काठमाडौँ, माघ १८ : अघिल्ला निर्वाचनमा झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राप्रपाले र झापा–३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई एमालेले सघाउने गरेको थियो । यस पटक झापा–५ मा ओलीका एकजना प्रतिस्पर्धी छन्, काठमाडौंका निवर्तमान मेयर बालेन्द्र शाह ।
तर यस पटक एमाले र राप्रपाबीच एकअर्कालाई सघाउने कुनै सहमति भइसकेको छैन । यस्तो स्थितिमा ओली र लिङ्देन दुवैको संसदीय यात्राका विषय चासोका साथ हेरिएको छ । साथै, जेन–जी आन्दोलनपछिको निर्वाचनमा राप्रपाले कस्ता मुद्दा बोकेर चुनावमा जाादै छ भन्ने चासो पनि छ ।
यसै सन्दर्भमा लिङ्देनसंग जयसिंह महरा र गौरव पोखरेलले गरेको कुराकानी :
२०७४ पछिको प्रतिनिधिसभामा तपाईं राप्रपाको एक्लो सांसद हुनुहुन्थ्यो । २०७९ पछि १४ पुग्नुभयो । यस पटक कति जना लिएर संसद् भवन प्रवेश गर्ने योजना छ ?
राप्रपाले विगतमा भन्दा धेरै राम्रो उपस्थिति जनाउनेछ । चुनावमा कतिपय ठाउँमा अप्रत्याशित र अकल्पनीय परिणाम ल्याउँछ । त्यसैअनुसार तयारी गरिराखेका छौं । अहिले देशमा जुन प्रकारको अतिवादको विकास भइराखेको छ, त्यसका बीचमा राप्रपा जस्तो सुझबुझपूर्ण, वैचारिक हिसाबले स्पष्ट, बेदाग नेतृत्व भएको पार्टी आवश्यक पर्छ । देश बचाउने र बनाउने हो भने राप्रपा अझ बलियो शक्ति भएर आउनुपर्छ । यो चुनावबाट सकेसम्म देशकै नेतृत्व गर्ने गरी आउनुपर्छ भन्ने आम धारणा छ ।
अहिल्यै चुनाव हुनुपर्ने परिस्थिति र अन्य राजनीतिक परिदृश्यले तपाईंको अपेक्षासँग मेल खाने आधार के छ ?
डिजिटल ‘फार्मिङ’को माध्यमबाट मानिसलाई उत्प्रेरित गर्ने र आफ्नो पक्षमा ल्याई भ्रमको सिकार बनाउने प्रयत्नहरू भइराखेको छ । त्यसलाई हेर्दा परिणाम पनि त्यस्तै किसिमको होला कि भन्ने लाग्छ । तर, त्यसभन्दा पर पनि मानिसको सोचाइ र बुझाइ बढ्दै गएको छ । मलाई लाग्छ, बाहिर आएका कुराले मात्रै काम गर्दैन ।
नेपाल पछिल्लो दिनमा भूराजनीतिक चक्रव्यूहमा जसरी फसेको छ । बाटो बन्ने, नबन्ने, विकास र पूर्वाधारका काम कति हुनेभन्दा पनि पहिले त देश बचाउनुपर्ने भयो । देश बचाएपछि मात्रै बनाउने काम हुन्छ । त्यसकारण अहिले देशलाई केन्द्रमा राखेर मतदाता र बुद्धिजीवीले सोच्ने क्रम प्रारम्भ भएको हुनाले नराम्रो परिणाम हुँदैन । देशको पक्षमै परिणाम आउँछ ।
अहिले मतदाताले वैकल्पिक शक्ति खोजिरहेको देखिन्छ । वैकल्पिक भनेर केही पार्टी देखिएका छन् । वैकल्पिक शक्तिको परिभाषामा राप्रपा पर्छ त ?
