12/25/2025, 12:02:01
बिहिबार, पुष १०, २०८२

पर्वले एकताबद्ध भई अघि बढ्न प्रेरणा मिल्छ : मुख्यमन्त्री बानियाँ


हेटौँडा, पुस १० गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पर्व–उत्सवहरूले सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ बनाइ समाजवादको लक्ष्य हासिल गर्न सबैलाई एकताबद्ध भई अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

क्रिसमस पर्व २०८२ को अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री बानियाँले देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्नुभएको छ ।

शुभकामना सन्देशमा उहाँले मानव जगतलाई मुक्तिको सुसमाचार सुनाउने उद्देश्यले प्रभु येशू ख्रीष्टको जन्म भएको उल्लेख गर्नुभएको छ । येशू ख्रीष्टले संसारमा रहँदा मानव जातिलाई आशा, विश्वास र प्रेमको शिक्षा दिँदै असल मार्गमा हिँड्न प्रेरित गरेको बाइबलमा उल्लेख रहेको उहाँको भनाइ छ ।

येशू ख्रीष्टका उपदेश र क्रिसमस पर्वबाट प्राप्त प्रेरणाले मानव जातिमा प्रेम, सद्भाव, करुणा र शान्तिको अनुभूति गराउने र यसले परिवार, समाज तथा राष्ट्रको समृद्धि र कल्याणका लागि नयाँ ऊर्जा प्रदान गर्ने मुख्यमन्त्री बानियाँले विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएको उल्लेख गर्दै उहाँले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान भएको बताउनुभएको छ । प्रत्येक जातजाति र समुदायको आ–आफ्नै सांस्कृतिक महत्त्व बोकेको मौलिक परम्परा रहेको उल्लेख गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्रका रूपमा रहेको हाम्रो मुलुकको राष्ट्रिय संस्कृतिको एक महत्त्वपूर्ण अङ्गका रूपमा क्रिसमस पर्व पनि स्थापित हुँदै गएको बताउनुभएको छ ।

मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकार धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै सबै समुदायबीच एकता र सहअस्तित्व कायम राख्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ । प्रदेशभित्र बसोबास गर्ने विभिन्न जातजातिका संस्कृति संरक्षण तथा प्रवद्र्धन गर्दै तिनको विकासका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार सदैव तयार रहेको विश्वाससमेत उहाँले दिलाउनुभएको छ ।

– अनिल पराजुली