12/23/2025, 11:12:30
मङ्गलबार, पुष ०८, २०८२

‘प्रतिवैरम’ को प्रतीक्षामा सम्राट


काठमाडौँ, पुस ८ गते । सर्लाहीमा जन्मनुभएका सम्राट दास चलचित्र क्षेत्रमा उदाउँदो कलाकारका रूपमा स्थापित बन्ने सपना बोकेर यस क्षेत्रमा लाग्नुभएको छ । यात्रा सङ्घर्ष, त्याग र सपनाप्रतिको अटुट विश्वासले भरिएका उहाँका कथाले आजका हजारौँ युवाको प्रतिनिधित्व गर्छ । आफ्नो ‘क्यारियर’ कलाकारितामै बनाउने निर्णय गरे पनि आर्थिक अवस्था र पारिवारिक जिम्मेवारीका कारण सम्राटले आफ्नो सपना केही समयका लागि रोक्नुभयो । उहाँले अभिनयलाई भन्दा पनि पढाइलाई प्राथमिकता दिने निर्णय गर्नुभयो ।

अध्ययनकै क्रममा उहाँले आत्मनिर्भर बन्ने उद्देश्यले धरानमा रेस्टुरेन्ट व्यवसाय सुरु गर्नुभयो तर कोभिड–१९ महामारीका कारण व्यवसायमा ठुलो क्षति भयो । उहाँलाई आफू व्यवसायमा सफल नभएकोमा कुनै पछुतो थिएन । यसले उहाँलाई झन् जीवनको वास्तविकता बुझ्ने र मानसिक रूपमा बलियो बनाउने काम ग¥यो ।

यसबिच उहाँले ‘रङ कडा’ र ‘आदत’ जस्ता म्युजिक भिडियोमार्फत आफ्नो अभिनय यात्रालाई अगाडि बढाइसक्नुभएको थियो । ‘आफ्नै स्वार्थ’ चलचित्रमा पनि ‘क्यामियो’ भूमिका निर्वाह गरिसक्नुभएको थियो । अध्ययन पूरा गरेपछि सम्राटले अभिनय क्षेत्रमा पुनः प्रवेश गर्ने सोच बनाउनुभयो । उहाँले भन्नुभयो, “सङ्घर्षबाट आएको अनुभव र त्यसबाट प्राप्त आत्मविश्वासले मलाई यस पटक सफल हुन्छु भन्ने विश्वास पनि छ ।

सम्राट ‘प्रतिवैरम’ मार्फत मुख्य कलाकारका रूपमा पदार्पण गर्दै हुनुहुन्छ । सम्राटलाई निर्देशक रोशन दासले चलचित्रमा प्रमुख पात्रको भूमिका गर्ने हो भनेर प्रश्न गर्नुहुँदा के भनेको होला जस्तो लागेको थियो । एकछिन त नर्भस नै भएको थिएँ । विस्तारै काम गर्दै जाँदा सबै कुरा सामान्य लाग्दै जाँदो रहेछ, उहाँले भन्नुभयो, “अब म ‘प्रतिवैरम’ को प्रतीक्षामा छु ।