देशलाई विकल्प चाहिएकै छ । हामीले लामो समयदेखि भनिरहेका छौं, यही व्यवस्था, यही व्यवस्थाअन्तर्गतको निर्वाचन प्रणाली र यो राज्य संरचना निर्माण गर्ने नेतृत्वबाट देश बन्न सक्दैन । त्यसकारण नेतृत्व पनि परिवर्तन गर्नुपर्छ । उनीहरूले ल्याएको भ्रष्ट व्यवस्थाको पनि अन्त्य गर्नुपर्छ । अनि मात्रै देशले शान्ति, स्थिरता र विकास प्राप्त गर्न सक्छ । हामीले परिकल्पना गरेको नेपाल बन्छ ।
अहिले देशले विकल्प खोजेकामा कुनै सन्देह छैन । तर, विकल्प अनुहारको होइन, विचारको चाहियो । अब यही व्यवस्था र राज्य संरचना ठीक भन्नु भनेको यही गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र यसअन्तर्गतका कानुन ठीक छन् भन्नु हो । त्यसो भन्नेहरू नयाँ हुँदैनन् । अहिलेको विकल्प राप्रपा हो, जसले स्पष्ट रूपमा राज्य संरचनाका बारेमा आफ्नो धारणा प्रस्तुत गरेको छ ।
राप्रपाले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा आफूलाई उभ्याएको छ । म गौरवका साथ भन्छु, यसको नेतृत्व आजको नेपाली राजनीतिको एक मात्र बेदाग नेतृत्व हो । त्यसकारण पनि नेपाली जनताले खोजेको खास विकल्प राप्रपा हो । दर्ताको हिसाबले राप्रपा पुरानो पार्टी होला, तर आज नेपालमा जति पनि परिवर्तन र विकल्पका विषय उठेका छन्, ती राप्रपाले र यसको अहिलेको नेतृत्वले प्रारम्भ गरेको हो ।
अब नयाँ वा विकल्पका नाममा कहिल्यै नदेखेको र नसुनेको अनि विचार, दृष्टिकोण र दर्शनका हिसाबले मुलुकलाई कहाँ लैजान्छ भन्नेसम्म थाहा नभएको नयाँको पछि लागियो भने देश झन् ठूलो दुर्घटनामा जान्छ ।
२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने माग थिएन । तर, यो आन्दोलनपछिको निर्वाचनमा व्यवस्था परिवर्तनको एजेन्डा किन बोकिरहनुभएको छ ?
त्यो विद्रोहमा कुनै विदेशीको अथवा अरू कुनै अदेखा शक्ति योजना थियो होला । चाहना पनि थियो होला । तर, मूलरूपमा यो ३५–३६ वर्षदेखि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका नाममा केही सीमित राजनीतिक दल र तिनका पनि मुठीभर नेताहरूले देशलाई जसरी कैद बनाएर राखे र देशमा जसरी कुशासन स्थापना भयो । त्यसले नै विद्रोहलाई निर्णायक ठाउँमा पुर्याए ।
हामी भ्रष्टाचारको विरोध गर्छौं । असन्तुष्टि व्यक्त गर्छौं । आक्रोश व्यक्त गर्छौं । त्यसो हो भने भ्रष्टाचारको कारणमा हामी जानुपर्छ । अहिले भ्रष्टाचारको कारणका रूपमा केही नेतालाई देख्छौं । तर त्यो मात्रै होइन । ती नेताहरूले ल्याएको व्यवस्था पनि हो । यो महँगो निर्वाचन प्रणाली पनि दोषी हो । चुनावी मैदानमा खर्च गरेर सांसद बन्नुपर्ने, फेरि सांसद वा सानातिना पार्टीलाई खरिद गरेर प्रधानमन्त्री बन्नुपर्ने र प्रधानमन्त्री बन्नेले निर्वाचन जित्न यताउति गर्नुपर्ने स्थिति छ ।
यो निर्वाचन प्रणाली कायम रहेसम्म भ्रष्टाचारको एउटा जगका रूपमा यसले काम गरिरहन्छ । अर्को पक्ष पनि हेरौं, भ्रष्टाचार कसले गर्छ त ? जनताले त गर्दैन, नेताले नै गर्छ । भ्रष्टाचारीलाई कारबाही गर्ने निकाय को हो त ? अख्तियार हो, अदालत हो । अख्तियार र अदालतमा को हुन्छ ? नेताले नियुक्ति गरेका मानिस । त्यही कारणले समस्या व्यवस्थामा छ । नियुक्ति प्रणालीमै छ । भोलि राजेन्द्र लिङ्देन वा बालेन आए पनि न्यायाधीश वा आयुक्त नियुक्ति गर्ने प्रणाली त यही हो ।
जेन–जी आन्दोलनपछि त्यसका अगुवा जंगीअड्डा पुगे । राजनीतिक परिवर्तनको विषयमा छलफल भए । तर, उनीहरूले व्यवस्थाको विकल्प खोजेको नभई लोकतान्त्रिक गणतन्त्रमा सुधार खोजेको प्रस्ट पारेका थिए नि ?
