01/12/2026, 11:30:01
सोमबार, पुष २८, २०८२

विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि, वैधानिक संकटमा सभापति देउवा

महाधिवेशनभन्दा ठूलो अरू केही छैन, चाह्यो भने नेता बदल्छ, नेता छान्छ, नीति पनि छान्छ, विधान पनि बदल्छ । त्यो अधिकार राख्नका लागि नै प्रतिनिधिहरू विशेष महाधिवेशनमा आउनुभएको हो ।अहिले पार्टीभित्र जे चलिरहेको छ, यो सत्ता र शक्तिको संघर्ष होइन । विचार र मूल्यमान्यताको संघर्ष हो । देश, नागरिक र जनभावनालाई कसरी बुझ्ने वा नबुझ्ने बीचको सघर्ष हो ।यहाँ प्रश्न मरेको छैन । नबोल भन्दै गर्दा नबोल्ने कोही छैन । यो ‘बा’ को पार्टी पनि होइन । जुन पार्टीमा प्रश्न मर्छ, त्यसले समाजमा प्रश्न गर्न सक्दैन । जसले प्रश्न गर्न सक्दैन, त्यसले समाधान दिन पनि सक्दैन । त्यसैले जिउँदो कांग्रेस बनाउने अभियानमा हामी लागेका छौं ।


काठमाडौँ, पुस २८ : कांग्रेसको १४औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गरेका बहुमत प्रतिनिधि नै उनको विपक्षमा उभिएका छन् । चार वर्षअघिको महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका शेखर कोइरालासमेत अहिले संस्थापन पक्षमै रहँदा पनि ५६.१२ प्रतिशत प्रतिनिधि नीति र नेतृत्व परिवर्तनको मुद्दा बोकेर विशेष महाधिवेशनमा सहभागी भएका छन् ।

मंसिर ०७८ मा भएको १४औं महाधिवेशनमा देउवा ६० प्रतिशत मतसहित सभापति निर्वाचित भएका थिए, उनका प्रतिस्पर्धी कोइरालाका पक्षमा ४० प्रतिशत मत परेको थियो । आइतबार राति ९ बजेसम्म दर्ता भएको विवरण अनुसार २ हजार ६ सय ६२ प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी छन् । कुल प्रतिनिधि संख्या भने ४ हजार ७ सय ४३ छ । सम्पर्कमा रहेका र आउँदै गरेका प्रतिनिधिसमेत गरेर ६० प्रतिशतभन्दा बढी सहभागी हुने आयोजकको दाबी छ ।

विशेष महाधिवेशन प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलका अनुसार सोमबार बिहान ८ बजेदेखि फेरि नामदर्ता खुल्नेछ । आफूलाई सभापतिमा जिताउने प्रतिनिधि नै विपक्षमा उभिँदा नेतृत्वमा रहिरहन सभापति देउवामाथि राजनीतिक र नैतिक दबाब बढेको छ ।

पार्टी प्रवक्ता प्रकाशशरण महत  भने विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि नआएको दाबी गर्छन् । ‘बहुमत नपुग्ने भएपछि घरमा बसेका प्रतिनिधिलाई समेत बोलाउन थालिएको छ,’ उनी भन्छन् ।

सोमबार बन्दसत्र सुरु हुनुअघि सभापति देउवा वा कार्यवाहक सभापति पूर्णबहादुर खड्का  नै उपस्थित भएर स्वामित्व लिने/नलिनेबारे सोधिएको प्रश्नमा महतले अवैधानिक भनी कार्यसम्पादन समितिबाट दुई पटक निर्णय गरिएकाले विशेष महाधिवेशनमा सभापति वा कार्यवाहक सभापति गएर समाधान खोज्न सम्भव नभएको बताए ।

नियमित महाधिवेशनको तालिका आइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य छैन, यो अवैधानिक हो भनेर कार्यसम्पादन समितिले निर्णय गरिसकेको छ । यस्तो अवस्थामा त्यहीँ गएर सहमति खोज्ने कुरा हुन्छ भन्ने मलाई लाग्दैन,’ उनले भने, ‘त्यस दिशामा छलफल भएको पनि मलाई जानकारी छैन । बहुमत प्रतिनिधिलाई घरमा राख्न लगाएर सभापति वा कार्यवाहक सभापति जाने कुरा हुन सक्दैन ।

विशेष महाधिवेशन नभनी भेलामा परिणत गरे सहमतिको सम्भावना हुने प्रवक्ता महत बताउँछन् । विशेष महाधिवेशन बोलाउने नेताहरूले यसलाई नीति, संकल्प वा निर्वाचनको एजेन्डामा जे भने पनि आफैं व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

