एकै ठाउँमा छौँ । भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने मुद्दा साझा हो । सामूहिक चेतनाले गरेको आन्दोलनले दिएको लक्ष्य एउटै छ । विचार फरक हुनु स्वाभाविक हो । हामी लोकतन्त्र चाहन्छौँ, गणतन्त्र चाहन्छौँ । लोकतान्त्रिक निकास चाहन्छौँ । हामी संविधान चाहन्छौँ । लोकतन्त्र नचाहने समूहसँग समन्वय हुँदैन । उहाँहरूले आफ्नो विचार राख्नुहोस्, हामी सम्मान गर्छौं ।
जेन-जी आन्दोलन कसरी संस्थागत हुन्छ ?
जेन-जीकै अगुवाइमा राजनीतिक शक्ति निर्माण गर्नु चुनौतीपूर्ण कार्य हो । जेन-जी आन्दोलनका मुद्दा संस्थागत गर्न राजनीतिक दलले अग्रसरता लिनु पर्छ । जेन-जी आन्दोलनका मुद्दा कुन कुन दलले स्विकार्छन् र दलहरूले जेन-जीका भावना कसरी समेट्छन् भन्ने विषयले यी मुद्दा संस्थागत गर्ने बाटो खोल्छ । अहिले नयाँ समीकरण निर्माण भइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीसँग धेरै नेताले सहकार्य अघि बढाउनुभएको छ । उहाँहरूले खुला रूपमै जेन-जी आन्दोलनको अपनत्व लिनुभएको छ ।
हामीले उठाएका मुद्दा साझा हुन् । कुनै दलविशेषका होइनन् । त्यसैले हरेक दलले जेन-जीका मुद्दा र आन्दोलनको अपनत्व लिनु पर्छ । जेन-जीले रूपान्तरण, सुशासनसहित सुधारका मुद्दा उठाएका हौँ । दलहरूले नयाँ सोच लिएर आउनु पर्छ भनेका हौँ । त्यसैले सबै दलले हाम्रो आन्दोलनको म्यान्डेट बुझ्नु पर्छ । जेन-जी आन्दोलनको मर्मलाई दलहरूले लिएमा आन्दोलन आफैँ संस्थागत हुन्छ ।

जेन-जी अभियन्ता राजनीतिक शक्तिका रूपमा कसरी अघि बढ्नुहुन्छ ?
जेन-जीले नयाँ दल खोलेर आउँदा मात्रै सबै कुरा ठिक हुन्छ भन्ने हुँदैन । हामीले ‘ओभर प्रमिस’ पनि गर्नु हुँदैन । नयाँ दल खोलेर आउनु आफैँमा एउटा ठुलो लक्ष्य हो, ठुलो सङ्कल्प हो । दल खोलेर जनतामा जाँदा प्रस्ट मार्गचित्र हुनु पर्छ । फागुन २१ गतेको निर्वाचनका लागि दल दर्ता गर्ने समय बन्द भयो । दलबाट मात्र आन्दोलनका मुद्दा संस्थागत हुन्छन् भन्ने होइन । साझा एजेन्डालाई दलहरूले अपनत्व लिएमा जेन-जीले दल खोल्नु पर्दैन ।
सरकार र जेन-जी अभियानबिच भएको १० बुँदे सम्झौता कार्यान्वयन कसरी अघि बढ्दै छ ।
भदौ २७ गते सरकार गठन हुँदा हामीले धेरै अपेक्षा राखेका थियौँ । नागरिक सरकार गठन भइसकेपछि धेरै अपेक्षा थियो । काम गर्दै जाँदा सोचे जस्तो नहुँदो रहेछ । म्यान्डेटको हकमा निरन्तर संवादमै छौँ । आन्दोलनको जनादेशका सन्दर्भमा संवाद भइरहेकै छ । सम्झौता कार्यान्वयन गर्नै पर्छ । जेन-जी आन्दोलनको म्यान्डेटलाई बोकेर निर्वाचनमा जान दलहरूलाई पनि भनिरहेका छौँ । सम्झौता कार्यान्वयन हुन्छ । जेन-जी परिषद् गठनका लागि कार्यविधि बन्दै छ । सबै काम अघि बढाउन प्रतिबद्ध भएर लागेका छौँ । हस्ताक्षर गरेर छोड्ने होइन, कार्यान्वयनतर्फ अघि बढाउन पहल गरिरहेका छौँ ।
सरकार र जेन-जीबिच सम्झौताले पार्ने प्रभाव के हो ?
