वासिङ्टन डीसी, पुस १५ गते । यतिबेला ताइवान वरिपरि चीनले सैन्य अभ्यास तीव्र पारेको छ । तर यसबारे आफू चिन्तित नभएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । अभ्यासमा चिनियाँ सेनाले ताइवानमाथि नाकाबन्दीको अभ्यास गरिरहेको देखिन्छ ।
‘राष्ट्रपति सी जिनपिङसँग मेरो राम्रो सम्बन्ध छ, र उनले मलाई (अभ्यासकाबारे) केही भनेका छैनन् । मैले यो पक्कै पनि देखेको छु,’ एक पत्रकार सम्मेलनमा सोमबार ट्रम्पले पत्रकारहरूलाई भने ।
‘अहँ, मलाई केहीको चिन्ता छैन । उनीहरूले त्यो क्षेत्रमा २० वर्षदेखि नौसेना अभ्यास गर्दै आएका छन्,’ उनले भने । सोमबारदेखि सुरु भएको दुई दिने युद्ध अभ्यास अमेरिकाले ताइवानलाई आफ्नो सबैभन्दा ठुलो हतियार बिक्रीको घोषणा गरेको लगभग दुई हप्ता पछि भएको हो । यो बिक्रीपछि चीन अमेरिकासँग झनै क्रुद्ध भएको थियो ।
अभ्यासमा चीनले टापुका प्रमुख क्षेत्रहरूको कब्जा र नाकाबन्दीको नक्कल गरेका थिए । यो ताइवान स्वतन्त्रता पृथकतावादी शक्तिहरू र बाह्य हस्तक्षेपविरुद्ध चेतावनी भएको चिनियाँ सेनाले भनेको छ । मंगलबारको सैन्य अभ्यासमा चीनले टापु वरपरका पाँच स्थानहरूको समुद्र र हवाई क्षेत्रमा १० घण्टा प्रत्यक्ष फायरिङ अभ्यास गर्नेछ ।
मंगलबार बिहान टापु वरिपरि १३० चिनियाँ सैन्य विमानहरू फेला पारेको ताइवानको रक्षा मन्त्रालयले बताएको छ । यीमध्ये ९० वटाले मध्य रेखा पार गरेका थिए । टापु नजिकै एक दर्जन भन्दा बढी चिनियाँ नौसेना जहाजहरू देखेको पनि मन्त्रालयले बताएको छ । ताइवानको सशस्त्र सेनाले परिस्थितिको निगरानी गरिरहेको छ र प्रतिक्रियामा विमान, जहाज र तटीय क्षेप्यास्त्र प्रणालीहरू तैनाथ गरेको मन्त्रालयले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















