काठमाडौँ, पुस २७ : ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहित माग गर्दा पनि संस्थापनले विशेष महाधिवेशन नबोलाएपछि कांग्रेस यतिबेला द्वन्द्वमा फसेको छ । महामन्त्रीद्वयको अग्रसरतामा आइतबारबाट दोस्रो विशेष महाधिवेशन सुरु हुँदै छ । तर, सभापति र उनी पक्षधरका नेताहरूले यसको वैधानिकतालाई चुनौती दिएका छन् । विशेष महाधिवेशनले के गर्ला र सभापति पक्षका नेताहरूको भूमिका कस्तो रहला भन्ने प्रश्न छ ।
यसै सन्दर्भमा नेता गुरुराज घिमिरेसँग कुलचन्द्र न्यौपाने र राजेश मिश्रले गरेको कुराकानी :
विशेष महाधिवेशनको तयारी कस्तो छ र प्रतिनिधिहरूको उपस्थिति कति हुने भयो ?
हल, सजावट, मञ्च व्यवस्थापन, आवासका लागि होटल, खानपिन, स्वयंसेवक, कार्ड, झोलाजस्ता सबै व्यवस्थापन पूरा भइसकेको छ । हाम्रो अपेक्षाअनुसार महाधिवेशन प्रतिनिधिहरूको सहभागिता दुई तिहाइभन्दा बढी हुनेछ, सम्भावना पनि त्यसै नजिक छ । आउने क्रम जारी छ ।
विशेष महाधिवेशनलाई पार्टी सभापतिले सम्बोधन गर्नुपर्छ भनेर पहलकदमी भइरहेको छ । यसलाई सिंगो कांग्रेसले स्वामित्व लिने अवस्था होला ?
यो सभापतिको मुख्य दायित्व हो । पार्टीलाई एकताबद्ध राख्ने प्राथमिक जिम्मेवारी सभापतिकै हो । पार्टीभित्र मतान्तर, विचारको अनेकता र विवाद हुन्छन्, यसको व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी पनि सभापतिकै हुन्छ । अहिलेको आवाज भनेको पार्टीलाई समयसापेक्ष रूपान्तरण गर्नुपर्छ भन्ने हो । २१ फागुनको निर्वाचनमा पार्टीलाई बलियो रूपमा प्रस्तुत गरी नतिजा निकाल्ने उद्देश्य हो । जेन–जी विद्रोहपछि उठेका विषय पार्टी हितकै लागि नै हुन्, कुनै गुटगत वा व्यक्तिगत स्वार्थका लागि होइनन् ।
नीति, नेतृत्व, विधान संशोधन, मुलुकको राजनीतिक समीक्षा र भावी कार्यदिशासँग सम्बन्धित छन् । यो कुनै व्यक्ति वा गुटकेन्द्रित छैन । विशेष महाधिवेशनमा सहभागीहरूमा हिजो शेखर कोइराला र शेरबहादुर देउवालाई मत दिने पनि छन् । अरू पनि छन् । विशेष महाधिवेशन परम्परागत गुटभन्दा माथि उठेर आयोजना भएको हो । त्यसैले पार्टीलाई एकताबद्ध राख्न सभापतिज्यू हलमा आएर मैले कार्यभार मात्र दिएको थिएँ, अब मैले नेतृत्व छाडें, तपाईंहरू मिलेर नयाँ नेतृत्व छान्नुहोस् भनेर सम्बोधन गर्नुहुन्छ भन्ने हामीलाई विश्वास छ ।
सभापतिले नेतृत्वबाट राजीनामा दिएपछि कार्यवाहक सभापतिकै नेतृत्वमा चुनावमा जान सकिन्छ कि नयाँ नेतृत्व छान्ने हो ?