सरकार र जेन-जीबिच सम्झौतामा हस्ताक्षर हुनु नै एउटा सफलता हो । जेन-जी आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्थापित गराइएको छ । भदौ २३ र २४ गतेको आन्दोलनलाई ‘जेन-जी जनआन्दोलन’ नामकरण ग¥यौँ । यो पनि एउटा ठुलो उपलब्धि हो । आन्दोलनलाई अपराधीकरण नगरियोस् भनेर वैधानिकताका लागि राजपत्रमा पनि प्रकाशित गराइएको छ । अब कार्यान्वयनका लागि निरन्तर खबरदारी आवश्यक छ ।
सरकारले निर्वाचनको तयारी गरिरहेको छ । निर्वाचन तयारीबारे सरकारको प्रतिबद्धता कस्तो पाउनुभएको छ ?
अन्तरिम सरकारको पहिलो म्यान्डेट निर्वाचन नै हो । देश सङ्क्रमणकालीन अवस्थामा हुँदा गलत दिशामा नजाओस् भनेर सरकारले जिम्मेवारीका साथ निर्वाचनको तयारी गरिरहेको छ । त्यसैले निर्धारित मितिमा निर्वाचन गराएर नेतृत्व हस्तान्तरण गर्नु पर्छ । सरकारको धारणा र प्रतिबद्धता पनि यही छ ।

जनअपेक्षा अनुसार सरकारले काम गरिरहेको छ ?
जनताले अपेक्षा गरेको परिवर्तन यो सरकारबाट पूरा हुँदैन । केही काम भइरहेका छन् । यो सरकार विशेष परिस्थितिमा गठन भएको हो । यसका आफ्नै सीमा र सीमितता छन् । छ महिनाको सरकारले दुई दिनमै आमूल परिवर्तन गर्छ भन्ने हुँदैन । त्यस्तो अपेक्षा पनि गर्नुहुँदैन । अब छ महिनाभित्र भ्रष्टाचार निर्मूल हुन्छ भन्ने होइन । यी काम रातारात हुन सक्दैनन् । मुख्य कुरा, सुशासन र पारदर्शी प्रणालीका लागि सबै जिम्मेवारी हुनु पर्छ । निर्वाचनपछि आउने संसद् र सरकारले यी सबै जिम्मेवारी लिएर अघि बढ्नु पर्छ । यो सरकारको मुख्य काम निर्वाचन गराउनु नै हो ।
नेपालमा २००७, २०४६, २०६२/६३ को आन्दोलनबाट राजनीतिक परिवर्तन भयो । प्रजातन्त्रदेखि गणतन्त्रसम्मका उपलब्धि हासिल भए । जेन-जी आन्दोलनपछि अबको पाँच वर्षमा देशलाई कस्तो बनाउने लक्ष्य राख्नुभएको छ ?
देशले रूपान्तरण र आर्थिक समुन्नति खोजेको छ । अब धेरै निरास नहोऔँ । निरासावादी कुरा नगरौँ । निराशाका कुरा मात्रै गर्दा जनतामाझ आशा गर्ने ठाउँ हुँदैन । अबको पाँच वर्षमा आन्दोलनको जनादेश अनुसार पारदर्शी राज्य प्रणाली र जवाफदेही नेतृत्व आएर देशलाई परिणाम दिन सक्ने गरी काम अघि बढाउनु पर्छ । अबको पाँच वर्षमा हामीले चाहेको परिवर्तन र सुशासन हुनु पर्छ । अब आउने नेतृत्वले कामबाटै जवाफ दिन सकून् ।

भदौ २४ गतेको आन्दोलन हिंसात्मक बन्नु कारणबारे समीक्षा गर्नुभएको छ ?