नेता किन बिग्रिन्छ ? भन्ने तहमा नपुगेसम्म यो भ्रष्टाचारको अन्त्य हुँदैन । देशले निकास पनि प्राप्त गर्दैन । त्यति मात्र होइन, नेपाललाई केन्द्र बनाएर वरपर निगरानी गर्ने र भूराजनीतिक स्वार्थ पूरा गर्न खोज्ने विदेशको जुन चाहना छ, त्यसले ठाउँ मात्रै पाउँछ ।
अहिले नेपालमा सबैभन्दा प्रथम आवश्यकता हो, सबै राजनीतिक शक्तिका बीचमा नयाँ समझदारी गर्ने । कसैले नजित्ने र कसैले नहार्ने, सिंगो देशले जित्ने एउटा नयाँ समझदारीको आवश्यकता छ । कोही निषेधित हुन नपर्ने, सबै मिल्ने, सबै अटाउने र सबैलाई सम्मान हुने व्यवस्था निर्माण गर्नुपर्छ । यसका लागि यो व्यवस्थामा आमूल परिवर्तन जरुरी छ । कुनै पनि राजनीतिक पार्टीले अरू कसैलाई निषेध गरेर देश अगाडि जान सक्दैन । सबै मिलेर जानुपर्छ भन्ने ठाउँमा पुगेर छलफल सुरु गरेपछि सबै विषयको निकास निस्किन्छ ।
तपाईंहरू राजतन्त्र फर्काउने भनिरहनुभएको छ । पछाडि फर्किने विकल्प पनि उचित हुन्छ त ?
तपाईंहरूमा पनि भ्रम रहेछ, म निवारण गर्न चाहन्छु । हामीले पछाडि फर्किने भनेको होइन । हामीले पहिलेको जस्तो राजसंस्था, पहिलेको जस्तो शासकीय व्यवस्थातिर फर्किन भनेको होइन । हाम्रो चाहना पनि होइन । हामीले भनिरहेका छौं, अब मुलुक यस्तै स्थितिमा बसिरहन सक्दैन ।
पछाडि फर्कने त हामी कल्पना पनि गर्दैनौं । मुलुक अगाडि नै जाने हो । तर हिजोका र आजका राम्रा पक्षलाई समेटेर मुलुकलाई अगाडि लैजानका लागि हामी सबैको बीचमा एउटा नयाँ सहमति आवश्यक छ । एकले अर्कालाई धेरै निषेध भयो । ३५–३६ वर्षदेखि चलिआएकै छ । त्यसकारणले निषेधको राजनीति होइन, सहमतिको राजनीतिबाट मुलुकलाई अगाडि लैजानुपर्छ ।
म प्रस्ट पार्न चाहन्छु, राजसंस्थाको कुरा गर्नु भनेको पछाडि फर्कनु होइन । एउटा अभिभावक संस्थाको रूपमा मात्रै राजसंस्था रहने विषय राप्रपाले भनिरहेको हो । राजा राप्रपाको होइन, कांग्रेस, एमाले, रास्वपा वा अरू पार्टीको पनि हो । साझा र अभिभावकीय संस्थाका रूपमा राजालाई राख्ने, जनताबाट प्रत्यक्ष निर्वाचित हुने कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्ने, संसद् पूर्ण समानुपातिक हुने, सांसदले मन्त्री हुन नपाउने र स्थानीय तहलाई गैरदलीय बनाउनु अहिलेको विकल्प हो ।
संवैधानिक अंगहरूमा नियुक्तिमा दलीय सिफारिस र भागबन्डा अन्त्य हुनुपर्छ । योग्यता र क्षमताका आधारमा नियुक्त हुने व्यवस्था मिलाउनुपर्छ । हाम्रोजस्तो भूराजनीतिक परिस्थिति भएको देशमा अन्य देश वा दर्शनको नक्कल लामो समयसम्म गरिसक्यौं । त्यसले देशलाई झन् अस्थिर बनायो । दुर्घटना उन्मुख बनायो । त्यसकारण अब हामीले हाम्रो मौलिक व्यवस्था निर्माण गर्नुपर्छ ।
राजसंस्था चाहिन्छ भन्ने मानिसले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको कुरा गर्यो भनेर आलोचना गर्छन् । तर सरकार पाँच वर्ष टिकोस् भन्नका लागि यो मुद्दा बोकेको हो । त्यो प्रधानमन्त्री निरंकुश र भ्रष्ट पनि नहोस्, कुनै पनि प्रकारको गलत सन्धि–सम्झौता गर्न नसकोस् भन्नका लागि राष्ट्रप्रमुखका रूपमा राजा रहने व्यवस्था हुनुपर्यो भनेको हो । एउटै व्यक्ति राष्ट्रप्रमुख र सरकार प्रमुख भयो भने मुलुकका लागि खतरनाक हुन्छ । राष्ट्रप्रमुखमा अभिभावक संस्थाका रूपमा राजा रहने तर सरकार सञ्चालनको प्रक्रियामा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था होस् भनेको हो ।
तपाईंहरूले माग्नुभएको राजसंस्थाको अनुहारमा जो देखिन्छ, उहाँले सरकार प्रमुख र राष्ट्रप्रमुख आफैं चलाएको पनि देखिएकै हो । राजसंस्था भनेको वंशवाद हो, त्यसैले उहाँका उत्तराधिकारी कस्ता छन् भन्ने पनि प्रश्न छ नै । यस्तो अवस्थामा तपाईंले कस्तो राजसंस्था खोज्नुभएको हो ?