नेतृत्व परिवर्तनबिना भेलाको औचित्य हुँदैन । मैले बारम्बार भन्दै आएको छु, केन्द्रीय समितिले जिल्ला सभापतिहरूको भेला बोलाइदिन सक्छ, मिति तर्जुमा गर्न छलफल गर्न सकिन्छ । नीति बनाउन केन्द्रीय समिति आफैं पर्याप्त छ । तर नेतृत्व परिवर्तन गर्न महाधिवेशन नै चाहिन्छ, महासमितिले पनि सक्दैन । यो विशेष महाधिवेशन नेतृत्व परिवर्तनसहित नीतिगत विषय, विधान, संरचनागत फेरबदलमा छलफल गरी टुंगो लगाउन बोलाइएको हो ।
पार्टीको नेतृत्व मात्रै परिवर्तन गर्ने कि पूरै केन्द्रीय कार्यसमिति निर्वाचित गर्ने योजना छ ?
विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन बोलाइए पनि यो नियमित महाधिवेशनजस्तै हो । नियमित महाधिवेशनले जे–जे गर्छ । विशेष महाधिवेशनले पनि त्यही गर्ने हो । २३–२४ भदौमा नेपालको राजनीतिमा विकसित घटना, नेतृत्व परिवर्तन र नीति पुनरावलोकनको आवश्यकतालाई दृष्टिगत गरेर विशेष महाधिवेशन बोलाएको हो । यसले नेतृत्व मात्र होइन, पूर्ण केन्द्रीय कार्यसमिति (सबै क्लस्टरहरूमा) चयन गर्छ ।
त्यसो भए निर्वाचन प्रक्रिया कहिले सुरु हुन्छ त ?
विशेष महाधिवेशनको उद्घाटन २७ पुसमा हुन्छ । २८ पुसमा बन्दसत्रमा नीतिगत छलफल, विधान छलफल हुन्छ । समूह विभाजन गरी छलफल हुन्छ । नेतृत्व चयन प्रक्रिया २९ पुससम्म जान सक्छ ।
संस्थापन पक्षले केन्द्रीय कार्यसम्पादन समितिबाट विशेष महाधिवेशनको औचित्य छैन भन्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसमिति चयन गर्नुभयो भने पछि विवाद र कानुनी झमेलाहरू आउने देखिन्छ । त्यसले ६ माघको मनोनयन र २१ फागुनको निर्वाचनलाई असर गर्दैन ?
विशेष महाधिवेशनलाई औचित्वहीन भन्ने निर्णय विधानको खिलापमा छ । विधानभन्दा माथि केन्द्रीय समिति छैन । हामीले विधानको व्यवस्था आकर्षित गरेर माग गरेका हौं । दुवै महामन्त्रीहरूको आह्वानमा यो महाधिवेशन आयोजना हुँदै छ, यसको औचित्य स्थापित भइसकेको छ । संस्थापन पक्षको बहुमतको अहंकारले समस्या निम्त्याएको हो । केन्द्रीय समितिको दायित्व आफ्नो कार्यकाल बढाउने मात्र होइन, पार्टीभित्रका समस्यालाई सम्बोधन गर्नु हो ।
यदि समयमै सम्बोधन गरेको भए आज हामी निर्वाचनमा जुटिसकेका हुन्थ्यौं । यसले ६ माघको मनोनयन र २१ फागुनको निर्वाचन केही प्रभावित हुन सक्छन् तर निर्वाचन आयोगले विशेष महाधिवेशनबाट भएको नेतृत्व परिवर्तनलाई सदर गरेपछि समस्या हुन्न । यदि अदालतमै गइहाल्यो भने पनि विषयको गम्भीरतालाई हेरेर छिटो निर्णय हुन्छ भन्ने विश्वास छ ।
तर निर्वाचनको मुखमा यस्तो गर्दा त्यसले झनै नराम्रो सन्देश जाला कि भनेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अलि अलमलमा देखिनुभएको छ । निर्वाचनबाहेक नेतृत्व परिवर्तनको अर्को विकल्प छैन ?
