अहमदाबाद (भारत), पुस २८ गते ।प्रधानमन्त्री नरेन्द्र मोदीले जर्मन सङ्घीय चान्सलर फ्रेडरिक मेर्जसँग सोमबार गान्धीनगरमा प्रतिनिधिमण्डल स्तरको वार्ता गर्नु भएको छ । चान्सलर मेर्जको यो भारतप्रतिको पहिलो आधिकारिक भ्रमण हो, जुन भारत-जर्मनी कूटनीतिक सम्बन्धको ७५ वर्ष र रणनीतिक साझेदारीको २५ वर्ष पूरा भएको अवसरसँग मेल खान्छ ।
दुई दिने आधिकारिक भ्रमणमा रहनुभएका चान्सलर मेर्जको यो भ्रमणको मुख्य उद्देश्य भारत र जर्मनीबिचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनु रहेको जनाइएको छ । गान्धीनगरस्थित महात्मा मन्दिरमा सम्पन्न वार्तामा विदेशमन्त्री एस.जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विक्रम मिस्री पनि सहभागी हुनुहुन्थ्यो ।
वार्ताका क्रममा दुवै नेताले व्यापार, लगानी, प्रविधि, शिक्षा, सीप विकास र श्रम गतिशीलतामा भइरहेको सहकार्यको समीक्षा गर्नुभयो । साथै रक्षा, सुरक्षा, विज्ञान, नवीनता, अनुसन्धान र दिगो विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे पनि छलफल गर्नुभयो । यसअघि प्रधानमन्त्री मोदीले चान्सलर मेर्जसँग अहमदाबादस्थित साबरमती आश्रममा न्यानो स्वागत गर्नुभएको थियो ।
पदभार सम्हालेपछि भारतको पहिलो भ्रमणमा आउनुभएका चान्सलर मेर्जले त्यहाँ राष्ट्रपिता महात्मा गान्धीप्रति पुष्पाञ्जलि अर्पण गर्नुभयो र आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभयो । त्यसपछि दुवै नेताले संयुक्त रूपमा साबरमती रिवरफ्रन्टमा अन्तर्राष्ट्रिय चङ्गा महोत्सव-२०२६ को उदघाटन गर्नुभयो ।
सांस्कृतिक र कूटनीतिक महत्व बोकेको उक्त कार्यक्रममा प्रधानमन्त्री मोदी र चान्सलर मेर्जले भगवान हनुमानको चित्र अङ्कित चङ्गा उडाएको दृश्य पनि देखिएको थियो । जर्मन चान्सलर मेर्ज सोमबार बिहान दुई दिने आधिकारिक भ्रमणका लागि भारत आइपुग्नुभएको हो । उहाँ जनवरी १२ र १३ तारिख भारतमा रहने कार्यक्रम छ । जनवरी १३ मा उहाँले बोश, नानो विज्ञान तथा इन्जिनियरिङ र सेन्से संस्थाको भ्रमण गरी जर्मनी प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।
यो भ्रमणले नियमित उच्चस्तरीय राजनीतिक संवादलाई थप गति दिने र दुवै देश तथा विश्व समुदायको हितका लागि अग्रगामी साझेदारी विकास गर्ने भारत-जर्मनी साझा दृष्टिकोणलाई पुनः पुष्टि गर्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री मोदी र चान्सलर मेर्ज यसअघि क्यानाडामा भएको जी-७ शिखर सम्मेलनको साइडलाइनमा भेट गर्नु भएको थियो । त्यहाँ उहाँहरूबिच द्विपक्षीय रणनीतिक साझेदारी विस्तार गर्ने सहमति भएको थियो ।
सोही अवसरमा प्रधानमन्त्री मोदीले चान्सलर मेर्जलाई नयाँदिल्लीको आधिकारिक भ्रमणको निम्तो दिनुभएको थियो । उल्लेखनीय रूपमा, यो भ्रमण जनवरी २७ मा हुने भारत–युरोपेली सङ्घ (इयु) शिखर सम्मेलनको पूर्वसन्ध्यामा भइरहेको छ, जसले यसलाई थप कूटनीतिक महत्त्व प्रदान गरेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