तत्कालीन सरकारले भदौ २३ गते जेन-जीको आन्दोलनमा दमन गरेको थियो । जेन-जीसहित १९ देखि २२ जना साथीलाई टाउको र छातीमा हानेर हत्या गरेको थियो । स्वाभाविक हो, युवा मात्र होइन देशका सबै जनता त्यो घटनापछि आक्राेशित थिए । जसले गर्दा २४ गते निम्तिएको हो । भदौ २४ गते पनि हामीले यस्तो विध्वंस हुनु हुँदैन, यसरी हिंसालाई प्रोत्साहन गर्नु हुँदैन, त्यो त हामीले चाहेको होइन भनिरहेकै थियौँ । हामी सामान्य प्रश्न सोध्न सडकमा गएका थियौँ । हामी कुनै पनि किसिमको हिंसा गर्ने भनेर सोचेका थिएनौँ । हामी त फूल पनि भाँच्दैनौँ भनेर सडकमा गएका थियौँ नि ! फूल पनि भाँच्दैनौँ भनेर सडकमा गएका नवयुवालाई ताकी ताकी गोली हानेपछि नै २४ गतेमा हिंसा भयो । आक्राेशित हुनु भन्दैमा यो सबै विध्वंस मच्चाउनु पर्छ भन्ने छैन र विध्वंस कसले मच्चायो, के ग¥यो भन्ने पाटो अझै पनि अनुसन्धानको विषय हो । हाम्रो आन्दोलनको मर्म हिंसा थिएन ।
जेन-जीले संरचनागत, नीतिगत र पुस्तान्तरण, कस्तो परिवर्तन खोजेका हुन् ?
सबै हो । संरचनागत पनि हो, नीतिगत पनि हो, पुस्तान्तरण पनि हो । अब पुस्तान्तरण भन्दै गर्दा अलि सोच्नुपर्ने छ । आन्दोलनले अब देशका लागि काम गर्न हामी तयार छौँ भन्ने सन्देश दियो । पुस्तान्तरण भन्दै गर्दा त्योभन्दा अगाडि नेतृत्व हस्तान्तरणको कुरा आउँछ । आन्दोलनले राजनीतिक दल र सत्तामा नयाँ विचार र सोच भएको दूरदर्शी नेता खोजेको हो त्यसैले नेतृत्व हस्तान्तरण गर्नुस् भनिएको हो । पुस्तान्तरणपछि एउटा पुस्तादेखि अर्को पुस्तामा नेतृत्व जान्छ । दलहरूमा पनि पहिलो पुस्ताले दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण होस् भन्ने जेन-जीको चाहना हो । त्यस्तै जेन-जीको सहभागिता पनि डिसिजन मेकिङदेखि हरेक क्षेत्रमा हो । समग्रमा संरचनात्मक, नीतिगत र नेतृत्वको पुस्तान्तरण पनि आन्दोलनको म्यान्डेट हो ।

निर्वाचनपछि जेन-जी राज्य सञ्चालन गर्न तयार हुन सक्छन् ?
जो मान्छेले आन्दोलन गर्न सक्छ, एउटा राजनीतिक चेत बोकेर सडकमा आउन सक्छ त्यो मान्छेले राज्य सञ्चालन गर्न सक्छ । राज्य सञ्चालनमा जेन-जीको प्रतिनिधित्व धेरै देशमा भएको छ । जेन-जीकै प्रतिनिधि पनि राजनीतिक रूपमा कतिको परिपक्व छ भन्ने कुराले सत्ता सञ्चालनमा प्रतिनिधित्व निर्धारण गर्छ । यो चुनावमा पनि सहभागिता हुन्छ जेन-जी उमेर समूहबाट । हस्तक्षेपकारी भूमिका हुन्छ । सकारात्मक हस्तक्षेपकारी भूमिका हुन्छ । राजनीतिक रूपमा परिपक्व भएर, देश र समाज बुझेर आएर राज्य सञ्चालनका लागि तयार हुनु पर्छ ।
प्रतिनिधि सभा निर्वाचनमा तपाईं पनि उम्मेदवार बन्नुहुन्छ ?
सडकमै बसेर प्रश्न गर्नु पर्छ कि भन्ने सोचमा पनि छु किनभने अझै यो पुस्ताले प्रश्न गर्न बाँकी नै छ । एक हिसाबले आन्दोलनको आवाज सदनमा पुग्नु पर्छ । यस विषयमा चाँडै निर्णयमा पुग्छु । अहिले म छलफलमै छु ।
निर्वाचनमा जेन-जीको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दलले के गर्नु पर्छ ?
राजनीतिक दलभित्र पुनर्संरचना आवश्यक छ । दलमा जेन-जीको प्रतिनिधित्व पनि हुनु प¥यो । हरेक दलमा आस्था राखेका जेन-जी छन् । उनीहरूलाई दलभित्र प्रतिनिधित्व सुनिश्चित हुनु पर्छ । दलको पुनर्संरचना गरेर जेन-जीलाई अगाडि लिएर आउने हो ।
उम्मेदवार छनोट गर्न जेन-जीको प्रतिनिधित्व भएको पाउनुभएको छ ?
