नवलपरासी, फागुन १ गते। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले आगामी निर्वाचनमा कांग्रेसलाई सय सिट पार गराउने लक्ष्य रहेको बताएका छ्न् । उनले अबको दिशा सय सिट पार गराएर सभापति गगनकुमार थापालाई प्रधानमन्त्री बनाउनु रहेको बताए ।
बर्दघाट नगरपालिका वडा नम्बर १६ मा आज चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै चौधरीले सोही अनुरुप कार्यकर्ता र आम शुभेच्छुकहरुलाई चुनावमा खटिन आग्रह गरे ।कांग्रेसको एकरुपता र जनलहर देखेर केही प्रतिस्पर्धीहरू अताल्लिएको र हतोत्साहित भएर विभिन्न चलखेलहरू शुरू भए पनि क्रमिक रुपमा त्यो घट्दै गएको उल्लेख गर्दै उनले सबैलाई उत्साहपूर्वक चुनावमा होमिन अनुरोध गरे ।
बदलिएको कांग्रेसलाई आगामी १० वर्षसम्म कसैले पनि औँला उठाउन नसक्ने ठाउँमा पुर्याउनु पर्नेमा चौधरीले जोड दिए । फरक प्रसङ्गमा बोल्दै उनले बर्दघाट १६ मा रहेको सूर्य नगर रङ्गशालालाई यो क्षेत्रकै नमूना रङ्गशाला निर्माण गर्न सकिने उल्लेख गर्दै त्यसका लागि आफू प्रतिबद्ध रहेको बताए ।
“नेपाली क्रिकेट कप्तान रोहित पौडेल जन्मिएको यस क्षेत्रमा रहेको सूर्य नगर रङ्गशालालाई नमूना रङ्गशालाको रूपमा विकास गरी भोलिका दिनमा यहीँ टी-२० खेलाउन सक्ने गरी सबै लागौँ, म प्रतिबद्ध छु”, उनले भने ।
बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले चौधरीको तीन वर्षे कार्यकालमा थुप्रै उपलब्धिहरू हासिल भएको उल्लेख गर्दै अधुरा योजनाको पूर्णता र ५ वर्षे स्थायी कार्यकालका लागि उम्मेदवार चौधरीलाई विजयी गराउनु पर्ने बताए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