अन्य विकल्प धेरै हुन सक्थे, यदि केन्द्रीय कार्यसमितिले समयमै ध्यान दिएको भए । छलफल गरेको भए । तर उहाँहरूले पन्छाउने, टार्ने र कार्यकाल थप्ने अहंकारी मनोविज्ञान अपनाउनुभयो । अब विकल्प छैन । नेतृत्व परिवर्तन नै एक मात्र बाटो हो । यदि सभापतिज्यू स्वयं आएर मैले नेतृत्व छोडें, अब मिलेर छान्नुहोस् भन्नुभयो भने हामी सबै सँगै हुन्छौं । नभए नेतृत्व परिवर्तन हुन्छ, निर्वाचन आयोगले वैधानिक रूपमा मान्यता दिन्छ । अदालतसम्म पुग्नै पर्दैन, समस्या समाधान हुन्छ । अहिले नेतृत्व परिवर्तनबाहेक कुनै विकल्प छैन ।
सभापतिले राजीनामा दिएर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पूर्ण अधिकार दिने गरी एउटा विकल्प हुन सक्छ भनेर भन्ने पनि आइरहेको छ । यो बारेमा केही सोच्नुभएको छ ?
त्यसबारे अहिले छलफल गरेका छैनौं । यदि पार्टी त्यो बाटोमा गयो भने, के गर्ने भनेर हामी छलफल गर्छौं ।
जेन–जी आन्दोलनपछि कांग्रेसलाई नेतृत्व मात्रै नभएर नीति र कार्यक्रममा पनि पूर्ण रूपमा रूपान्तरण गर्ने मुद्दा तपाईंहरूले उठाइरहनुभएको छ । त्यस्ता नीतिहरू के–के छन् त ?
जेन–जी आन्दोलन वा विद्रोह भनौं । यसका राम्रो र अँध्यारो पाटो दुवै छन् । राम्रो के भने, यसले भ्रष्टाचारको नियन्त्रण, सुशासन र नयाँ पुस्ताको सुनिश्चित र सुरक्षित भविष्यको विषयलाई उठाएको छ । मूलतः नेपाली युवाहरू, किशोरकिशोरीहरूको शैक्षिक, आर्थिक र राजनीतिक भविष्यको सुरक्षा, जनअधिकारको सुरक्षा सुनिश्चित गर्ने दायित्व राजनीतिक दलहरूकै छ । अहिलेको अव्यवस्थाबाट, नीतिहीनताबाट, बेथितिबाट, भ्रष्टाचारबाट, कुशासनबाट मुलुकलाई मुक्त गरेपछि देश अगाडि बढिहाल्छ । ती सबै कुरालाई केन्द्रमा राखेर हामीले काम गर्नुपर्छ भन्ने छ ।
युवा किशोरकिशोरीहरूलाई आकर्षित गर्न कस्ता–कस्ता कार्यक्रम ल्याउँदै हुनुहुन्छ त ?
त्यो हामीले लेखिरहेका छौं । सुशासनको क्षेत्रमा काम गर्ने गरी हामी योजना बनाउन खोजिरहेका छौं । लामो समय एउटै व्यक्ति नेतृत्वमा बस्न नपाउने व्यवस्था गर्दै छौं । दुई पटक शपथ खाएपछि तेस्रो पटक शपथ लिने गरी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्दै छौं । पार्टीभित्र एउटै व्यक्तिलाई पटक–पटक अवसर दिन हुँदैन भन्ने आवाज ठूलो छ । त्यसलाई सम्बोधन गर्छौं । महामन्त्री विश्व प्रकाशजीले एक, दुई, तीन, चार (राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटक) को फर्मूला नै ल्याउनुभएको छ । विश्वमा यस्ता अभ्यास अन्त पनि भएका छन् ।
