डोटी, पुस २९ : साँझपख गाउँको चौतारो होस् या मेलापातमा गुञ्जिने लोकभाका, डोटीका स्वर सधैं मौलिक र शक्तिशाली छन्। तर स्वर त थियो, अवसर थिएन। यही अभावलाई चिर्दै डोटी जिल्लामा पहिलो पटक ‘डोटी आइडल’ आयोजना हुँदैछ – जहाँ गाउँ–गाउँमा लुकेका आवाजले पहिलो पटक औपचारिक मञ्च पाउनेछन्।
डोटी उद्योग वाणिज्य संघको आयोजनामा डोटीमा फागुन १ गतेदेखि सुरु हुने डोटी महोत्सव २०८२ ले यसपटक मनोरञ्जनसँगै सम्भावनाको ढोका खोल्दैछ। महोत्सवकै विशेष आकर्षणका रूपमा समावेश गरिएको ‘डोटी आइडल’ केवल प्रतियोगिता मात्रै होइन, जिल्लाका युवापुस्ताका सपना बोल्ने मञ्च बन्ने आयोजकको विश्वास छ।
डोटीका धेरै युवा गायनमा अब्बल छन्। लोकगीत, देउडा, आधुनिक तथा भजनसम्म सहजै गाउने उनीहरू अहिलेसम्म माइक र स्टुडियोभन्दा टाढै थिए। ‘डोटी आइडल’ त्यही दूरी मेटाउने प्रयास हो। स्वरका धनी भए पनि गीत रेकर्ड गर्ने अवसर नपाएका प्रतिभालाई खोज्ने, चिनाउने र अघि बढाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको आयोजक बताउँछन्।
पालिकाबाट छनोट, दिपायलमा प्रतिस्पर्धा
प्रतियोगितामा १२ देखि ४० वर्ष उमेर समूहका डोटी जिल्लाभित्रका नवप्रतिभा गायक–गायिकाले सहभागिता जनाउन सक्नेछन्। अडिसनको पहिलो चरणमा प्रत्येक स्थानीय तहबाट ३/३ जना प्रतियोगी छनोट गरिनेछ। छनोटमा पर्नेहरूका लागि यो केवल प्रतिस्पर्धा होइन, आत्मविश्वास र पहिचानको यात्रा हुनेछ।
प्रारम्भिक चरण पार गरेका प्रतियोगीहरूलाई महोत्सव स्थल दिपायलमा हुने फाइनल चरणमा प्रवेश गराइनेछ। फाइनल चरणमा उनीहरूको मूल्यांकन नेपालका ख्यातिप्राप्त गायक, संगीतकर्मी तथा सांगीतिक विज्ञ सम्मिलित निर्णायक मण्डलले गर्नेछन्।

टप थ्रीलाई गीत रेकर्ड, सपनालाई गति
डोटी आइडलको अन्तिम चरणमा उत्कृष्ट ठहरिने टप थ्री गायक–गायिकालाई व्यावसायिक गीत रेकर्ड गर्ने अवसर, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिनेछ। आयोजकका अनुसार यो पुरस्कारभन्दा ठूलो उपलब्धि भनेको राष्ट्रिय संगीत बजारमा प्रवेश गर्ने ढोका खुल्नु हो।
प्रतियोगितामा सहभागी हुन इच्छुकले २०८२ माघ १५ गतेभित्र डोटी उद्योग वाणिज्य संघको सचिवालयमा नाम दर्ता गराउनुपर्नेछ। दर्ता गरेका प्रतियोगीहरूले दुईवटा फरक–फरक विधाका गीत भिडियोसहित अडियो रेकर्ड गरेर पठाउनुपर्ने व्यवस्था गरिएको छ।
‘डोटीको मौलिक स्वर देशभर पुर्याउने लक्ष्य’
डोटी उद्योग वाणिज्य संघका अध्यक्ष विक्रम साउँद भन्छन्, ‘डोटी आइडल केवल प्रतियोगिता होइन, यो जिल्लाको मौलिक कला र प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्याउने अभियान हो।‘ उनका अनुसार यसले युवामा सिर्जनात्मक ऊर्जा बढाउने मात्र होइन, सांस्कृतिक पहिचानलाई समेत बलियो बनाउनेछ।
पहिलो पटक आयोजना हुन लागेको ‘डोटी आइडल’ले डोटीका गाउँ–बस्तीमा गुञ्जिरहेका स्वरलाई अब मञ्च र माइकसम्म पुर्याउने अपेक्षा गरिएको छ। स्वर त पहिल्यै थियो, अब पालो अवसरको हो।
– मोहन पनेरु
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













