01/13/2026, 10:53:25
मङ्गलबार, पुष २९, २०८२

सम्मान र सभापति जोगाउन सम्झौता गर्नैपर्ने विन्दुमा देउवा


काठमाडौँ, पुस २९ : कांग्रेस विभाजनको डिलमा पुगेपछि सभापति शेरबहादुर देउवा  र विशेष महाधिवेशन  पक्षधर नेताहरू सोमबार रातिदेखि निर्णायक छलफलमा जुटेका छन् । देउवाले आफ्ना प्रतिनिधिहरू खटाएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले राति साढे १० बजे ‘बटमलाइन’ अघि सारेका छन् ।

दुई महामन्त्रीले संस्थापनसँग वार्ता गर्न प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे  रहेको चार सदस्यीय कार्यदल पनि बनाएका छन् । यद्यपि कार्यदल सदस्य पौडेलले राति मोटामोटी कुराकानी गर्ने तर निर्णायक छलफल मंगलबार बिहान मात्र हुने बताए ।

यसैबीच थापा र शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्का  तथा संस्थापनपक्षका नेताहरू बालकृष्ण खाण र रमेश लेखकसँग भेट गरेका थिए । उनीहरूले विशेष महाधिवेशनको नीति र निर्णयलाई पार्टीले स्वामित्व लिनुपर्ने पहिलो सर्त अघि सारेका छन् ।

महामन्त्रीद्वयले विशेष महाधिवेशनले पारित गरेका नीति तथा कार्यक्रमको स्वामित्व समग्र पार्टीले लिनुपर्ने, २९ असोजको केन्द्रीय कार्यसमिति बैठकमा आफैंले घोषणा गरेजस्तै देउवा पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुनुपर्ने, निर्वाचन आयोगमा उम्मेदवारले बुझाउने टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर हुनुपर्ने र देउवा स्वयंले पनि यसपालिको निर्वाचन नलड्ने घोषणा गर्नुपर्ने ‘बटमलाइन’ प्रस्तुत गरेका छन् ।

उनीहरूले आगामी निर्वाचनमा अन्य कुनै पनि दलसँग गठबन्धन नगर्ने नीतिमा पनि अडान राखेका छन् । ‘मुख्यगरी यसमा सहमति हुने अवस्था बन्यो भने नेतृत्वको विषयमा हामी खुला हुन्छौं,’ विशेष महाधिवेशनका आयोजक नेता घिमिरेले भने, ‘सहमति हुन सकेन भने विशेष महाधिवेशनले आफ्नो कोर्स पूरा गर्छ ।

सहमतिका लागि विशेष महाधिवेशनलाई स्वामित्व लिने कि नलिने भन्ने विषय नै पेचिलो बनेको छ । वरिष्ठ नेता शेखर कोइरालाले पनि यही प्रस्ताव लिएर सभापति देउवासँग भेटेका थिए । तर देउवाले विशेष महाधिवेशनको स्वामित्व लिने प्रमुख सर्त नै नमानेपछि कुरा अघि बढ्न सकेको थिएन । त्यही प्रस्तावमाथि महामन्त्रीद्वयका तर्फबाट थप छलफल अघि बढाइएको हो ।

महाधिवेशन पक्षधर नेताहरू घिमिरे, चालिसे, आचार्य र काठमाडौंमा जम्मा भएका कोइरालानिकट जिल्ला सभापति मिलेर मध्यमार्गी प्रस्ताव तयार पारिएको थियो । जसमा महामन्त्रीहरूले राखेकै विषय समावेश छन् । उक्त प्रस्ताव देउवाले नमानेपछि नेता कोइराला देउवा निवास महाराजगन्जबाट फर्केका थिए ।

सोमबार बिहान करिब एक दर्जन जिल्ला सभापति र आफूनिकट नेताहरूको छलफलपछि कोइरालाले विभिन्न विकल्पमा देउवासँग छलफल गरेका थिए । ‘विष पिएर भए पनि पार्टीभित्रको एकता कायम गरिछाड्न अन्तिम प्रयास गरिरहेको छु,’ कोइरालाले भने, ‘म पार्टी सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरूसँग पार्टी कुनै पनि हालतमा फुट्न दिनुहुन्न भनेर कुरा गरिरहेको छु, पार्टी फुट्दैन । कोही निराश हुनुपर्दैन ।