राजसंस्था पूर्ण संवैधानिक हुन्छ ।
विगतमा त त्यस्तो देखिएन नि ?
त्यसबेला राजालाई विशेष अधिकारहरूको व्यवस्था थियो । त्यसले केही समस्या जन्मियो होला । तर अहिले त पूर्णरूपमा सुधारिएको राजसंस्था भनिएको हो । संविधानले नै राजालाई संविधान मिच्न नपाउने व्यवस्था भनिएको हो । उत्तराधिकारसम्बन्धी कानुन छुट्टै निर्माण हुन्छ । राजगद्दीको उत्तराधिकारी तोक्ने छुट्टै संवैधानिक संयन्त्रको व्यवस्था गरिन्छ । त्यसले गर्दा भोलि जेठो छोरो राजा हुन पनि सक्छ, जेठी छोरी पनि हुन सक्छ । त्यसका लागि त हामीले सहमतिबाट संविधानमा प्रबन्ध गर्न सक्छौं ।
राजसंस्था वा दलहरूबाट भएका गल्ती र कमजोरीलाई नदोहोरिने गरी प्रबन्ध मिलाएर जानुपर्छ । त्यसैले हामीले राष्ट्रिय शक्तिहरूको बीचमा राष्ट्रिय सहमति हुनुपर्छ भनेको हो । हारजितबाट राजा आयो भने निरंकुश हुन सक्ने खतरा रहन्छ । त्यसैले सहमतिबाट र कसैले पनि त्यो सहमतिलाई उल्लंघन गर्न नसक्ने प्रबन्धहरू मिलाएर जानुपर्छ ।
२०१५ सालमा हलो चुनाव चिह्न प्रजा परिषद्को थियो । त्यसबेलै उसले संसद्लाई बलियो बनाउनुपर्छ, राजा चाहिँ बेलायतको जस्तो शक्तिविहीन हुनुपर्छ भनेको थियो । धार्मिक स्वतन्त्रताको वकालत गरेको थियो । तपाईंहरू भने जनआन्दोलनबाट फ्याँकिएको राजसंस्थालाई फर्काउनुपर्छ भन्नुहुन्छ । प्रजा परिषद्भन्दा पनि पछाडि फर्किने एजेन्डा किन ?