समृद्ध प्रजातन्त्र भएका मुलुकहरूमा यस्तो अभ्यास छ । मूलतः यो विषय पनि अन्तर्गत नै पर्छ । कर्मचारीतन्त्रमा चुस्तता ल्याउनुपर्छ । सेवा प्रवाहलाई छिटोछरितो गर्नुपर्छ । कर्मचारीतन्त्र र राजनीतिमा बढ्दै गएको भ्रष्टाचारलाई पूर्ण नियन्त्रण गर्नुपर्छ । यसो गर्यो भने राज्यको साधन र स्रोतको सदुपयोग हुन्छ । जनता शोषणमा पर्दैनन् । राज्य र सरकारप्रति जनविश्वास बढ्छ । अहिले जनविश्वास छैन । सरकारले राम्रो गर्छ भन्ने विश्वास नै छैन ।
राज्य हाम्रो अभिभावक हो भन्ने विश्वास नै छैन । सीमान्तमा रहेको नागरिकले राज्य आफ्नो भएको र आफूलाई आपत् आइलाग्दा राज्यले संरक्षण गर्छ भन्ने विश्वास गर्दैन । किशोरकिशोरीहरू आफ्नो भविष्य खोज्न विदेश गइरहेका छन् । यो सबै राज्यप्रति अविश्वास भएर भएको हो । यो ३६ वर्षमा पार्टी चलाउने र देश चलाउनेहरू जो अहिले हाम्रो विशेष महाधिवेशनको सन्दर्भमा ठूल्ठूला कुरा गर्दै छन्, उहाँहरूको धरातल मक्किसकेको छ । ठूलो कुरा गर्ने अधिकार छैन ।
विशेष महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रममा संविधान संशोधनका एजेन्डाहरू पनि समावेश हुन्छन् ?
हामीले कति गर्न सक्छौं, कति भ्याउँछौं हेरौं । तर त्यसलाई उल्लेख नगर्ने कुरा आउँदैन । त्यसको पूर्ण विवरण र व्याख्यात्मक कुरा अहिले कति सम्भव छ ? संविधान आफैंमा परिवर्तनशील दस्ताबेज हो । यो धर्मग्रन्थ होइन । यसलाई समयको आवश्यकता, राष्ट्रिय आवश्यकता र नागरिकको आवश्यकताले समय–समयमा अपडेट गर्दै जानुपर्छ । पटक–पटक संशोधन गर्दै जानुपर्छ । यो संविधानका विषयमा पनि प्रश्न उठेका छन् ।
तराई–मधेशबाट सबभन्दा ठूलो प्रश्न उठेका छन् । जनजाति, आदिवासी, दलित, मधेशी, किसान, श्रमिक, सबैले आफ्नो ठाउँ सुरक्षित देखेको संविधान खोजेका छन् । तर त्यसको प्रमुख सर्त के हो भने ‘नेसनल इन्टिग्रेसन’ । राष्ट्रिय एकता र अखण्डतालाई अक्षुण्ण राखेर हामी संशोधन गर्न सक्छौं । यो संविधान यति लचक छ कि व्यवस्था बदल्न सक्छ । दुई तिहाइले आयो भने राजनीतिक प्रणाली बदल्न सक्छ ।
अहिलेको यो राज्य व्यवस्थाको अव्यवस्था, संघीय संरचना, प्रदेश संरचनामा कहाँ–कहाँ सुधार गर्नुपर्नेछ, त्यो सबैमा संशोधन गरेर अघि बढ्न सकिन्छ । नागरिक तहबाट उठेका, भौगोलिक क्षेत्रबाट उठेका, राजनीतिक क्षेत्रबाट उठेका, जे–जति विषयहरू छन्, ती विषयलाई हामी सम्बोधन गर्ने कोसिस गर्छौं । समयको सुविधा कति हुन्छ, त्यसमा पनि निर्भर गर्छ । ६ माघको मनोनयन र २१ फागुनको निर्वाचनमा केन्द्रित हुनुपर्नेछ । यो चाप र दबाबको बीचमा हामीले कति काम गर्न सक्छौं, गर्छौं । त्यो सबै क्षेत्रबाट उठेका समस्यालाई सम्बोधन गर्ने हामी कोसिस गर्छौं ।
निर्वाचनमा जाँदा आम मतदातालाई हामी कहाँनेर बदलिएर आयौं भनेर देखाउनु हुन्छ ?