देउवाले तत्काल समाधान नदिए हलबाटै नयाँ नेतृत्व चयन गर्नुपर्ने मनस्थितिमा विशेष महाधिवेशनमा सहभागी प्रतिनिधि छन् । महामन्त्री थापा पहिलेदेखि नै पार्टी नेतृत्व परिवर्तन नभई चुनावमा नजाने अडानमा छन् । केही समयअगाडि देउवाको हस्ताक्षरबाट आफूले प्रतिनिधिसभा निर्वाचनको टिकट नलिने सार्वजनिक उद्घोष नै गरेका थिए । अझै सहमति खोज्न अर्का महामन्त्री शर्माले कार्यवाहक सभापति खड्कामार्फत पहल गरिरहेका छन् ।

देउवाले विशेष महाधिवेशनबाट आउने सम्भावित परिणामबारे निकटस्थ नेताहरूसँग परामर्श गरिरहेका छन्, तर पद नछाड्न दबाब उनकै समूहका नेताहरूले दिइरहेका छन् । आइतबार भृकुटीमण्डपमा विशेष महाधिवेशन उद्घाटन भइरहेकै बेला देउवाले कार्यवाहक सभापति खड्का र केन्द्रीय सदस्य रमेश लेखकसँग छलफल गरेका थिए । नेता शेखर कोइरालासँग पनि उनी निरन्तर संवादमा छन् । ‘सभापतिमा छटपटी त चलेको छ, तर समाधानको उपाय भन्नुभएको छैन,’ देउवानिकट एक केन्द्रीय सदस्यले भने ।

आसन्न प्रतिनिधिसभा निर्वाचनको संघारमा पार्टी नेतृत्व चयन प्रक्रियामा प्रवेश गर्दा विवाद थप लम्बिने र बहिर्गमनसमेत सुखद नहुने भन्दै देउवालाई संस्थापन पक्षको एउटा खेमाले समाधान खोज्न सुझाइरहेको छ । अर्का थरी नेताले भने क्रियाशील सदस्यलाई समेत झोला बाँडेर जबर्जस्ती बहुमत पुर्‍याइएको भन्दै पद नछाड्न र विशेष महाधिवेशन हलमा नजान देउवालाई दबाब दिइरहेका छन् ।

विशेष महाधिवेशन पक्षधर नेताहरूले भने उद्घाटनस्थलबाटै सभापति र कार्यवाहक सभापति बन्दसत्रमा सहभागी हुन आग्रह गरेका छन् । उनीहरू नआए हलबाट नयाँ केन्द्रीय कार्यसमिति चयन हुन सक्ने उनीहरूको भनाइ छ ।

महामन्त्री थापाले बन्दसत्र सुरु हुनुअघि ठन्डा दिमागले सोचेर निर्णय लिन सभापति देउवालाई आग्रह गरे । ‘भोलि (सोमबार) को बन्दसत्रमा उहाँहरू आउनुहुन्छ भन्ने अपेक्षा छ । आउने नआउने मर्जी उहाँहरूको हो, निर्णय गर्ने काम तपाईं प्रतिनिधिहरूको हो । अब हलबाट जे निर्णय हुन्छ, त्यही मेरो निर्णय हुनेछ,’ उद्घाटन सत्रमा थापाले भने, ‘युद्ध जित्नका लागि लडाइँ हार्नु पनि पर्छ । कहिलेकाहीं ज्वालालाई जागृत राख्न आफू डढ्न पनि तयार छौं । तर कांग्रेसलाई ठीक ठाउँमा उभ्याएरै छाड्छौं ।

थापाले बीपी कोइरालाको विचार र गणेशमान सिंहको साहस लिएर आफूहरू अघि बढेको उल्लेख गरे । ‘महाधिवेशनभन्दा ठूलो अरू केही छैन, चाह्यो भने नेता बदल्छ, नेता छान्छ, नीति पनि छान्छ, विधान पनि बदल्छ । त्यो अधिकार राख्नका लागि नै प्रतिनिधिहरू विशेष महाधिवेशनमा आउनुभएको हो ।

सुवर्णशमशेरले २०१४ सालमा विशेष महाधिवेशन बोलाएर बीपीलाई सभापति हस्तान्तरण गरेको क्षणसमेत स्मरण गर्न देउवालाई थापाले आग्रह गरे । ‘हामी पार्टी सभापतिले उद्घाटन गरेको, कार्यवाहक सभापति उपस्थित भएको हेर्न चाहन्थ्यौं,’ उनले भने, ‘अहिले पार्टीभित्र जे चलिरहेको छ, यो सत्ता र शक्तिको संघर्ष होइन । विचार र मूल्यमान्यताको संघर्ष हो । देश, नागरिक र जनभावनालाई कसरी बुझ्ने वा नबुझ्ने बीचको सघर्ष हो ।