हामीले पूर्ण संवैधानिक राजसंस्थाको कुरा गरेको हो । बेलायत, जापान, डेनमार्कको जस्तो राजसंस्था हुनुपर्छ भन्नु भनेको पछाडि फर्किनु होइन । राजसंस्था हुनु भनेको प्रजातन्त्र नहुनु होइन । राजा हुनु भनेको प्रजातन्त्र नहुनु होइन । राजा र प्रजातन्त्र एकअर्काका विकल्प होइनन् । राजा हुँदा प्रजातन्त्र हुँदैन र प्रजातन्त्र भएको ठाउँमा राजाको कल्पना गरिँदैन भन्ने कुरा गलत कुरा हो । आज दुनियाँको समृद्ध र सबभन्दा ठूलो प्रजातन्त्र भएको देश बेलायतमा राजसंस्था छ । आज संसारको सबैभन्दा समुन्नत देशहरूमा राजसंस्था छ । र जहाँ–जहाँ राजसंस्था छ, ती देशहरू गरिब र भद्रगोल अवस्थामा छैनन् ।
हामीले सक्रिय राजतन्त्रको कल्पना गरेका छैनौं । राजसंस्था र हिन्दु राष्ट्रलाई जनताले अस्वीकृत गरेको भनेर भाष्य बनाइएको छ । अस्वीकृत भएको हो भने कहिले थियो त जनमत संग्रह ? जनतालाई सोधियो त ? राजा हुँदा संसद् पुनःस्थापना गरिदिनुपर्यो भनियो । राजाले संसद् पुनःस्थापना गरिदिएपछि त्यो संसद्ले राजसंस्था र हिन्दु राष्ट्रको अन्त्य गर्यो । जनतालाई कहाँ सोधियो त ? जनमत संग्रह भयो र ? त्यसकारणले जनताबाट स्वीकृत हो कि अस्वीकृत हो भन्ने कुरा नै गलत कुरा हो ।
त्यसैले म फेरि भन्छु, कुनै हारजितभन्दा पनि सहमतिबाट राजसंस्थालाई एउटा स्पेस दिउँ । एउटा अभिभावकका रूपमा राखौं । अप्ठ्यारो परेको बेला सोध्ने एउटा संस्थाका रूपमा राखौं । अप्ठ्यारोमा निकास दिने एउटा संस्थाका रूपमा राखौं । बाँकी त जनताका प्रतिनिधिहरूले देश चलाउने हो । राप्रपा, कांग्रेस, एमाले, रास्वपाले चलाउने हो । जनताले जसलाई विश्वास गर्छ, उसले देश चलाउने हो ।
तपाईं झापा–३ बाट उम्मेदवार हुनुहुन्छ । यसअघिका निर्वाचनमा एमालेसँग गठबन्धन गरेर चुनाव जित्नुभएको थियो । यसपालि गठबन्धनका लागि छलफल गर्नुभएको छ कि छैन ?
२०७४ र २०७९ मा देशैभर सबै राजनीतिक दलहरूले कसै न कसैसँग तालमेल र गठबन्धन गरेर चुनाव लडेका थिए । मेरो निर्वाचन क्षेत्रमा एमालेसँग तालमेल गरेर लडेका थियौं । त्यस क्षेत्रमा कांग्रेसले माओवादी लगायतका दलसँग तालमेल गरेको थियो । मुख्य प्रतिद्वन्द्वीले गठबन्धन गर्ने भएपछि हामीले पनि एमालेसँग झापालगायत तीनवटा जिल्लामा तालमेल गर्यौं ।
यस पटक देशैभर सबै दलहरू एक्लै चुनाव लडिराखेका छन् । राप्रपा पनि एक्लै चुनाव लडिराखेको छ । मैले त २०७९ को चुनाव सकिनेबित्तिकै सार्वजनिक रूपमा पनि र आफ्नो पार्टी पंक्तिमा पनि भनेको थिएँ, सकेसम्म राप्रपा देशभर नै कसैसँग पनि तालमेल नगरीकन चुनाव लड्ने गरी तयारी गरेर जानुपर्छ । विशेष गरेर झापा–३ मा पार्टीको अध्यक्ष अब कसैसँग तालमेल नगरीकन एक्लै चुनाव जितेर आउँछ । कसैसँग गठबन्धन गर्दैन ।
झापा–५ मा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार हुनुहुन्छ । उहाँसँग प्रतिस्पर्धा गर्ने भनेरै काठमाडौंका निवर्तमान मेयर बालेन्द्र शाह पनि जानुभएको छ । कतैबाट सघाउनुपर्यो भन्ने प्रस्ताव आएको छैन ?
झापा–५ मा हामीले उम्मेदवार नै उठाउँदैन थियौं । यसपालि कुनै पार्टीले पनि कुरा गरेको छैन । फेरि आफ्नो पनि उम्मेदवार भएपछि अरूलाई कसरी सघाउनु ?
एमाले अध्यक्षले कान्तिपुरसँगको कुराकानीमा गठबन्धनका लागि हामी खुल्ला छौं, छलफल भइरहेको छ भन्नुभएको थियो नि ?
