01/05/2026, 15:51:43
सोमबार, पुष २१, २०८२

ओली-प्रचण्डबाट देउवालाई घातैघात, राष्ट्रिय सभा निर्वाचनमा नपाउने भए साथ


काठमाडौं, २० पुस । आसन्न राष्ट्रिय सभाको निर्वाचनलाई लिएर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटघाट बढाएका छन् । आज (आइतबार) पनि एमाले अध्यक्ष ओली र नेकपाका संयोजक प्रचण्डबीच ‘वान टू वान’ वार्ता भएको छ ।

उनीहरुबीच राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन गरेर जाने र उक्त गठबन्धनलाई आसन्न फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनसम्म नै निरन्तरता दिनेबारे छलफल भएको स्रोतले बतायो । राष्ट्रिय सभामा दलहरु एक्लाएक्लै चुनाव लड्ने हो भने नेपाली कांग्रेसले १५ सिट र एमालेले कोशी प्रदेशअन्तर्गतका ३ सिट जित्ने निश्चित छ । यद्यपि एमाले र नेकपाले चुनावी तालमेल गरेको खण्डमा कांग्रेसले सबै ठाउँबाट हात धुनुपर्ने हुन्छ ।

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग चुनावी तालमेल गरेको खण्डमा थोरै सिट भागमा पर्ने भएपछि ओलीले प्रचण्डलाई विश्वास पात्रको रुपमा रोजेका हुन् । यदि गठबन्धन नगर्ने र एक्लाएक्लै राष्ट्रिय सभाको निर्वाचनमा जाने हो भने प्रचण्ड नेतृत्वको नेकपाले कतै पनि नजित्ने निश्चित छ । यसो त एमालेको वैशाखीमा प्रचण्ड पनि आफ्नो विरासत जोगाउन चाहन्छन् ।

यता एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग बार्गेनिङ बढाउन पनि प्रचण्डसँग नजिकिएको हुन सक्ने धेरैको अनुमान छ । विघटित प्रतिधिसभामा दुई ठूला दल कांग्रेस र एमाले मिलेर यसअघिको सरकार बनेको थियो । जेन–जी आन्दोलनको क्रममा ओली सत्ता च्यूत भए पनि प्रदेश सरकारहरु एमाले–कांग्रेस गठबन्धनको नै छ । यसरी प्रचण्ड र ओली मिलेर राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन गर्दैैगर्दा प्रदेश सरकारमा पनि फेरबदल आउने सम्भावना प्रवल रहेको छ ।

यता वामपन्थीबाट पटक–पटक धोका पाएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि एक पटक ओलीबाट धोका खाने निश्चित भएको छ । गत २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले तत्कालीन माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो । पछि प्रचण्डले ओलीलाई साथमा लिएर सरकार बनाए । देउवाले त्यतिबेला पनि धोखा पाए । पुनः सत्ता समीकरणमा फेरबदल आयो र प्रचण्डले काँध फेरेर कांग्रेसलाई सत्तामा पुर्याए । एमाले सत्ताबाट बाहिरियो । प्रचण्डपछि देउवा प्रधानमन्त्री बन्ने सहमति भएको थियो । तर, एकाएक प्रचण्डले देउवालाई फेरि धोका दिएर ओलीसँग मिल्न गए ।

यसरी ओली–प्रचण्डको धोखाधडीबाट आजित भएका देउवाले अन्ततः ओलीसँग मिलेर सरकार बनाए । आफू चुनावी सरकारको प्रधानमन्त्री बन्ने शर्तमा उनी चुप बसिरहे । ओलीका अनेकौं चित्त नबुझ्दा निर्णयलाई पनि देउवाले टुलुटुलु हेरेर बसे । तर, देउवाको प्रधानमन्त्री बन्ने सपना गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले चकनाचुर पारिदियो । यता संसद् पुनर्स्थापना गरेर संविधानको धारा ७६ (३) अनुसारको सरकार बनाउन सकिने भन्दै ओलीले देउवालाई ललिपप देखाए । तर, संसद् विघटनविरुद्धको मुद्दा आसन्न प्रतिनिसभा निर्वाचन अगाडि छिनिने छाँट छैन ।

यसरी ओली–प्रचण्डबाट पटक–पटक धोका व्यहोर्दै आएका देउवाले फेरि एक पटक राष्ट्रिय सभा र प्रतिनिधिसभाको निर्वाचनमा धोखा सहनुपर्ने निश्चितप्राय छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..