जेन-जी आन्दोलनको म्यान्डेट नै युवाको सहभागिता हो । अबको मूलधारको राजनीतिमा युवा हुनु पर्छ भन्ने हो । निर्वाचनमा जानुअगावै दललाई आन्दोलनको स्पष्ट म्यान्डेट लिएर आउन आग्रह गर्ने र उम्मेदवार छनोट गर्न अनिवार्य जेन-जीको प्रतिनिधित्व हुनु पर्छ भन्ने हो । युवा सहभागिता वृद्धि निश्चित हुनु पर्छ । प्रतिनिधि सभामा जेन-जीको अधिक सहभागिता र राज्यप्रणालीमा पनि सोही अनुरूप सहभागी गराउनु पर्छ ।
संसद्मा युवाको प्रतिनिधि बढाउन निर्वाचन प्रणालीमा सुधार आवश्यक छ ?
निर्वाचन प्रणाली त युवामैत्री छ । प्रणाली युवामैत्री भए पनि दलहरूले युवालाई त्यो स्थान दिइरहेका छैनन् । युवालाई अवसर दिने विषय दलभित्रको सुधारमा निर्भर गर्छ । क्षमतावान् युवालाई अवसर दिने र नेतृत्व विकासतर्फ अग्रसर गराउनु पर्छ ।

राजनीतिमा आकर्षित गर्नलाई कस्तो चाहिँ नीतिगत पहल आवश्यक छ ?
राजनीतिमा आकर्षण गर्न नीतिगत पहल आवश्यक छ । हाम्रा युवा देशबाहिर गइरहेका छन् । देशमा अवसर नभएर युवाबाहिर गइरहेका छन् । शिक्षा र संरचनागत सुधार गरी स्वदेशमै काम गर्ने वातावरण बनाएर राजनीतिमा पनि अवसर दिनु पर्छ । युवालाई राजनीतिक संस्कार दिनु पर्छ ।
युवा नेतृत्वमा आएपछि सुशासन कायम हुन सक्छ ?
मुख्य कुरा इमानदारी हो । युवा इमानदार हुनु पर्छ । दृष्टिकोण र लक्ष्य निर्धारण गरेर राज्यप्रति जिम्मेवार भएर आए सुशासन कायम हुन सक्छ ।
भदौ २४ गते सिंहदरबारको घटनासँग जोडेर तपाईंमाथि पनि राज्य संरचना जलाउन संलग्न भएको आरोप लाग्यो नि । के भन्नुहुन्छ ?
अब यसको कानुनी उपचार नै हुन्छ होला । यसलाई अनुसन्धानको दायरामा ल्याउनु पर्छ । अनुसन्धानको सुरुवात मबाट नै हुन्छ भने म त्यसका लागि तयार छु । सिंहदरबार जल्दाको फोटो थिएन । त्यो २ बजे आसपासको फोटो थियो । सिंहदरबार त पछि जलेको थियो ।
पहिलो पटक मतदान गर्न लागेका युवालाई तपाईंको सन्देश के छ ?
पहिलो पटक मतदान गर्ने युवालाई भन्न चाहन्छु, तपाईंको एउटा भोटले धेरै कुरा परिवर्तन गर्न सकिन्छ । त्यो भोटको धेरै महìव हुन्छ । त्यसलाई कदर गर्नुस् । आफ्नो क्षेत्रको उम्मेदवारलाई प्रश्न गर्नुस् । निर्वाचन लोकतन्त्र सुदृढ बनाउने महत्वपूर्ण पर्व जस्तै हो, यसलाई मनाउनु पर्छ । स्वच्छ र स्वतन्त्र निर्वाचनका रूपमा सफल बनाउनु पर्छ ।
अन्तिममा रुदाने अर्थात् रूपचन्द्र विष्टको एउटा लाइन थियो “कि हामी कसैका होइनौँ, कोही हाम्रा होइनन्, हामी सत्य र न्यायका हौँ र न्याय र सत्य हाम्रा हुन्,” यसलाई एकदमै मनन गर्नु होला । पहिलो पटक मतदान गर्ने बेलामा सत्य, न्याय र न्यायसङ्गत भनेको के हो, बुझेर मतदान गर्नुहोला ।
– अशोक अधिकारी, सपना थामी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










