सुलीकोट, पुस १० गते । गोरखाको अजिरकोट गाउँपालिकाले पर्यटन प्रबद्र्धनलाई नयाँ उचाईमा पु–याउने उद्देश्यसहित घोडा पर्यटन कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । अब पालिकाका प्रमुख पर्यटकिय स्थलहरु घोडा चढेर अवलोकन गर्न सकिने भएपछि आन्तरिक तथा बाह्रय पर्यटकलाई फरक अनुभव मिल्ने अपेक्षा गरिएको छ ।
अजिरकोट गाउँपालिकाका अध्यक्ष दिपक देवकोटाका अनुसार भच्चेक बजारदेखि अजिरकोट डाँडा, नम्की, सिरानडाँडा, नागेपोखरी, दुधपोखरी लगायतका आर्कषण गन्तव्यसम्म घोडा सवारीको व्यवस्था हुने भएको छ ।
‘‘गाउँपालिकाको पर्यटन विकासलाई प्राथामिकतामा राखेर नयाँ नयाँ कार्यक्रम अघि सार्दै पालिकामा आउने पर्यटकलाई लक्षित गरेर सेवा र सुविधा विस्तार गर्दै आएका छौँ,’’ गाउँपालिकाका अध्यक्ष दिपक देवकोटाले भन्नुभयो, ‘‘त्यहि योजनाअन्तर्गत घोडा सवारी कार्यक्रम ल्याइएको हो ।’’
‘‘पालिकाले कार्यक्रम सञ्चालनको लागि साझेदारीमा जान इच्छुक व्यवसायी, समूह तथा संस्थाबाट आवेदन आह्वान भइसकेको छ,’’ पालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले भन्नुभयो, ‘‘१५ दिनभित्र आवश्याक कागजजातसहित निवेदन दिएका मध्ये इच्छुक पक्षसँग छलफल गरी दिगो मोडालिटी तयार पारी चालु आर्थिक वर्षबाट लागू गरिने छ ।’’

गाउँपालिकाले कार्यक्रम सञ्चालनको लागि कार्यविधि तयार गरिसकेको छ भने व्यवसायी छनोटको लागि प्रमुख प्रशासकस्य अधिकृत पन्थीको संयोजकत्वमा समिति गठन भइसेकेको छ । कार्यविधिका आधारमा छनोट भएका व्यवसायीले घोडा खरीदमा पालिकाबाट ५० प्रतिशत अनुदान पाउने व्यवस्था गरिएको छ ।
यस कार्यक्रमका लागि चालु वर्षमा १० लाख बजेट विनियोजन गरिएको छ । घोडा सवारीसँगै पर्यटकिय स्थलसम्म पुग्ने घोरेटो बाटो स्तरोन्नति तथा आवश्याक पूर्वाधार निर्माणका काम पनि अघि बढाइने बताइएको छ ।
कार्यक्रम कार्यान्वयनमा आएपछि स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै अजिरकोटको पर्यटन गतिविधि थप सक्रिय हुने विश्वास गाउँपालिकाले लिएको छ ।
– गुणबहादुर रोका
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



