नीति र नेतृत्व परिवर्तनका विषयमा प्रतिनिधिहरूको निर्णय आफूले स्वीकार गरेर जाने थापाले बताए । ‘विशेष महाधिवेशन तपाईं प्रतिनिधिहरूले बोलाउनुभएको हो । म त पाहुना हुन आएको हो । भोलि बन्दसत्रले जे निर्णय गर्छ, मलाई आपत्ति छैन । तर कांग्रेस दास र लासहरूको पार्टी होइन, जिउँदो मान्छेको पार्टी हो,’ उनले भने, ‘यहाँ प्रश्न मरेको छैन । नबोल भन्दै गर्दा नबोल्ने कोही छैन । यो ‘बा’ को पार्टी पनि होइन । जुन पार्टीमा प्रश्न मर्छ, त्यसले समाजमा प्रश्न गर्न सक्दैन । जसले प्रश्न गर्न सक्दैन, त्यसले समाधान दिन पनि सक्दैन । त्यसैले जिउँदो कांग्रेस बनाउने अभियानमा हामी लागेका छौं ।

लामो समयदेखि कायम पार्टी सञ्चालनको तौरतरिका अब भत्किएको पनि महामन्त्री थापाले उल्लेख गरे । ‘भोलि जोसुकै आओस्, कसैले पनि पार्टीको सदस्यलाई हेप्न सक्दैन अब । तल बस्ने सदस्यहरूलाई माथि बस्नेले निहुरिएर सलाम गर्नुपर्छ,’ उनले भने, ‘देशलाई एक पटक भरोसा दिन चाहन्छौं ।

अर्का महामन्त्री शर्माले कांग्रेसलाई फुटतिर होइन, फलामजस्तो बनाएर अगाडि बढाइने उद्घोष गरे । ‘विशेष महाधिवेशनमा सहभागी भएका यो कुनै भीड होइन, कांग्रेस बदल्न आएको जमात हो । बन्दसत्रले जे निर्णय लिन्छ, देश र पार्टीको हितमा लिन्छ । बन्दसत्रले जे निर्णय लिन्छ, त्यो नै कांग्रेसको आगामी बाटो हुनेछ,’ उनले भने ।

महामन्त्री शर्माले गत २३ र २४ भदौपछिको राजनीतिक घटनाक्रमले देखाएको चित्रअनुसार विशेष महाधिवेशनबाट सिंहदरबारदेखि पालिकाको वडा तहसम्म सुशासनको संकल्प र ठोस कार्ययोजना लिएर पार्टी अघि बढ्ने बताए । ‘असन्तुष्टि र निराशामा जुधिरहेको देशलाई नयाँ आशामा लैजान्छौं, मनोवैज्ञानिक द्वन्द्वको सुरुङबाट निकाल्न चाहन्छौं । सुशासन दिन सक्छौं,’ उनले भने, ‘यसअघि जहाँ चुक्यौं, त्यहींबाट सच्चिएर जान्छौं । आत्मालोचना गर्छौं । जेन–जी आन्दोलनको भावनालाई सम्बोधन गर्न संकल्प गर्छौं ।’  विशेष महाधिवेशनले कांग्रेस र देशलाई बदल्ने महामन्त्री शर्माको भनाइ थियो ।

विशेष महाधिवेशनमा कांग्रेसका पुराना नेताहरूसमेत सहभागी भएका छन् । पूर्वसभामुख तारानाथ रानाभाट, केही दिनअघिसम्मै देउवानिकट रहेका पूर्वउपसभापति गोपालमान श्रेष्ठ  र पञ्चायतविरुद्ध कांग्रेसले सुरु गरेको सशस्त्र क्रान्तिका बेला बीपीको योजना अनुसार हवाईजहाज अपहरण गरेका प्रमुख व्यक्ति बसन्त भट्टराई समेत भृकुटीमण्डपमा उपस्थित थिए । पुष्पा भुसाल, राजेन्द्र केसी, उदयशमशेर राणा, डिला संग्रौला, भरत शाह लगायत संस्थापन पक्षका करिब ३० केन्द्रीय सदस्यसमेत उपस्थित थिए ।