सघाउने नै हो भने एकले अर्कालाई सिट खाली गरेर सघाउने हो, चुनावमा । अरू प्रकारले सघाउने कुरा भएन । झापा–५ मा हामीसँग भएकामध्ये योग्य उम्मेदवार लक्ष्मी संग्रौलालाई उठाएका छौं । यो तीन वर्ष उहाँले तयारी गर्नुभएको थियो र उहाँलाई तयार गरिराखेका थियौं । उहाँ उठ्नुभएको छ । हाम्रो राम्रो उपस्थिति भएको ठाउँ हो, त्यो । अहिले दुई प्रकारको अतिवाद हाबी भइराखेका बेला जनताले विकल्पको रूपमा हामीलाई हेरिराखेका छन् ।
तर एमाले अध्यक्ष ओलीले दमक पुगेर राप्रपाबाट निर्वाचित मेयर राम थापालाई भेट्नुभयो । त्यसपछि उहाँले एमालेलाई सहयोग गर्ने चर्चा स्थानीयस्तरमा भइरहेको रहेछ नि ?
कांग्रेस नेता कृष्णप्रसाद सिटौला मेरो निर्वाचन क्षेत्रमा उठ्नुभएको छैन । उहाँलाई मैले भेट्ने र मत माग्ने काम हुन्छ । उहाँले मलाई आशीर्वाद र शुभकामना भन्नुहुन्छ । चुनावमा भेटघाट, कुराकानी भइहाल्छ । भोलि केपी ओली वा शेरबहादुर देउवासँगै मेरो कहीँभेट हुन सक्छ ।
उहाँहरूसँग भेट्दाखेरि नबोल्ने, कुरा नगर्ने, हात नमिलाउने भन्ने त हुँदैन । रवि–बालेनहरूसँग पनि भेट नहुने भन्ने हुँदैन । त्यतिबेलाका फोटो राखेर सघाउने भयो, कुरा मिलिसक्यो भन्नुको अर्थ हुँदैन । सहयोगको निर्णय भयो भने त वक्तव्य आउँछ, पत्रकार सम्मेलन नै भइहाल्छ नि ।
दुई पटक तपाईं र एमाले अध्यक्ष ओलीबीच एकअर्काको क्षेत्रमा सहयोग गर्ने समझदारी भयो । तपाईं सरकारमा समेत उपप्रधानमन्त्री नै बनेर जानुभयो । यसबीचमा ओलीसँग के कारणले तपाईंको मन कुँडियो ?
त्यस्तो कुँडिनुपर्ने वा खुसी हुनुपर्ने कुरा होइन । न हामीले विरोध गरेर हिँडेका छौं, न सहयोग गरेर । एउटा राजनीतिक दलले अर्को राजनीतिक दलसँग गर्ने व्यवहार जे हो, त्यही गर्छौं । तर, स्वाभाविक रूपमा हामीले उहाँको राजनीतिक दर्शनको अथवा उहाँहरूले ल्याउनुभएको राजनीतिक प्रणालीको विकल्पमा अडान राख्छौं ।
मैले त यो कुरा उहाँलाई व्यक्तिगत भेटघाटमा पनि भनेको छु । र, सार्वजनिक रूपमा पनि भनेको छु । तपाईंहरूले यो प्रणाली सुविचारका साथ ल्याउनुभयो होला, राम्रै हुन्छ भन्ने ठान्नुभयो होला तर अभ्यासबाट यो प्रणाली असफल भएको प्रमाणित भयो । अब यसले काम गर्दैन । यसैलाई तपाईंहरूले जबर्जस्ती अगाडि लाने कोसिस गरिराख्नुभयो भने देशले झन् ठूलो क्षति बेहोर्नुपर्छ भनेको छु ।
मैले थप भनेको छु, तपाईंहरूको क्रियाकलाप पनि सच्चिनुपर्छ । सच्चिएन भने भाग्नुपर्ने परिस्थिति आउँछ, मैले हेलिकोप्टर नै चढेर भाग्नुपर्ने हुन सक्छ नै भनेको थिएँ । पछि उहाँहरूले भन्नुभयो, हामी त बूढा मान्छे कुद्न सक्दैनौं, भाग्न सक्दैनौं । तिमीहरूले भाग्नुपर्छ । उहाँहरूको विचार र व्यवहारप्रति मेरो स्पष्ट दृष्टिकोण छ । तर, व्यक्तिगत रूपमा सबैप्रति सम्मान छ ।
पछिल्लो गठबन्धनपछि चाहिँ तपाईंले अब राप्रपा एक्लै लड्नुपर्छ भन्ने अभिव्यक्ति दिनुभएको थियो, त्यसैले केही विषयले मन कुँडिएको हो कि भन्ने चासो त सर्वत्र छ नि ?