मूलतः दुइटा विषय देखाउने हो । दुइटा विषय बदलिएपछि मोटामोटी बदलिएको सन्देश जान्छ । एउटा नेतृत्व बदल्नुपर्छ । त्यो प्राथमिक र मुख्य सर्त हो । नेतृत्व नबदलीकन ल्याइने एजेन्डाको खास तुक हुँदैन । अर्को, कांग्रेसलाई आफ्नो भावभूमिमा उभ्याउने । कांग्रेसको मौलिकता र पहिचान जोगाएर यसलाई आफ्नै खुट्टामा उभ्याउने हो । एक्लै चुनाव लड्ने बनाउने हो । एक्लै चुनाव जित्ने या हार्ने विषयलाई स्वीकार गर्ने हो । कांग्रेसलाई रूपान्तरण गर्ने हो ।
कहिले एउटा कम्युनिस्ट पार्टीसँग, कहिले अर्को कम्युनिस्ट पार्टीसँग मिल्ने जुन चक्र चलिरहेको छ, त्यसबाट अलग हुने सुनिश्चितता गर्ने हो । अन्तर्राष्ट्रिय प्रसंगहरू हेर्दा पनि यस्तो गठबन्धनको राजनीतिले प्रतिष्ठित पुराना राजनीतिक दलहरूलाई ठूलो क्षति पुगेको छ । गठबन्धनको जुन नीति छ– मिलेर निर्वाचन लड्ने– यो ठीक छैन । यो बाटो नै गलत हो । विशेष महाधिवेशनले यो प्रस्ट रूपमै भन्छ । अब गठबन्धन कुनै निर्वाचनमा नगर्ने भनेर महासमितिले जुन प्रतिबद्धता र संकल्प गरेको थियो, त्यसलाई हामीले उल्लंघन गर्यौं ।
हामीले सामाजिक क्षेत्रका चुनावदेखि लिएर, कलेजको स्ववियु निर्वाचनसम्म गठबन्धन गर्दै गयौं । दोस्रो ठूलो कम्युनिस्ट पार्टीको अधीन र नेतृत्वमा पनि हामी पहिलो लोकतान्त्रिक पार्टी सरकारमा गयौं । विश्व राजनीतिलाई पनि आश्चर्यमा पारेर, हामीले संसद्मा त्यस्तो समीकरण गर्यौं । यो विचित्रको घटना हो विश्व राजनीतिमा ।
यी सबै दुश्चक्रबाट कांग्रेसलाई मुक्त गरेर, आफ्नै धरातलमा आफ्नै पहिचान र मौलिकतासहित कांग्रेसलाई उभ्याउनुपर्छ । त्यसो गर्दा कांग्रेसप्रति ठूलो प्रजातान्त्रिक जनमत आकर्षित हुन्छ । कांग्रेसले विशेष महाधिवेशनले गरेको निर्णयबाट जेन–जी पुस्ता पनि आश्वस्त हुन्छ । नयाँ पुस्ता पनि आश्वस्त हुन्छ । कांग्रेसमा ठूलो जनमत ठोकिन्छ । धेरै ठूलो संख्यामा नयाँ साथीहरू प्रवेश गर्छन् । राजनीतिमा पालो नपाएर अलमलिएको ठूलो जनमतले प्रवेश गर्छ ।

नेतृत्व बदल्ने कुरा त गरिहाल्नुभयो । यो विशेष महाधिवेशनले कसलाई सभापति बनाउँदै छ त ?
