काठमाडौँ, पुस २१ : २४ भदौको अवस्था नियन्त्रणमा लिन आफूले सेना परिचालन गर्न चाहेको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । २३ र २४ भदौको घटना सम्बन्धमा छानबिन गर्न गठित जाँचबुझ आयोगलाई आइतबार लिखित बयानका क्रममा ओलीले सोबारे खुलाएका हुन् ।
बिनाकुनै योजना एकै पटक र कम समयमा यत्रो क्षति पुर्याउन सम्भव नहुने भन्दै योजनाबद्ध घटना भएको दाबी ओलीको छ । आफूले सुरक्षा निकायबाट भरपर्दो सहयोग नपाएको पनि ओलीले लेखेका छन् । ‘२४ भदौको अवस्था नियन्त्रणमा लिन मैले नेपाली सेना परिचालन गर्न चाहेको थिएँ, तर त्यो सम्भव भएन,’ उनको लिखित बयानमा छ ।
ओलीले २४ भदौमा आफूमाथि नियोजित रूपमा आक्रमणको प्रयास भएको दाबी गरेका छन् । बालुवाटारमै प्रवेश गरेर जसरी आक्रमण गरियो, त्यसले उक्त दिन आफ्नो हत्या पनि हुन सक्ने अवस्था भएको दाबी ओलीको छ ।
ओलीले गौरीबहादुर कार्कीले घटनाकै दिन र त्यसअघिपछि सामाजिक सञ्जालबाट धारणा सार्वजनिक गरिसकेकाले निष्पक्ष प्रतिवेदन आउनेमा आशंका रहेको सुरुदेखि नै भन्दै आएको र अहिले पनि यही अडानमा रहेको लिखित जवाफमा पनि उल्लेख गरेका छन् । उनले घटना किन भयो र यसका पछाडि कुन–कुन शक्तिको हात छ त्यसको खोजीनीति र स्पष्ट हुनुपर्ने माग आयोगसमक्ष गरेका छन् ।
यसअघि जाँचबुझ आयोगमाथि नै प्रश्न उठाउँदै सिंहदरबारमा पुगेर बयान नदिने अडान ओलीले सार्वजनिक रूपमै व्यक्त गर्दै आएका थिए । आयोगका पदाधिकारीले भने तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीसँग बयान लिने बताउँदै आएका थिए । दुवै पक्षको अडानका बीचमा सरकारले मध्यस्थता गरी ‘मध्यमार्गी उपाय’ निकालेपछि लिखित जवाफ पेस गरे पनि स्विकार्न आयोग सहमत भएको थियो । ओलीले पनि आफू लिखित रूपमा पेस गर्न तयार रहेको संकेत दिएका थिए । त्यसपछि आयोग टोली आइतबार पत्र लिएर पुगेको थियो ।
ओलीले आफ्नो लिखित बयानमा २२ देखि २४ भदौसम्मका घटना र आयोग अध्यक्ष गौरीबहादुर कार्कीको धारणा यसअघि नै सार्वजनिक भएको प्रसंगसम्म अटाएका छन् । आयोगका एक सदस्यका अनुसार ओलीले सामाजिक सञ्जाल बन्द गर्नुको कारणमा सर्वोच्च अदालतले फैसला गरिसकेको विषय भएको र देशभित्र विदेशी कम्पनीहरूले कर नतिर्नेदेखि नियमनसम्म नगरी चलाउने गरेकाले त्यसो गर्न हुने असल मनसाय रहेको उल्लेख गरेका छन् ।
युवाहरूले काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गर्ने भनी अनुमति लिएको तर त्यसमा घुसपैठ भएको जिकिर ओलीको छ । उनले आन्दोलनमा घुसपैठ भएको र अराजक समूहको प्रवेश भएको आन्दोलनमा संलग्न भएका युवाले नै भनेकाले आफूले थप भन्न नपर्ने लेखेका छन् । उनले २३ भदौमा सुरुमा शान्तिपूर्ण प्रदर्शन हुने भनी माइतीघरबाट जुलुस सुरु भएको तर पछि त्यहाँ घुसपैठ भएको दाबी गरेका छन् । नयाँ बानेश्वर पुगेर संसद् भवन तोडफोड गर्ने काममा संलग्न भएका व्यक्तिहरू आन्दोलनकारी नभई घुसपैठ भएकाहरू भएको उनको भनाइ छ ।
आन्दोलन गर्नेहरू अधिकांश जेन–जी उमेरका नभएको तत्कालीन समयका फोटो र भिडियोहरूमा प्रस्ट देखिने दाबी पनि उनको छ । २२ भदौको बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने र त्यसमा बल प्रयोग नगरी युवा र विद्यार्थीलाई सहयोग गर्ने छलफल भएको ओलीको लिखित जवाफमा उल्लेख छ ।
२३ भदौमा तोडफोड गरिनुका साथै एक्कासि गोली प्रहार हुन थालेपछि आफूले तत्कालीन गृहमन्त्री रमेश लेखकसहित सबै सुरक्षा निकायका प्रमुखहरूको बैठक बोलाएर छलफल गरेको र छानबिन समिति गठनको समेत निर्णय भएको उनको जवाफ छ । त्यसपछि २३ भदौको बेलुका मन्त्रिपरिषद् बैठकबाट घटनाका विषयमा छानबिन गर्न आयोग बनाउने निर्णय गरेको ओलीले बताएका छन् ।
आन्दोलनमा देशभित्रका शक्तिको मात्र हात नभएको अहिले पुष्टि हुँदै आएको दाबी ओलीको छ । ‘सरकार गठनदेखि विभिन्न काममा अहिले जसरी भूराजनीतिक खेल भएका छन्, त्यसले यो आन्दोलनमा घुसपैठ भएको पुष्टि गर्ने’ उनले उल्लेख गरेका छन् । २४ भदौमा जसरी विध्वंसका घटनाहरू भए त्यो योजनाबद्ध नै भएको दाबी पनि ओलीको छ । उनले केही अराजक समूहहरूले योजना नै बनाएर संसद् भवन, सर्वोच्च अदालत, प्रधानमन्त्री निवास, राष्ट्रपति भवनदेखि व्यक्तिगत सम्पत्तिमा समेत क्षति पुर्याएको बताएका छन् ।
बिनाकुनै योजना एकै पटक र कम समयमा यत्रो क्षति पुर्याउन सम्भव नहुने भन्दै योजनाबद्ध घटना भएको दाबी ओलीको छ । आफूले सुरक्षा निकायबाट भरपर्दो सहयोग नपाएको पनि ओलीले लेखेका छन् ।
आइतबार नै ओलीले राष्ट्रिय मानवअधिकार आयोग पुगेर उक्त घटनाबारे साढे दुई घण्टा लामो बयान पनि दिएका छन् । ओली मानवअधिकार आयोगमा बयान दिन जाने तयारी गर्दै गर्दा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको जाँचबुझ आयोगको टोली ‘बयान दिन’ आग्रहसहितको पत्र लिएर ओली निवास गुन्डु पुगेको थियो ।
ओलीले गुन्डु पुगेका आयोग टोलीलाई लिखित रूपमा पहिल्यै तयार पारिएको आफ्नो भनाइ दिएर पठाएका थिए । संयोगले दुवै आयोगले एकै दिन तत्कालीन प्रधानमन्त्री ओलीलाई बयान लिने र बयान लिन बोलाउने काम गरेका थिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