चुनावमा गठबन्धन सोचे जस्तो भएन । हामीले जसरी खुला मनले भोट दियौं, उहाँहरूले भोट सोचे जसरी, खुला मनले दिनुभएन कि भन्ने पनि भयो । हामीले गठबन्धन त गर्यौं, तर मत ‘ट्रान्सफर’ पनि भएन । त्यसैले नेता मिलेर मात्र मतदाता मिल्ने होइन रहेछन् भन्ने भयो ।
त्यो बेला खासै फलदायी भएन भन्ने लागेकाले पनि फरक ढंगले अघि बढेका थियौं । म उहाँहरूलाई दोष दिन पनि चाहन्नँ । तर, मनमा एउटा राजनीतिक पार्टीको अध्यक्ष देश चलाउँछु, देशको यो प्रणालीमै परिवर्तन गर्छु भनेर हिँडेको मान्छे, सधैंभरि असुरक्षित जस्तो महसुस गर्ने र सधैं कसै न कसैसँग तालमेल गरिराख्नुपर्ने स्थितिबाट बाहिर निस्किनुपर्छ भन्ने कुराले पनि काम गर्यो । र, आफ्नो यति ठाउँ पाएपछि आफ्नो संगठन गरेर अगाडि जानुपर्छ भन्ने भयो । त्यसैले हामी निकै अगाडिबाट आफ्नै बलमा चुनाव लड्ने गरी तयारीमा लागेका थियौं ।
राजसंस्था पुनःस्थापनाको एजेन्डासहित झापाबाटै बेग्लै अभियान चलाइरहनुभएको दुर्गा प्रसाईंसँग सहकार्यको सम्भावना छ कि छैन ?
उहाँसँग अहिले मेरो राम्रै कुराकानी भइराखेको छ, यति मात्रै भन्छु । र, यो पटक नेपालमा राजसंस्था चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ भन्ने सबैको मत देशभर नै एकै ठाउँमा पर्छ, यति चाहिँ भन्दिन्छु ।
त्यसो भए उहाँ राप्रपाको उम्मेदवारहरूको पक्षमा खुलेर आउने सम्भावना छ ?
आवश्यक पर्यो भने आउनु पनि होला । अहिल्यै मैले उहाँले यसो गर्नुहुन्छ भन्दा पनि सकारात्मक छलफल भइरहेको छ भनेर भन्छु । यो पटक राजसंस्था पक्षधरको मत विभाजित हुँदैन । देशैभर एकै ठाउँमा आउँछ, त्यो हलो चिह्नमा आउँछ ।
कमल थापा पक्षलाई पनि एकतामा ल्याउनुभयो । विभिन्न समूहलाई जोड्दा आकांक्षी धेरै भए । आन्तरिक विवाद भएजस्तो पनि देखियो । सबै पक्षलाई कसरी मिलाउनुभएको छ ?
कमल थापा मात्र होइन, सुरेन्द्र भण्डारीदेखि स्वागत नेपालसम्म राप्रपासँग हुनुहुन्छ । यो ध्रुवीकरणमा अहिले राजसंस्था र हिन्दु राष्ट्र पक्षधरहरू सबै एकै ठाउँमा हुनुहुन्छ । अहिले राजसंस्था र हिन्दु राष्ट्र पक्षधरहरूको बीचमा कुनै विभाजन छैन र अलग–अलग उम्मेदवारहरू पनि छैनन् ।
तर पहिले राप्रपाभित्रै रवीन्द्र मिश्र र धवलशमशेर राणा लगायतले फरक मत राखिरहनुभएको थियो, उहाँहरूलाई कसरी मिलाउनुभएको छ ?
रवीन्द्र मिश्रजी हाम्रो पार्टीबाट यसपालि चुनाव जित्ने र संसद्मा पुग्ने उम्मेदवार हुनुहुन्छ । कमल थापा पनि आउनुभएको छ, धेरै कुरा मिलेको छ । यतिबेला आन्तरिक रूपमा कुनै पनि प्रकारको गुनासो र असन्तुष्टि छैन । स्वाभाविक रूपले महाधिवेशन आउने बेलामा, नेतृत्व लिने बेलामा, टिकट लिने बेलामा सानोतिनो विवाद हुन्छन् । तर, अहिलेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीमा निर्वाचनलाई प्रभावित गर्ने गरी, अरूलाई हँसाउने गरी कुनै प्रकारको विवाद बाँकी छैन ।
यो चुनावलाई धेरैले नयाँ भर्सेस पुरानाको रूपमा लिएका छन् । तपाईंले चाहिँ आफूहरूलाई कुन कित्तामा उभ्याउनुहुन्छ ?
