01/05/2026, 15:56:00
सोमबार, पुष २१, २०८२

जेन–जी आन्दोलनपछि काठमाडौंको ‘इलिट’ वर्गका जेन–जी हाबी देखिए : सीके राउत


काठमाडौँ, पुस २० : जनमत पार्टीका अध्यक्ष सीके राउतले जेन–जी विद्रोहपछिको परिस्थितिमा पनि मधेशी प्रतिनिधित्वको विषय क्रमशः ओझेल पर्दै गएको टिप्पणी गरेका छन् ।

राउतले जेन–जी विद्रोहपछिको परिस्थितिमा मधेशका ‘स्टेकहोल्डर’ हरूलाई परामर्श र छलफलमा नबोलाइएको बताउँदै भने, ‘जेन–जीको नाममा जति देखिए, उनीहरूले मधेशी शब्दलाई पहिचान गर्न पनि अस्वीकार गरे । कसैले ‘डिस्कर्ड’मा मधेशीको प्रतिनिधित्वको कुरा गर्दा त्यहाँ ‘मधेशी चिन्दैनौं, त्यो कुरा गर्दै नगर’ भनियो ।

राउतले जेन–जी विद्रोहपछिको परिस्थितिमा पनि मधेशीको पहिचान र अधिकारको विषय झनै पेचिलो बनेको बताएका छन् । उनले जेन–जी विद्रोह र त्यसपछिको परिस्थितिमा आफूहरू थप शंकित बन्नुपरेको बताउँदै भने, ‘जुन पहिचान संविधानले स्वीकार गरिसकेको छ, नयाँ जेन–जीले त्यसलाई पनि अस्वीकार गर्न थाले, अधिकारको त कुरै नगरौं । राजतन्त्रमा जस्तै एउटै भाषा, एउटै भेष प्राणभन्दा प्यारो देखिएपछि जेन–जीबाट हामी अलिकति सजग भयौं । हामी आँखा चिम्लेर समर्थन गर्न नसकिने स्थितिमा पुग्यौं।

राउतले जेन–जी विद्रोहको रापतापमा संघीयता फाल्ने सम्मको कुरा भएपछि आफूहरूले आँखा चिम्लेर समर्थन गर्न नसक्ने अवस्थामा पुगेको बताए । राउतले जेन–जी आन्दोलनपछि काठमाडौंको ‘इलिट’ वर्गका जेन–जी हाबी देखिएको बताउँदै भने, ‘काठमाडौंभन्दा बाहिर पनि नेपाली जनता बस्छन् । सीमान्तकृत समुदाय छन् । त्यसको बोधै नभएका मानिसहरूको बिगबिगी देखियो।

राउतले जेन–जी आन्दोलन जुन स्तरको भयो, त्यस अनुसार त्यसले प्रतिफल दिन नसकेको पनि टिप्पणी गरेका छन् । उनले निर्वाचन लक्षित सहकार्य र गठबन्धनबाट केही नौलो कुरा हासिल नहुने बताउँदै भने, ‘अहिले पनि समय छ । देशको यत्रो धन–जनको क्षति भइसकेपछि केही राजनीतिक उपलब्धि संस्थागत गरौं । परिवर्तनलाई संस्थागत गरौं ।