01/21/2026, 12:07:34
बुधबार, माघ ०७, २०८२

नेपालको निर्वाचनलाई विश्वले हेरिरहेको छ : रामप्रसाद भण्डारी


आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा ३ हजार ४८४ जनाले उम्मेदवारी दिएका छन् । ६८ राजनीतिक दलका तर्फबाट २ हजार २९७ र स्वतन्त्र रूपमा १ हजार १८७ जनाले मंगलबार मनोनयन दर्ता गरेका हुन् ।

प्रतिनिधिसभाका अघिल्ला दुई निर्वाचनको तुलनामा यस पटक बढी उम्मेदवारी परेको हो । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा २ हजार ४११ र २०७४ मा १ हजार ९४४ जना उम्मेदवार थिए ।

उम्मेदवारी मनोनयनपछि अब देश निर्वाचनमय बनेको छ।यसै विषयमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसँगको संक्षिप्त कुराकानी :

उम्मेदवारी मनोनयन कस्तो भयो ?

एकदम उत्साहजनक र शान्तिपूर्ण भएको छ । सबै पक्षले निर्वाचनमा भाग लिएको देखिएको छ । उम्मेदवारको संख्या पनि अत्यधिक छ । नयाँ, पुराना सबै दलले चुनावमा भाग लिएका छन् । स्वतन्त्र रूपमा पनि उम्मेदवारी परेको छ । निर्वाचनलाई लिएर उत्साह देखिएको छ । अब आम मतदाताले स्वतन्त्र ढंगले आफ्नो अधिकारको प्रयोग गर्ने हो । आयोगको एकमात्र उद्देश्य निष्पक्ष, स्वच्छ र भयरहित ढंगले निर्वाचन गराउने हो ।

निर्वाचन हुँदैन कि भन्ने विभिन्न खाले शंकाबीच समानुपातिक र प्रत्यक्ष दुवैतर्फ उम्मेदवारी दर्ता भइसकेको छ । अब चुनावलाई कुनै प्रकारको चुनौती देख्नुहुन्छ ?

‘निर्वाचन हुँदैन’ भन्ने शब्दावली अब रहेन । हामी लगातार निर्वाचनको तयारीमै व्यस्त थियौं । निर्धारित निर्वाचन कार्यक्रमअनुसार सबै काम भएका छन् । मतदाता, उम्मेदवार, राजनीतिक दल सबै निर्वाचनमा होमिसकेका छन् ।

२१ फागुनको मतदान आउन झन्डै डेढ महिनाको समय रहन्छ । यो लामो अवधिले उम्मेदवारको प्रचारमा लाग्ने खर्च बढाउँदैन ?

प्रचारप्रसार गर्ने अवधि आयोगले तोकेको छ । ४–१८ फागुनमा मात्रै उम्मेदवारले प्रचारप्रसार गर्न पाउँछन् । निर्वाचन आचारसंहिताले प्रचारप्रसारमा के गर्न हुने र के नहुने स्पष्ट भनेको छ । खर्चको सीमा पनि तोकिएको छ । त्यही भित्र रहेर उम्मेदवारले प्रचार गर्ने हो । उम्मेदवारको अन्तिम नामावली आएर चुनाव चिह्न पाएपछि मतदातालाई भेट्न, घरदैलो गर्न, रायसुझाव लिन भने पाउनेछन् । तर आमसभा, सेमिनार, र्‍याली गर्न भने ४–१८ फागुन नै पर्खनुपर्छ । मौन अवधिमा प्रचार गर्न मिल्दैन ।

निर्वाचन तयारी कहाँ पुगेको छ ?

निर्वाचन व्यवस्थापनको तयारी भइसक्यो । अब निर्वाचन प्रक्रिया मात्रै बाँकी छ । समानुपातिकतर्फको मतपत्रको छपाइ भइरहेको छ । प्रत्यक्षतर्फ उम्मेदवारहरूको अन्तिम नामावली आएपछि मतपत्र छपाइ सुरु हुनेछ । त्यसपछि मतपत्रको ढुवानी गरिनेछ ।

आचारसंहितालाई लिएर आयोगप्रति सधैं प्रश्न रहन्छ । उल्लंघनका घटना भएका देखिन्छन् तर आयोग कारबाहीमा उत्रिँदैन भनिन्छ । यसबारे के भन्नुहुन्छ ?

आचारसंहिता पालनामा कडाइ हुन्छ । उल्लंघन गर्नेमाथि कारबाही हुन्छ । प्रमाणसहित उजुरी आयो भने छानबिन हुन्छ, स्पष्टीकरण सोधिन्छ, विधिसम्मत प्रक्रिया पूरा गरेर कारबाही हुन्छ । आचारसंहिता उल्लंघन गर्न पाइँदैन । उम्मेदवार, राजनीतिक दलका साथै सबै सरोकारवालालाई आचारसंहिताको पूर्ण पालना गर्दै अनुशासनको लक्ष्मणरेखाभित्र रहिदिन आग्रह गर्छौं । निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित प्रतिस्पर्धात्मक र विश्वासयोग्य बनाउन सबैले योगदान गर्नुपर्छ । नेपालको निर्वाचनलाई विश्वले हेरिरहेको छ । नेपालले ठीक ढंगले निर्वाचन सम्पन्न गरेको छ भन्ने सन्देश विश्वलाई पुग्नुपर्छ ।