मनाङ, पुस २० गते । हिमालको काखमा बसेर जीवन धान्नु आफैँमा निकै चुनौतीपूर्ण काम हो । कठोर मौसम, सीमित सुविधा र दुर्गम भूगोलबिच पनि केही मानिस यस्ता हुन्छन्, जसले यही कठिनतालाई अवसरमा रूपान्तरण गरेर जीवनलाई नवीनतम ढङ्गले अँगालिरहेका हुन्छन् । गोरखा धार्चे गाउँपालिका–२ का सुनील गुरुङले कर्मथलो मनाङलाई बनाएर चौँरीगोठबाट आफ्नो भाग्यसँगसँगै सोचलाई पनि बदलिदिनुभएको छ । विदेशको मोहनी लागिसकेका गुरुङले अहिले विदेशलाई त्याग्नुभएको छ ।
उहाँ एक्लैले यो आँट गर्नुभएन, सारथिका रूपमा मनाङकै अन्य तीन जना पाउनुभयो । त्यसपछि विदेश मोह त्यागेर गाउँमै केही गर्ने योजना बन्यो । सामान्य कामको खोजीमा मनाङ पुग्दा नासोँ गाउँपालिकाका कार्साङ गुरुङ र काले गुरुङ अनि चामेका माइला गुरुङसँग उहाँको भेट भएको थियो । उहाँहरूको योजना बन्यो चौँरीपालन गर्ने र मनाङबाट चौँरीपालनमा उत्कृष्ट काम गर्ने योजनासाथ काम सुरु गर्नुभयो ।
आममानिसले दुःख ठान्ने गोठालो जीवन कार्साङ, काले गुरुङ र सुनीलका लागि सिकाइको थलो बन्यो । परिवारको परम्परागत पेसा समाल्दै उहाँले चौँरी र याकसँगै हुर्किने जीवन रोज्नुभयो । धेरै साथी पढाइ सकेर सहर वा विदेशतिर लाग्दा पनि उहाँहरूले हिमालमै भविष्य देख्नुभयो । दुई वर्षअघि दुई दर्जन चौँरीबाट व्यावसायिक यात्रा थालेका उहाँहरूको अहिले छ दर्जनभन्दा बढी चौंरी छन् ।
अचेल चौँरीको दुध, घिउ, छुर्पी र मासु मनाङका स्थानीय बासिन्दासँगै पदयात्री र पर्यटकसम्म पुर्याउन थाल्नुभएको छ । पर्यटकीय जिल्लाको सम्भावनालाई चिनेर उहाँले परम्परागत उत्पादनलाई बजारसँग जोड्ने प्रयास गर्नुभएको छ । यही सोचले उहाँहरूको गोठलाई क्रमशः आम्दानीको केन्द्र बनायो ।

उच्च हिमाली खर्कमा मौसमी रूपमा गोठ सार्दै उहाँहरू चौँरीपालन गर्नुहुन्छ । उत्पादन गरिएको छुर्पी र घिउ काठमाडौँ लगायतका ठुला सहरसम्म पुग्न थालेपछि आम्दानी पनि उल्लेख्य रूपमा बढेको छ । गुरुङले अनुभव सुनाउँदै भन्नुभयो, “हाम्रा लागि चौँरी गोठ अहिले पैसा फलाउने पवित्र ठाउँ भएको छ ।” जलवायु परिवर्तनका कारण अनियमित मौसम, चरनक्षेत्र अभाव, चौँरीमा लाग्ने रोग र जनशक्तिको कमी उहाँहरूका लागि मुख्य चुनौती हुन् । कहिलेकाहीँ भारी हिमपातले गोठमै हप्तौँ थुनिनु परेको तितो अनुभव पनि उहाँहरूसँग छ । भविष्यमा चौँरीपालनलाई अझ व्यवस्थित र आधुनिक बनाउने उहाँहरूको योजना छ ।
सुनीलले भन्नुभयो, “आफ्नै ठाउँमा पसिना बगाउन सकियो भने सफल हुन सहर वा विदेश जानै पर्छ भन्ने छैन ।” मुख्य व्यापारका रूपमा चौँरीको दुध, छुर्पी, घिउ, मासु तथा सुकुटी पर्दछन् । पर्यटकीय मौसममा मनाङ र अन्नपूर्ण पदमार्ग क्षेत्रमा यी उत्पादनको माग उच्च हुने भएकाले उहाँहरूले राम्रो बजार पाउनुभएको छ ।
उच्च हिमाली क्षेत्रमा चौँरीपालनमा चरनक्षेत्र घट्दै जानु, जलवायु परिवर्तनका कारण हिमपात र मौसम अनिश्चित हुनु, चौँरीमा लाग्ने रोग, दक्ष जनशक्ति अभाव, हिमाली जीवनको कठोरता लगायतका चुनौती यथावत् नै रहेको सुनील गुरुङ बताउनुहुन्छ ।
– यदुप्रसाद भट्ट
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















