01/07/2026, 23:12:34
बुधबार, पुष २३, २०८२

चुनावबाट बलियो वामशक्तिका रूपमा उदाउँछौं : नेत्रविक्रम चन्द


काठमाडौँ, पुस २२ : नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द  पहिलो पटक प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार हुँदैछन् । दस वर्षे सशस्त्र युद्ध, शान्ति प्रक्रियापछि दुई वर्ष भूमिगत जीवन र १८ वर्ष शान्तिपूर्ण राजनीतिक यात्रा तय गरेका उनी पहिलो पटक औपचारिक रूपमा चुनावी मैदानमा उत्रने तयारी गरेका छन् ।

यसै सन्दर्भमा नेकपा (माओवादी) का महासचिव चन्दसँग  गंगा बीसीले गरेको कुराकानी :

तपाईँ पहिलो पटक पार्टी चुनावमा होमिँदै हुनुहुन्छ, कस्तो तयारी हुँदैछ ?

हामीले समानुपातिक उम्मेदवार त पहिले नै टुंग्याइसक्यौँ । अब प्रत्यक्ष उम्मेदवार छान्ने तयारी पनि हुँदै छ । पुस २५ गतभित्र सबै जिल्लाका सबै क्षेत्रको उम्मेदवारको सूची संकलन हुँदैछ । राजनीतिक ढंगले विभिन्न कम्युनिस्ट पार्टी, राजनीतिक शक्तिसँग गठबन्धन बनाएर चुनावमा जान छलफल भइरहेको छ ।

कुन पार्टीसँग गठबन्धन बनाउने कुरा भइरहेको छ ?

हाम्रो प्रस्ताव सम्भव भएसम्म कम्युनिस्ट पार्टीहरू चमा मोर्चा बनाउनु राम्रो हुन्थ्यो भन्ने सुझाव छ । त्यस्तै अरु मुख्य पार्टीहरूबीचमा मोर्चा बनाएर जान पाए राम्रो हुन्थ्यो भन्ने हाम्रो सुझाव छ । त्यसैगरी लोकतान्त्रिक शक्ति, देशभक्तहरूसँग पनि मोर्चा बनाउनेबारे कुरा भइरहेको छ ।

नेपाली कम्युनिस्ट पार्टीका नेताहरूसँग थोरैथोरै छलफल भएको छ । हाम्रो एकदम प्रारम्भिक छलफल चलेको छ । हाम्रो त सबै कम्युनिस्टहरूलाई एक बनाएर लान पाए अहिलेको राजनीतिमा देखापरिरहेका समस्या समाधान हुन्छन् भन्ने हो ।

चुनावपछि नेकपा माओवादी कस्तो राजनीतिक शक्ति बन्ने ठान्नु भएको छ ?

नेपाली जनताले हामीलाई चासोपूर्वक हेरेका छन् । हाम्रा कृषि क्रान्तिलगायतका मुद्दा जनताले मन पराएका छन् । हामी चुनावबाट देखिने वामशक्तिका रूपमा उदाउने छौं ।

तपाईंको उम्मेदवारीबारे पनि चासो छ । कुन जिल्लाबाट चुनावमा उठ्दै हुनुहुन्छ ?

त्यस्तो केही ‘फिक्स’ भइसकेको छैन । साथीहरू सुझाव दिइरहेका छन् । रोल्पा र कपिलवस्तु-३ बाट उम्मेदवार बन्नुपर्छ भन्ने सुझाव आएको छ । दाङबाट पनि उठ्नुपर्छ भन्ने सुझाव छ । हामी छलफल गर्दैछौं ।

२०६३ मा शान्ति प्रक्रियामा आउपछि चुनाव लड्दै हुनुहुन्छ । कस्तो अनुभव गर्नुभएको छ ?

म आफूचाहिँ पहिले उम्मेदवार नभएको हो । पार्टी त निर्वाचनमै थियो । यो पटक पार्टीले औपचारिक रूपमा चुनावमा जाने निर्णय गरिसकेपछि महासचिवकै नेतृत्वमा चुनावमा जानुपर्छ भन्ने साथीहरुको सुझाव छ । त्यसकारण स्वाभाविक ढंगले यसको फरक अनुभव त हुने नै भइहाल्यो । जनताका थुप्रै सुझावहरू छन् । यो चुनावमा राम्रै हुन्छ भन्ने लागेको छ ।

प्रत्यक्ष र समानुपातिक उम्मेदवार छान्न कस्तो मापदण्ड अपनाउनु भयो ?

हामीले मापदण्ड भित्रबाट उम्मेदवार छनोट प्रक्रिया हामीले पूरा गरेका छौं । खासगरी उम्मेदवार छनोट विभिन्न समुदाय, क्षेत्र, लिङ्गबाट छान्ने कानुनी व्यवस्था छ । त्यो सबैबाट हामीले पूरा गरेका छौं । प्रत्यक्षमा पनि त्यसरी नै उम्मेदवार छनोट गर्ने जोड रहन्छ ।

तपाईँको चुनावी मुद्दाचाहिँ के हुन्छ ?

हामीले खासगरी देशको मुख्य समस्याका रूपमा रहेको राजनीतिक अस्थिरतालाई जोड दिएका छौँ । राजनीतिक स्थिरताका लागि आवश्यक राजनीति कार्यदिशा अघि सार्नुपर्छ ।

आत्मनिर्भर अर्थतन्त्रका लागि हामीले जोड दिएका छौं । राजनीतिक ढंगले नेपाल राज्यलाई सबै वर्ग, जाति, क्षेत्र समुदायले अपनत्व ठान्ने खालको एउटा पुनर्संरचना गर्नुपर्छ भन्ने हाम्रो प्रस्ताव हुन्छ । आर्थिक क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउने गरी कृषि क्रान्तिसहित व्यापक औद्योगिकरणमा प्रवेश गर्नुपर्छ भन्ने चुनावी मुद्दा छ ।

अहिले पनि तपाईंहरूले मेची-महाकाली अभियान चलाउनु भएको छ, त्यो कस्तो अभियान हो ?

जेन-जी आन्दोलनपछि सरकार सर्वपक्षीय भए सबभन्दा राम्रो भन्ने हाम्रो कुरा छ । भ्रष्टाचारविरुद्ध एउटा ठोस निर्णय होस् । एउटा उच्चस्तरीय छानबिन आयोग गठन गर्नेदेखि उच्च स्तरीय न्यायालय खडा गर्ने हाम्रो माग छ । भ्रष्टाचारीलाई कारबाही गर्न कडा कानुनको व्यवस्था होस् ।

कालो धनलाई राज्यको नियन्त्रणमा ल्याउनको लागि नोटबन्दी पाँच सय र एक हजारका नोट खारेज गर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयहरुलाई मुख्य मुद्दा बनाएर सरकारले काम गर्नुपर्छ भन्ने हाम्रा माग र मुद्दा हुन् । त्यस्तै मुलुकमाथि हुने विभिन्न हस्तक्षेप रोक्नेलगायत विषय अघि सारेका छौं । यी विषय लिएर हाम्रो मेची-महाकाली अभियान जारी छ ।

– गंगा बीसी