01/13/2026, 10:53:25
मङ्गलबार, पुष २९, २०८२

टिकटको तीन रुपियाँले मुटु अस्पताल


बुटवल, पुस २९ गते । बुटवलमा हरेक वर्ष आयोजना हुने औद्योगिक प्रदर्शनी तथा मेला महोत्सवबाट सुरु भएको सामाजिक पहलले साकार रूप लिँदा सामुदायिक मुटु तथा डायलासिस सेवा केन्द्र  बनेको छ ।

२०४५ सालमा रुपन्देही उद्योग सङ्घले औद्योगिक प्रदर्शनी आयोजना गरेको थियो । स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले सुरु गरिएको प्रदर्शनीबाट १५ वर्षअघि सङ्घले प्रवेश शुल्कको केही अंश सामाजिक क्षेत्रमा लगानी गर्ने निर्णय ग¥यो । दर्शक प्रवेश शुल्कबाट प्रतिटिकट तीन रुपियाँ छुट्याएर मुटुरोग उपचारका लागि अस्पताल स्थापना गर्ने निर्णय गरिएको थियो ।

उद्योग सङ्घको पहलमा २०७० सालमा बुटवलमा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल  स्थापना भयो । प्रारम्भिक चरणमा सङ्घले चार लाख २३ हजार ४९० रुपियाँ अस्पतालका लागि छुट्याएको थियो । हाल करिब पाँच करोड रुपियाँ लगानीमा सञ्चालन भइरहेको अस्पताल गैर-नाफामूलक संस्था हो । सुरुमा मुटुरोग उपचारबाट सेवा आरम्भ गरेको अस्पतालले दुई वर्षपछि मिर्गौलारोगको उपचारसमेत थालेको छ । बुटवलको रामनगरस्थित अस्पतालले लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा डायलासिस सेन्टर सञ्चालन गर्दै आएको छ ।

लुम्बिनी प्रदेशमा हाल ८५१ मिर्गौला रोगीलाई डायलासिस आवश्यक रहेकोमा अस्पतालले ५५१ जनालाई नियमित तथा निःशुल्क डायलासिस सेवा दिइरहेको जनाएको छ । तीमध्ये बुटवलका ३११, दाङको लमहीका ५७, पाल्पाका ५९, स्याङ्जाको वालिङका ६७ र कपिलवस्तुका ५७ जना बिरामी छन् ।

blog

अस्पतालका अनुसार हालसम्म तीन लाख ३३ हजार ७२१ पटक बिरामीलाई निःशुल्क डायलासिस सेवा प्रदान गरिएको छ । यस आर्थिक वर्षमा मात्रै ५६ हजार ४३७ सेसन डायलासिस गरिएको अस्पतालले दाबी गरेको छ । २० वटा डायलासिस मेसिनमार्फत चौबिसै घण्टा सेवा सञ्चालन भइरहेको अस्पतालले जनाएको छ ।

सरकारले प्रतिपटक दुई हजार पाँच सय रुपियाँका दरले बिरामीलाई शोधभर्ना दिने व्यवस्था गरेको छ । जस अनुसार यस वर्ष मात्रै करिब १३ करोड ९४ लाख ६५ हजार रुपियाँ बराबरको सेवा प्रदान गरिएको अस्पतालको दाबी छ । अस्पतालमा मिर्गौलारोग विशेषज्ञ डा. रजत कायस्थको नेतृत्वमा ३५ स्वास्थ्यकर्मी कार्यरत छन् भने कुल कर्मचारी तीन सयभन्दा बढी रहेका छन् । अस्पतालले सरकारी दररेटमै ओपिडी तथा परीक्षण सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

सो केन्द्रलाई तिलोत्तमा नगरपालिका–४ मा १० बिघा जग्गा उपलब्ध गराउने घोषणा भए पनि हालसम्म औपचारिक रूपमा अस्पतालको स्वामित्वमा जग्गा आउन सकेको छैन । जग्गा प्राप्त नहुँदा भवन निर्माण प्रक्रिया प्रभावित भएको अस्पतालले जनाएको छ । अस्पतालले जग्गा प्राप्त भएको एक वर्षभित्र दुई सय शøयाको अस्पताल सञ्चालन गर्ने र दीर्घकालमा आठ सय शøयासम्म विस्तार गर्ने लक्ष्य लिएको छ ।