राष्ट्रिय राजनीतिको दृष्टिकोणले हेर्दा अहिले कतिपय विषयमा अन्योल र भ्रमहरू देखिन्छ । तर चुनाव नजिक आउँदै गर्दा सबै सङ्लिँदै जान्छ र मतदातालाई सत्य कुरा के हो भन्ने पनि प्रस्ट हुँदै जान्छ । चुनाव जति नजिक हुँदै जान्छ, त्यति एउटा स्थायी, देशभक्त र सुशासनको पक्षधर शक्तिका रूपमा राप्रपाको पक्षमा जनमत बढ्दै जान्छ ।
त्यो भनेको राप्रपा कत्रो शक्ति बन्छ भन्ने हो ?
राप्रपा प्रथम पार्टी बन्दैन भन्ने केही छैन । तर अहिले राप्रपा अथवा अरू कुनै पार्टीले एक्लै बहुमत ल्याउँछौं भनेर धक्कु लगाउनु अन्यथा हुन्छ । राप्रपा र व्यक्तिगत रूपमा म धेरै हावा र काल्पनिक कुरा गर्न मन पराउँदिनँ । त्यसैले बहुमत ल्याउने कुरा कल्पना गर्दिनँ, अहिलेको निर्वाचन प्रणालीमा । तर अहिलेको जुन विभाजित मत परिस्थिति छ, त्यहाँ राप्रपाले प्रथम मत ल्यायो भने अचम्म मान्न पर्दैन ।
तपाईं दुई पटक संसद्मा रहेर पनि काम गरिसक्नुभएको छ । निर्वाचन प्रणाली राम्रोसँग थाहा छ । तपाईंले बहुमत आउँदैन भनेर भन्नुभयो । तर रास्वपा त १५१ सिट ल्याउँछौं भनेर भनिरहेको छ नि ?
अरूको बारेमा टिप्पणी गर्दिनँ । तर, अब कति दिन बाँकी छ र ? त्यो दिन पनि आइहाल्छ । तर अहिलेको निर्वाचन प्रणालीमा त्यस प्रकारको कल्पना चाहिँ हास्यास्पद हुन्छ ।
एमालेले जेन–जी आन्दोलनलाई विदेशी शक्तिको चलखेल भन्यो । गगन थापाको नेतृत्वमा रहेको कांग्रेसले यो जनआक्रोश हो, २३ र २४ भदौअघि र पछिको नेपाल फरक हो भन्यो । तपाईंहरूको निष्कर्ष चाहिँ एमालेसँग मिल्ने रहेछ होइन ? खासगरी विदेशी शक्तिको हात देख्ने सन्दर्भमा ?
एमालेसँग किन मिल्नुपर्यो र ? मैले एमालेको महाधिवेशनमा गएर भनेको छु, ‘कुनै विदेशीको योजना थियो होला, चाहना थियो होला, तर विदेशीको योजना र चाहनाले मात्रै काम गरेको छैन ।’ मूलरूपमा तपार्इं ठूला राजनीतिक दल हुँ भन्नेहरू, अथवा जसले सत्ताको नेतृत्व गरेको छ, तपाईंहरूको भ्रष्ट क्रियाकलाप, अकर्मण्यताले काम गरेको छ ।
यो तपाईंहरूको क्रियाकलापले उत्पन्न भएको जनआक्रोशको परिणाम हो भनेको छु । यो कसैको चाहनाले उक्साहटले मात्रै भएको होइन । त्यो उक्साहट थियो, योजना थियो भन्ने कुरा पनि सार्वजनिकै छ । लामो समयदेखि नेपालमा अस्थिरता होस्, नेपालमा यस प्रकारको विध्वंस होस् भन्ने त चाहना थियो होला नि, अरूको । हामीले पनि सुनिराखेकै हो । तर त्यसले मात्रै त काम गर्नेवाला थिएन । त्यसका लागि तपाईंहरूको व्यवहारले गरेको छ भनेर मैले सार्वजनिक रूपमै भनेको छु नि ।
– जयसिंह महरा र गौरव पोखरेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











