01/05/2026, 09:54:01
सोमबार, पुष २१, २०८२

आफैँले दिएको अनुमति रद्द गराउँदै शिक्षा मन्त्रालय


काठमाडौँ, पुस २० गते । वैदेशिक शिक्षा स्वदेशमा भित्र्याउने नाममा यहाँ सञ्चालित केही शिक्षण संस्थाले मनपरी रूपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरेको पाइएको छ ।

यस्ता केही शिक्षण संस्थाको बदमासीका कारण विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा पढाइ सञ्चालन गरिरहेका समग्र शैक्षिक संस्थाप्रति नै नकारात्मक सन्देश गएको छ । साथै यस्तो बेतिथि रोक्न नसकेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमाथि पनि पटक पटक असन्तुष्टि थोपरिने गरेको छ ।

पछिल्लो समय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयको सम्बन्धनमा शैक्षिक कार्यव्रक्रम सञ्चालन गरेका यहाँका तीन वटा शैक्षिक संस्थालाई चेतावनीका रूपमा पत्राचार गरेर प्रचलित विधि अनुसार मात्रै शैक्षिक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयको उच्च शिक्षा शाखाका अनुसार थापाथलीमा सञ्चालित द ब्रिटिस कलेज, लगनखेलमा सञ्चालित एकेडेमी अफ कुलिनरी आर्टस्  र तीनकुनेमा सञ्चालित आइएसएमटी कलेजलाई पत्राचार गरिएको छ ।

द ब्रिटिस कलेजले बेलायतको दुई वटा विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यसले बेलायतको युनिभर्सिटी अफ द वेस्ट इङ्ग्ल्यान्ड र लिड्स बेकेट युनिभर्सिटीको स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

एउटै संस्थाले दुई वटा विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालन गर्न नपाउने नियम रहे पनि द ब्रिटिस कलेजले अटेरी गरेर चलाइरहेको र दुईमध्ये एउटा विश्वविद्यालयको शैक्षिक कार्यक्रम मात्रै सञ्चालन गर्न पत्राचार गरिएको मन्त्रालयका उपसचिव परशुराम तिवारीले बताउनुभयो ।

त्यस्तै आइएसएमटी कलेजले पनि बेलायतको सुन्दरल्यान्ड विश्वविद्यालयको सम्बन्धनमा स्नातक तथा स्नातकोत्तर तहको र बेलायतकै पिअर्सन एडेक्सेलको सम्बन्धनमा डिप्लोमा तहको शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । यस कलेजलाई पनि डिप्लोमा तहको शैक्षिक कार्यक्रम बन्द गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै एकेडेमी अफ कुलिनरी आर्टस्ले मेलेसियाको लिङ्कन विश्वविद्यालयसँगको सम्बन्धनमा स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम र डिप्लोमा तहको विभिन्न व्यावसायिक तथा सिपमूलक कोर्स पनि सँगसँगै सञ्चालन गरिरहेको छ । यस संस्थाले पनि अब दुईमध्ये एक वटा शैक्षिक कार्यक्रम मात्रै स ञ्चालन गर्नुपर्ने छ ।

विदेशी विश्वविद्यालयको शैक्षिक कार्यक्रम नेपालमा सञ्चालन गर्न पाउने भनेको स्नातक तहको मात्रै हो । तर हामीकहाँ त डिप्लोमा तहको कार्यक्रम पनि सञ्चालन भइरहेको छ, एकै संस्थाले दुई वटा विश्वविद्यालयको शैक्षिक कार्यक्रम पनि चलाइरहेको छ, मन्त्रालयका उच्च शिक्षा शाखाका उपसचिव तिवारीले भन्नुभयो, “विगतमा खै कसरी यस्तो भयो ? ऊ बेलामा गरिएको गल्ती अहिले हामीले सच्याउनुपर्ने भएको छ ।

कतिसम्म भने द ब्रिटिस कलेजले त विद्यार्थीलाई क्रेडिट ट्रान्सफरको नाममा नेपालमा भर्ना गराएर विद्यार्थीलाई थप अध्ययनका लागि विदेशी मुलुकका अन्य विश्वविद्यालयमा समेत लैजाने गरेको छ । जब कि नेपालमा क्रेडिट ट्रान्सफरका लागि बल्ल विश्वविद्यालय अनुदान आयोगले कार्यविधि बनाउँदै छ ।

केही समयअघि द ब्रिटिस कलेजमा भर्ना गराएर विद्यार्थीलाई क्रेडिट ट्रान्सफरको नाममा दुबई पु¥याएको र विद्यार्थीसँग गरिएको सर्तबमोजिम त्यहाँ सुविधा नभएको भन्दै केही विद्यार्थीले स्वदेश आएर आन्दोलन गरेका थिए । विद्यार्थी आन्दोलन चर्केपछि मन्त्रालयले उच्च शिक्षा शाखाका प्रमुख तिवारीकै संयोजकत्वमा कार्यदल गठन गरेर अध्ययन गरेको थियो ।

उक्त कार्यदलले मन्त्रीलाई प्रतिवेदनसमेत बुझाइरहेको छ । प्रतिवेदनमा ब्रिटिस कलेजले क्रेडिट ट्रान्सफरको नाममा विद्यार्थी दुबई पठाउनुलाई मुख्य गल्ती औँल्याइएको छ । उक्त प्रतिवेदन अनुसार कारबाही प्रक्रिया अघि बढिसकेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बताउनुभयो । तर के कारबाही भयो भन्ने विषयमा भने उहाँले केही पनि खुलाउनुभएको छैन ।

– सूर्यप्रसाद पाण्डे