ढाका, पुस १५ गते । बङ्गलादेश अवामी लिगकी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री शेख हसिनाले मङ्गलबार बङ्गलादेशकी पूर्वप्रधानमन्त्री एवं बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी)की अध्यक्ष बेगम खालिदा जियाको निधनप्रति गहिरो शोक व्यक्त गर्नु भएको छ ।
अवामी लिगको आधिकारिक पोस्टमार्फत जारी गरिएको शोक सन्देशमा शेख हसिनाले भन्नु भएको छ, “म बिएनपीकी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको निधनमा गहिरो समवेदना प्रकट गर्दछु । बङ्गलादेशको पहिलो महिला प्रधानमन्त्रीका रूपमा तथा लोकतन्त्र स्थापनाको सङ्घर्षमा उहाँले निर्वाह गर्नु भएको भूमिकाका कारण राष्ट्रका लागि उहाँको योगदान महत्त्वपूर्ण थियो र सधैँ स्मरण गरिने छ । उहाँको निधनले बङ्गलादेशको राजनीतिक जीवन र बङ्गलादेश नेसनालिस्ट पार्टीको नेतृत्वमा गहिरो क्षति पुगेको छ ।”
शेख हसिनाले दिवङ्गत नेत्रीको आत्माको चिरस्थायी शान्ति र क्षमाका लागि प्रार्थना गर्दै उहाँका छोरा तारिक रहमान, शोकाकुल परिवारका सदस्य तथा सम्पूर्ण बिएनपी परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नु भएको छ । साथै, उहाँले सर्वशक्तिमान अल्लाहसँग यस कठिन समयमा परिवारजन र समर्थकलाई धैर्य, शक्ति र सान्त्वना प्रदान गरिदिन प्रार्थना गर्नु भएको छ ।
बेगम खालिदा जियाको आज बिहान ८० वर्षको उमेरमा राजधानी ढाकास्थित एभरकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । बिएनपीले फेसबुकमार्फत जारी गरेको विज्ञप्ति अनुसार, उहाँको फजरको प्रार्थनाको केही समयपछि बिहान ठीक ६ बजे (स्थानीय समय) निधन भएको पुष्टि गरिएको छ । पार्टीले विज्ञप्तिमा उहाँको आत्माको अनन्त शान्तिका लागि प्रार्थना गर्न सबैलाई आग्रह गरेको छ ।
बिएनपीका अनुसार फोक्सोको सङ्क्रमणका कारण नोभेम्बर २३ मा बेगम जियालाई एभरकेयर अस्पतालमा भर्ना गरिएको थियो । उहाँ लामो समयदेखि हृदय रोग, मधुमेह, गठिया, लिभर सिरोसिस र मिर्गौला सम्बन्धी जटिलतासहित विभिन्न दीर्घरोगबाट पीडित रहँदै आउनु भएको थियो । यस महिनाको सुरुतिर उन्नत उपचारका लागि उहाँलाई लन्डन पठाइएको थियो, तर स्वास्थ्य अवस्था सुधार हुन नसकेपछि पुनः ढाकामै उपचार जारी रह्यो ।
उहाँका छोरा तथा बिएनपीका कार्यवाहक अध्यक्ष तारिक रहमान स्वर्गीय आमालाई श्रद्धाञ्जली अर्पण गर्न अस्पताल आइपुगेपछि आज बिहान अस्पताल बाहिर ठुलो सङ्ख्यामा समर्थक र शोकाकुल नागरिक भेला भएका थिए । यसैबिच, बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार तथा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले पनि बेगम खालिदा जियाको निधनमा गहिरो दुः ख व्यक्त गर्नु भएको छ ।
उहाँले दिवङ्गत नेत्रीलाई राष्ट्रको ‘महान संरक्षक’ तथा बङ्गलादेशको लोकतान्त्रिक इतिहासमा एक अग्लो व्यक्तित्वको रूपमा स्मरण गर्नु भएको छ । एक्समा पोस्ट गरिएको शोक सन्देशमा युनुसले तीन पटककी पूर्वप्रधानमन्त्रीको निधनले आफू गहिरो शोकग्रस्त भएको उल्लेख गर्दै यसलाई राष्ट्रका लागि अपूरणीय क्षति भएको बताउनु भएको छ । उहाँले भन्नु भएको छ, “बेगम खालिदा जिया केवल एक राजनीतिक दलकी नेता मात्र होइन; उहाँले बङ्गलादेशको इतिहासको एक महत्त्वपूर्ण अध्यायको प्रतिनिधित्व गर्नुभयो ।” उहाँको लामो राजनीतिक सङ्घर्ष र नेतृत्वसँग जोडिएका जनभावना सधैँ सम्मानका साथ स्मरण गरिने युनुसले उल्लेख गर्नु भएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बङ्गलादेशकी पूर्वप्रधानमन्त्रीको निधनमा शोक व्यक्त गर्नु भएको छ । सामाजिक सञ्जालमार्फत जारी सन्देशमा प्रधानमन्त्री मोदीले बङ्गलादेशकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा खालिदा जियाले देशको विकास र भारत-बङ्गलादेश सम्बन्ध सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नु भएको छ ।
प्रधानमन्त्री मोदीले सन् २०१५ मा ढाकामा उहाँसँग भएको न्यानो भेटको सम्झना गर्दै भन्नु भएको छ, “बङ्गलादेशको पहिलो महिला प्रधानमन्त्रीका रूपमा उहाँको योगदान सधैँ स्मरणीय रहने छ । उहाँको दर्शन र विरासतले भारत-बङ्गलादेश साझेदारीलाई भविष्यमा पनि मार्ग दर्शन गरिरहने छ ।” साथै, उहाँले दिवङ्गत नेत्रीको आत्माको शान्तिका लागि प्रार्थना गर्नु भएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















