काठमाडौँ, पुस १४ गते । चलचित्र ‘बिगुल’ मा समावेश ‘आउ यस्तो देश बनाऔँ’ बोलको गीत आइतबार सार्वजनिक गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको शब्द र सङ्गीत रहेको गीत राजेशपायल राईले गाएका हुन् । गीतमा चलचित्रका सबै प्रमुख कलाकार प्रस्तुत भएका छन् ।
रमेश कोइरालाको निर्देशन तथा दिनेश कोइरालाको कथा र निर्माण रहेको चलचित्र माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदै छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा, समावेशिता, देशप्रेम, राष्ट्रभक्ति शान्ति र जनजागरणको सन्देश प्रस्तुत गरिएको छ । गीतमा आम जनताको आवाज मुखरित भएको दाबी निर्माण पक्षको छ ।

चलचित्र भुइँमान्छेको कथा र समृद्ध नेपालको कल्पनालाई आह्वान गरिएको चलचित्र हो, निर्देशक कोइरालाले भन्नुभयो, “देशको समसामयिक घटनाक्रम अनि राजनीतिक विषयमा आधारित कथावस्तु भए पनि चलचित्र पूर्ण व्यावसायिक ध्येयले निर्माण गरेका हौँ । चलचित्रमा समाज जागरणको सन्देशका साथमा भरपुर मनोरञ्जन प्रस्तुत गरेका हौँ ।”

जेन-जी आन्दोलनप्रति समर्पित चलचित्रमा बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर बाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे लगायतको अभिनय छ । शिव ढकालको छायाङ्कन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनबी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको सङ्गीत रहेको चलचित्रकोे सम्पादन तारा थापा ‘किम्भे’ ले गर्नुभएको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










