12/30/2025, 21:33:15
मङ्गलबार, पुष १५, २०८२

शीतलहरले दाउन्नेमा सवारी आवागमनमा सकस, यी हुन् वैकल्पिक मार्ग


परासी, पुस १५ : शीतलहरका कारण सडक चिप्लो भएर पूर्वपश्चिम राजमार्गको दाउन्ने  खण्डमा तीन दिनदेखि सवारी आवागमन प्रभावित भएको छ।

शीतले गर्दा ठूला र मालबाहक गाडी उकालो चढ्न नसक्ने र ओरालोमा चिप्लिने समस्या हुँदा सवारीको जाम लागेको ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका वरिष्ठ सही प्रेम पोखरेलले बताए ।

बुटवल-नारायणगढ सडक विस्तार अन्तरगत अहिले दाउन्ने खण्डमा एकतर्फी सवारी सञ्चालन गरेर ढलान, कल्भर्ट निमार्णको काम भइरहेको छ।

दाउन्ने खण्डको १४ किलोमिटर क्षेत्र पार गर्न अहिले ५/६ घण्टा लाग्ने गरेको छ। ठूला सवारीलाई डोजरले धकेल्नुपर्ने अवस्था रहेको छ । तीन दिनदेखि यातायात असहज हुँदा यात्रुले सास्ती भोग्नुपरेको छ ।

दाउन्ने खण्डमा यातायात सञ्चालनमा समस्या आएपछि बुटवल-नारायणगढ सडक विस्तार आयोजना पश्चिम खण्डले सूचना जारी गर्दै वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

आयोजनाको पश्चिम खण्डका सूचना अधिकारी विकास खनालका अनुसार दाउन्नेमा यात्रा गर्दा समस्या बढी हुने भएकाले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको हो। सडक लेनको पालना नगर्दा पनि यो क्षेत्रमा जाम धेरै हुने गरेको छ ।

दाउन्नेमा सवारी अवरुद्ध हुँदा दुई पांग्रे र फोर ह्विलर साना गाडी पश्चिमबाट पूर्वतर्फ आउँदा बर्दघाटको भुताहा, संसारकोट, पटुके, डाडाजोर हुँदै दुम्कीबास निस्कन सहज मानिन्छ ।

१५ किलोमिटर लामो यो सडक ४ किलोमिटर कालोपत्र छ। बाँकी कच्ची र साँघुरो भएकाले, स्कारपियो, फोर ह्विलर जिपका लागि सहज हुने छ । ठूला र भारी सवारीसाधनलाई यो खण्ड उपयुक्त मानिँदैन ।

सडक विभाग र ट्राफिक प्रहरीले भने यो सडक खण्ड भएर सवारी सञ्चालन गर्न औपचारिकरूपमा सुझाव दिँदैनन् । नारायणगढबाट पश्चिम जाने सवारीलाई पूर्वी नवलपरासीको गैंडाकोटदेखि कालीगण्डकी करिडोर हुँदै पाल्पा निस्किएर बुटवल जान सकिन्छ। यो खण्डमा मिनी बस र यात्रुवाहक बस सञ्चालन गर्न सकिने छ । ठूला सवारी र मालवाहक ट्रकले चितवनको मुग्लिनबाट पोखरा, पाल्पा हुँदै बुटवल निस्कनु सकिने विकल्प छ ।

– नवीन पौडेल