01/05/2026, 10:43:04
सोमबार, पुष २१, २०८२

ट्राफिक प्रहरीलाई ठक्कर दिएर फरार कार चालक पक्राउ


हेटौँडा, पुस २० गते । हेटौँडामा ट्राफिक प्रहरीलाई ठक्कर दिएर फरार भएका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–५, गर्दैई बस्ने ४६ वर्षीय वासुदेव आचार्य रहेका छन् ।

पूर्व–पश्चिम राजमार्गमा गत बिहीबार ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) चेकजाँच गरिरहेका बेला बा ६ च ८४०९ नम्बरको कार चालक आचार्यले अचानक सिसा बन्द गरी गाडी चलाउँदै भाग्ने क्रममा ड्युटीमा खटिएका ट्राफिक प्रहरी विजयप्रताप शाहलाई ठक्कर दिएका थिए ।

ठक्करबाट प्रहरी शाह करिब १० मिटर घिसारिएर घाइते हुनुभएको थियो, भने मापसे परीक्षणका लागि प्रयोग भइरहेको ब्रेथलाइजर समेत लिएर चालक फरार भएका थिए ।

blog

घटनापछि फरार रहेका चालक आचार्यलाई खोज-तलासका क्रममा शुक्रबार चितवनको भरतपुरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

पक्राउ परेका चालक र कारलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा घाइते भएका ट्राफिक प्रहरी शाहको टाउकोमा १२ टाँका लगाइएको छ भने उहाँको अवस्था हाल सामान्य रहेको जनाइएको छ ।

– अनिल पराजुली