01/04/2026, 15:13:42
आइतबार, पुष २०, २०८२

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो श्रीमतीसहित पक्राउ : राष्ट्रपति ट्रम्प


वासिङ्टन डिसी (अमेरिका), पुस १९ गते । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकाले भेनेजुएलाको विरूद्ध ठुलो आक्रमण गरेको उल्लेख गर्दै वर्तमान राष्ट्रपति निकोलस मादुरो  र उहाँकी श्रीमतीलाई पक्राउ गरी देश निकाला गरिएको बताउनु भएको छ ।

संयुक्त राज्य अमेरिकाले भेनेजुएला र राष्ट्रपति निकोलस मादुरो विरुद्ध सफलतापूर्वक आक्रमण गरी पत्नीसहित पक्राउ गरी देश बाहिर निकालिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत जनाउनु भएको हो । मादुरोको पक्राउ ट्रम्पद्वारा पुष्टि गरिए अनुसार, संयुक्त राज्य अमेरिका र भेनेजुएला बिच तीव्र तनावको बिचमा आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपतिलाई बारम्बार “नार्को-आतङ्कवादी” सरकारको अध्यक्षता गरेको आरोप लगाएको जनाइएको छ । अमेरिकाले भेनेजुएलाको तेल ओसारपसारमा संलग्न रहेको दाबी गर्ने जहाजमा पनि प्रतिबन्ध लगाएको थियो । सोही समयमा, अमेरिकी सेनाले लागु औषध तस्करीमा संलग्न भएको आरोप लगाउँदै यस क्षेत्रमा भेनेजुएलाका डुङ्गा विरुद्ध कारबाही बढाएको छ ।

भेनेजुएलाले अमेरिका विरुद्ध काम गरेको आरोप लगाउँदै ट्रम्पले मादुरोलाई पदबाट हट्न आह्वान गरेको जनाइएको छ । यसैबिच, भेनेजुएला सरकारले शनिबार विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्र सङ्घको बडापत्र उल्लङ्घन गरेको र क्षेत्रीय शान्ति र स्थिरतालाई खतरा पुर्‍याएको आरोप लगाउँदै भेनेजुएलाको भूभागविरुद्ध अमेरिकाले गरेको सैन्य आक्रमणको निन्दा गरेको छ ।

आधिकारिक विज्ञप्तिमा, अमेरिकाले काराकास र मिरान्डा, अरागुआ र ला गुएराका नागरिक र सैन्य स्थानमा आक्रमण गरी संयुक्त राष्ट्रको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको उल्लेख गरिएको छ । भेनेजुएला सरकारले आक्रमणको उद्देश्य देशको रणनीतिक स्रोत, विशेष गरी तेल र खनिज कब्जा गर्नु र भेनेजुएलाको राजनीतिक स्वतन्त्रतालाई कमजोर पार्नु रहेको बताएको छ ।

विज्ञप्तिमा भेनेजुएलाका जनताले साइमन बोलिभर र अन्य राष्ट्रिय नेताको विरासतलाई आह्वान गर्दै एक पटक फेरि आफ्नो स्वतन्त्रताको रक्षा गर्ने सबै सामाजिक र राजनीतिक शक्तिलाई साम्राज्यवादी आक्रमणको अस्वीकार गर्न आग्रह गरेको छ । बोलिभेरियन राष्ट्रिय सशस्त्र बल सार्वभौमिकता र शान्तिको ग्यारेन्टी गर्न राष्ट्रव्यापी रूपमा तैनाथ गरिएको छ । जबकि कूटनीतिक च्यानल संयुक्त राष्ट्र सुरक्षा परिषद, संयुक्त राष्ट्र महासचिव, समक्ष उजुरी गर्ने जनाइएको छ ।

राष्ट्रपति निकोलस मादुरोले संविधान र सान्दर्भिक राष्ट्रिय सुरक्षा कानुन अनुरूप राष्ट्रिय योजना कार्यान्वयन गर्न आदेश दिई भेनेजुएलामा सङ्कटकालको आदेशमा हस्ताक्षर गरेको जनाइएको छ । हाल राज्य र नगरपालिकामा व्यापक राष्ट्रिय रक्षा कमान्ड संरचना तैनाथ गरिएको बताएको छ । संयुक्त राष्ट्रको बडापत्रको धारा ५१ लाई आह्वान गर्दै भेनेजुएला सरकारले आफ्ना जनता, क्षेत्र र स्वतन्त्रताको रक्षा गर्न आत्मरक्षा गर्ने अधिकार सुरक्षित राखेको र विश्वव्यापी सरकार र जनतालाई एकता व्यक्त गर्न आह्वान गरेको छ ।

भेनेजुएलाको राजधानी काराकासमा शनिबार ठुलो विस्फोट भएको रिपोर्टको बिचमा यो विज्ञप्ति जारी गरिएको थियो, जसले धेरै क्षेत्रमा बिजुली कटौती गरेको सिएनएनले जनाएको छ । घटना क्रममा प्रतिक्रिया दिँदै कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले भेनेजुएला विरुद्ध अमेरिकी कारबाहीबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद बोलाउन आह्वान गर्नु भएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..