02/13/2026, 00:24:24
बिहिबार, माघ २९, २०८२

भरतपुर महानगरपालिकाको २९ वडामा सीसी क्यामरा जडान


चितवन, पुस ७ गते । भरतपुर महानगरपालिकाका मुख्य चोक र बजार क्षेत्रमा सीसी क्यामराबाट निगरानी बढाइने भएको छ । नेपाल टेलिकम भरतपुर र जिल्ला प्रहरी कार्यालय चितवनको सहकार्यमा महानगरपालिकाका २९ वटै वडाका मुख्य चोक र मूल सडकमा सीसी क्यामरा जडान गरी निगरानी बढाउने तयारी गरिएको हो ।

सोमबार महानगरपालिका अगाडि ६ लेन सडकमा क्यामरा जडान गरी यसको शुरुआत गरिएको छ । सीसी क्यामेरा जडानको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै महानगर प्रमुख रेनु दाहालले जडान गरिने क्यामेरा उच्च क्षमताका हुने बताउनुभयो ।

उहाँले महानगरका दुई सयभन्दा बढी स्थानमा चार सयभन्दा बढी क्यामेरा जडान गरिने बताउनुभयो । महानगर प्रमुख दाहालले आधुनिक सहर बनाउने अभियान अन्तर्गत सिसी क्यामेरा जडानको काम सुरु गरिएको बताउनुभयो । सुरक्षित र भयरहित तवरले जनता बाँच्न पाउनुपर्ने भन्दै यो योजना अघि बढाइएको उहाँको भनाइ थियो ।

महानगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार २९ वटै वडाका मुख्य स्थानमा पहिलो चरणमा ४१८ क्यामेरा जडान गर्न लागिएको हो । जडान गरिने क्यामरा चार अटोमेटिक नम्बर प्लेट रिकोनाइजेसन (एएनपिआर) सहित उच्च क्षमताका भिएमएस सहितका हुनेछन् । सिनर्जी आइटी सोलुसन प्रा.लि ले पाँच करोड ५८ लाख २० हजार ६४९ को लागतमा क्यामेरा जडानको काम गर्दैछ ।

जिल्ला प्रहरी कार्यालयमा कन्ट्रोल रुम रहने गरी जडान गरिने सीसी क्यामेराको सञ्चालन नेपाल टेलिकमको फाइबरमार्फत गरिने छ । यो कार्यक्रम महानगरपालिकाले नेपाल टेलिकमसँग सम्झौता गरेर काम अघि बढाएको छ ।

– शान्ता अधिकारी