यो बारेमा अझै पनि धेरै खालका विकल्प र आयामहरू छन् । जस्तो– शेरबहादुर दाइ आउनुभयो भने के गर्ने भन्ने एउटा हुन सक्छ । शेरबहादुर दाइ, शेखर दाइ, पूर्णबहादुर खड्का सबै भएर स्वामित्व लिएर महाधिवेशनमा आए भने के गर्ने भन्ने हुन सक्छ । अर्को, उहाँहरू कोही पनि आउनुभएन र हामी आफैंले गर्नुपर्यो भने अर्को विकल्प हुन सक्छ । यो विषयमा हामी खुला छौं । नेतृत्वमा को भन्ने विषयमा हामी प्रवेश गरेका छैनौं अहिले । विशेष महाधिवेशनको उद्घाटन समारोह सकिएपछि बल्ल त्यतातर्फ ध्यान दिनेछौं ।
शेखर कोइरालाले २०८२ मंसिरभित्र नियमित महाधिवेशन भएन भने विशेष महाधिवेशन भन्नुभयो । तर, अहिले सबै एजेन्डा छाडेर संस्थापन पक्षमा घुलमिल हुनुभयो । यसलाई कसरी लिनुभएको छ ?
विशेष महाधिवेशनको विचार अलिअलि बोक्नुभएको पनि थियो । अलिअलि मिलाउने मध्यस्थकर्ताका रूपमा पनि रहनुभयो । महाधिवेशन पक्षधर हामीहरू १२/१३ जना हिजो (शुक्रबार) बेलुका गएर कुराकानी गर्यौं । मध्यस्थताको भूमिका निर्वाह गर्दै हुनुहुन्छ, ठीक छ । तर, ‘तपाईंले नियमित महाधिवेशन मंसिरभित्र भन्नुभयो, पुसभित्र पनि भएन । मंसिरभित्र नियमित महाधिवेशन भएन भने म विशेष महाधिवेशनको पक्षमा उभिन्छु भन्नुभएको थियो तर आज किन उभिन सक्नुभएन ? तपाईं आफ्नो वचनबद्धता पूरा गर्नुहोस्’ भनेर उहाँलाई भन्यौं । शेरबहादुर देउवालाई विशेष महाधिवेशनमा ल्याउनुस् । कार्यवाहक सभापतिलाई लिएर आउनुस् । तपाईं आउनुस् । महाधिवेशनलाई हामीहरूको मात्रै होइन, समग्र हामी सबैको आयोजना र खासगरी केन्द्रीय समितिको आयोजनाका रूपमा यसलाई सफल बनाऊँ । ‘यदि उहाँहरू आउनुहुन्न भने, तपाईंको वचन पूरा गर्नुहोस्, महाधिवेशनमा आउनुस्’ भनेर हामीले भनेका छौं ।
उहाँले केही जवाफ दिनुभएको छैन । तर, हामीलाई विश्वास छ, उहाँ महाधिवेशनमा आउनु हुन्छ । एउटा कुरा, उहाँले नेतृत्व परिवर्तनको विषयलाई अहिले रोक्नुस् भन्नुभयो । हामीले भन्यौं, विशेष महाधिवेशनको पहिलो सर्त नै नेतृत्व परिवर्तन हो । निर्वाचनअघि नेतृत्व परिवर्तन भनेका छौं । त्यसैले यो विषय महाधिवेशनको कार्यसूचीबाट हटाउन मिल्दैन भन्यौं ।
विशेष महाधिवेशनलाई सभापति शेरबहादुर देउवाले पनि स्वामित्व लिने कतिको सम्भावना छ ?
पार्टीका सभापतिलाई, कार्यवाहक सभापति, केन्द्रीय कार्यसमिति, ५४ प्रतिशतभन्दा बाहिरका साथीहरूलाई भन्छु, कांग्रेस हाम्रो साझा घर हो । सबैको संघर्षले यो घर खडा भएको हो । यसलाई अझ सुन्दर र मजबुत बनाउन तथा सबैको छहारीका रूपमा कायम राख्न मिलेर अघि बढौं । ५४ प्रतिशतको हस्ताक्षरलाई पनि कदर गर्नुहोस् । विशेष महाधिवेशनलाई पर्व र उत्सवका रूपमा उपयोग गरौं ।
– कुलचन्द्र न्यौपाने, राजेश मिश्र
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