विशेष महाधिवेशनले केन्द्रीय कार्यसमिति विघटन र नयाँ निर्वाचन प्रक्रिया अघि बढाउने कार्यविधि ल्याएपछि छटपटीमा रहेका देउवा दिनभरजसो छलफलमा व्यस्त भएका थिए । उनले आफ्नो पक्षका केन्द्रीय समितिको बैठक नै राखे भने कानुन व्यवसायीहरूसँग सम्भावित परिणामलाई लिएर छलफलसमेत गरेका थिए ।

विगतमा आफ्नै पक्षमा रहेका र अहिले विशेष महाधिवेशन हलमा उपस्थित प्रतिनिधिहरूको दबाबमा परेका नेता कोइराला पनि कुनै न कुनै माध्यमबाट समाधान खोज्न दौडधुप गरिरहेका छन् । तर, देउवाले विशेष महाधिवेशनलाई कुनै हालतमा स्वीकार नगर्ने ‘बटमलाइन’ राखेका छन् ।

महामन्त्रीद्वय थापा र शर्माको पहिलो सर्त नै विशेष महाधिवेशनलाई स्वामित्व लिएर त्यसको निर्णयलाई कार्यान्वयन गरिनुपर्नेछ । तर संस्थापनपक्ष विशेष महाधिवेशनलाई स्विकार्ने पक्षमा देखिएको छैन । ‘विशेष महाधिवेशनलाई स्वामित्व लिएर जान नसकिने विषयमा शेखर डाक्टरसाब र सभापतिको कुरा एउटै छ,’ पार्टी प्रवक्ता प्रकाशशरण महतले भने, ‘केन्द्रीय कार्यसम्पादन समितिले दुई–दुई पटक विशेष महाधिवेशन औचित्यहीन भनेर अवैधानिक भनिसकेको अवस्थामा त्यसलाई स्वामित्व लिन कोही पनि सहमत छैनौं, पार्टी सञ्चालन र विचारका दृष्टिकोणले अघि बढाउने कुरामा सेफल्यान्डिङ हुन सक्छ, तर विशेष महाधिवेशनलाई स्वामित्व लिने कुरा हुन सक्दैन ।

देउवाले निवासमै आफ्ना पक्षका केन्द्रीय सदस्यहरूको बैठक राखेर पनि छलफल गरेका थिए । अधिकांश सदस्यले सहमतिका लागि पहल गर्न जोड दिएका थिए । उनीहरूको सुझावअनुसार मंगलबार केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ ।

यद्यपि उक्त बैठक विशेष महाधिवेशनको स्वामित्व लिनेबारेमा नभएर यसअघि केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णय जानकारी गराउनेबारे रहेको प्रवक्ता महतले बताए । ‘औपचारिक बैठक राखेर केन्द्रीय कार्यसम्पादन समितिको निर्णयलाई अनुमोदन गर्नुपर्ने माग भएपछि बैठक बोलाइएको हो,’ उनले भने ।

केन्द्रीय सदस्यहरूसँगको छलफलमा देउवाले अन्तर्राष्ट्रिय शक्ति नलागेको भए महामन्त्री थापा र शर्माले पार्टी विभाजन नगर्ने विश्वास व्यक्त गरेका थिए । ‘अन्तर्राष्ट्रिय शक्तिकेन्द्र नै कांग्रेस विभाजन गर्न लागेको हो कि भन्ने आशंका छ, त्यसो होइन भने यो पार्टी विभाजन हुन्न, अरू जस्तोसुकै निर्णयका लागि म तयार छु,’ उनको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘म अब सभापति हुने होइन, पार्टी एक होस् । नियमित महाधिवेशनबाट छाड्छु भनेकै छु, जे हुन्छ महाधिवेशनबाट भइहाल्छ ।

यता विशेष महाधिवेशन हलमा नीति मात्रै नभएर नेतृत्व नै बदल्नुपर्ने दबाब बढ्दै गएको छ । महाधिवेशन प्रतिनिधि थपिने क्रम पनि बढेको छ । प्रचारप्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार ६३ प्रतिशत हाराहारीमा महाधिवेशन प्रतिनिधि आएका छन् ।

नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा उनीहरूको नाम तीनवटा फाइलमा तीन ठाउँमै हस्ताक्षर लिएर राखिएको छ । ‘नयाँ निर्वाचन भएर आधिकारिकताको प्रश्न उठ्न सक्ला भनेर अहिल्यै फाइल ठिक्क पारिएको हो,’ विशेष महाधिवेशन पक्षधर एक नेताले भने ।

नयाँ निर्वाचनका लागि विशेष महाधिवेशनले कार्यविधि पारित गरेर ढोका खोलिसकेको छ । वर्तमान केन्द्रीय कार्यसमिति भंग गरेर नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने कार्यविधि विशेष महाधिवेशनको हलले पारित गरिसकेको छ ।

कांग्रेसको चौधौं महाधिवेशन २०७८ बाट निर्वाचित मैजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकाले केन्द्रीय कार्यसमिति विघटन गर्ने र १५ औं महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन गर्ने,’ महाधिवेशन हलबाट पारित भइसकेको कार्यविधिमा उल्लेख छ ।

सभापतिजी नै पछि हट्नुभयो भने एउटा परिस्थिति होला, तर विशेष महाधिवेशन हल अब त्यसै पछाडि फर्किंदैन, नयाँ नेतृत्वसहित नीति तथा कार्यक्रम लिएर अघि बढ्छ,’ केन्द्रीय सदस्य प्रदीप पौडेलले भने ।

महामन्त्री थापा र शर्माले बिहान बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रस्तावमा पार्टी सभापति देउवालाई आगामी प्रतिनिधिसभामा संसदीय दलको नेता हुँदै प्रधानमन्त्री हुने ढोकासमेत बन्द गर्ने नीति ल्याएका छन् ।

देउवा अन्तिम पटक चुनाव लड्ने भनेर गृहजिल्ला डडेलधुराबाट एकल नाम सिफारिस भइरहेको पृष्ठभूमिमा महामन्त्री थापा र शर्माले सोमबार विशेष महाधिवेशनमा प्रस्तुत गरेको नीतिगत प्रस्ताव मंगलबार मात्रै पारित हुनेछ । प्रतिवेदनका विषयमा समूहगत छलफल नै जारी रहेकाले मंगलबार त्यसलाई पारित गरेपछि मात्र निर्वाचनको कोर्स अघि बढ्ने घिमिरेले बताए । ‘सहमति भयो भने अर्को मोड लिन सक्छ, भएन भने यसले आफ्नो कोर्स पूरा गरेर छाड्छ,’ उनले भने ।

जेन–जी आन्दोलन लगत्तै महामन्त्री थापा र शर्माले देउवालाई सम्मानजनक अवकाशका लागि निरन्तर आग्रह गर्दै आएका थिए । २८ असोजमा केन्द्रीय कार्यसमिति बैठकमा देउवाले सक्रिय राजनीतिबाट अलग हुने सन्देशसहित उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । त्यसपछि उपचारका लागि सिंगापुर गएका देउवाले फर्केर ‘सक्रिय हस्तक्षेप’ बढाएपछि उनको विकल्प खोज्न महामन्त्री थापा र शर्माले विशेष महाधिवेशनको जोखिम उठाएका हुन् ।

विशेष महाधिवेशनको “बटमलाइन”

– विशेष महाधिवेशनले पारित गरेका नीति तथा कार्यक्रममा समग्र पार्टीको स्वामित्व
– २९ असोजको केन्द्रीय कार्यसमिति बैठकमा आफैंले घोषणा गरेजस्तै देउवा पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुनुपर्ने
– निर्वाचन आयोगमा उम्मेदवारले बुझाउने टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर हुनुपर्ने, देउवा स्वयंले पनि यसपालिको निर्वाचन नलड्ने घोषणा गर्नुपर्ने
– निर्वाचनमा अन्य दलस‍ँग गठबन्धन नगर्ने
– तर सभापति देउवा विशेष महाधिवेशनको स्वामित्वसमेत नलिने अडानमा यथावत्

– कुलचन्द्र न्यौपाने