स्वास्थ्य उपचारमा रहेका पूर्वउपसभापति श्रेष्ठले पार्टीभन्दा माथि देशको अवस्था बुझेर नेतृत्व छाड्न देउवालाई आग्रह गरे । ‘अब इतिहासको ब्याज खाएर यो पार्टीको भविष्य बन्दैन । नागरिकको अपेक्षा र पुस्तान्तरणको मुद्दालाई बदलिँदो समयअनुसार सम्बोधन गर्न सक्नुपर्छ,’ उनले भने, ‘७० वर्षपछिको यो ऐतिहासिक विशेष महाधिवेशनमा कसैले हठ लिएर बस्नुहुन्न । विधि र विधानअनुसार सभापति चल्नुहोस् । नत्र विशेष महाधिवेशनले गर्ने निणय कार्यन्वयनका लागि तयार हुनुहोस् ।

विशेष महाधिवेशन नेतृत्व चयन प्रक्रियामा जाने कि नजाने भन्नेमा कार्यविधि बनिसकेको छैन । नेतृत्व चयनका लागि निर्वाचन समितिसमेत बनेको छैन । विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरे  नेतृत्व चयन नै विशेष महाधिवेशनको मुख्य मुद्दा भएको बताउँछन् । ‘नेतृत्व चयन नै मुख्य काम हो भनेर विशेष महाधिवेशन बोलाइएको हो,’ उनले भने, ‘सभापति र कार्यवाहक सभापतिसहित शतप्रतिशतको विशेष महाधिवेशन गरौं भन्दा उहाँहरूले नजरअन्दाज गर्नुभयो । उहाँहरूले हामीलाई पत्थर फाल्नुभएको छ । हामीले फूलको थुंगा फालेर, पत्थरलाई जम्मा गरेर कांग्रेसको घर बनाउन चाहन्छौं ।

घिमिरेले विशेष महाधिवेशन कुनै नेता विशेषविरुद्ध नभएको पनि बताए । ‘विधान र नैतिकता जोगाउने, नवीन सोच र जोससाथ पार्टीलाई अघि बढाउने र भावी दिशानिर्देशनका लागि हो विशेष महाधिवेशन, सत्ताका लागि होइन,’ उनले थपे ।

बन्दसत्र कसरी सुरु हुन्छ ?

विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान ८ बजे सुरु हुने भएको छ । बन्दसत्र सुरु हुनासाथ के–के गर्ने, के–के नगर्ने भन्नेबारे कार्यविधि बनाउने तयारी छ ।

विशेष महाधिवेशनपक्षर नेता गुरुराज घिमिरेका अनुसार पार्टीका निर्वाचन समिति सदस्य राजु कट्टेल  नेतृत्वको समूहलाई बन्दसत्रको कार्यविधिको मस्यौदा बनाउने जिम्मा दिइएको छ । कार्यविधिको मस्यौदा नेता नारायण भट्टराईले बन्दसत्रमा वाचन गर्नेछन् । त्यसलाई पारित गरेर बन्दसत्र अघि बढ्नेछ ।

बन्दसत्रको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नेछन् । महामन्त्रीद्वय थापा र शर्माले सांगठनिक र राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । त्यसपछि खाना खाने समयका लागि ‘ब्रेक’ हुनेछ । खानापछि पार्टीको नीति र संरचनागत सुधारका मुद्दामा समूहगत छलफल हुनेछ । प्रदेशस्तरीय सात समूह र विदेशस्थित जनसम्पर्क समिति तथा भ्रातृसंस्थाको समेत गरेर ८ समूह बनाएर छलफल हुनेछ । छलफल निष्कर्षसहित सोमबार बेलुकासम्म सक्ने योजना छ ।

घिमिरेका अनुसार नेतृत्व चयनको विषयमा हलको सुझावअनुसार अघि बढ्ने योजना छ । मंगलबारसम्म हल ‘बुक’ गरिएको छ । ‘नेतृत्वका विषयमा सोमबार बेलुकासम्म एउटा टुंगोमा पुग्छौं । खासगरी संस्थापन पक्षको रवैया के हुन्छ, त्यसका आधारमा नेतृत्व चयन अघि बढ्छ,’ घिमिरेले भने, ‘केन्द्रीय कार्यसमितिले स्वामित्व लिने गरी अघि बढे एउटा स्थिति हुन सक्छ, नत्र प्रतिनिधिहरू नयाँ नेतृत्व नछानी घर फर्कने मुडमा देखिँदैनन् ।

बन्दसत्रमा विधान संशोधनका लागि समिति बनाउने तयारीसमेत छ । तर विधानमै संशोधन गर्ने वा पछि गर्ने गरी संकल्प प्रस्ताव पारित गर्ने भन्नेबारेमा छलफल जारी नै रहेको प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले जानकारी दिए ।

विशेष महाधिवेशनमा जे देखियो

कांग्रेसको यसअघिका कार्यक्रमको तुलनामा विशेष महाधिवेशन धेरै व्यवस्थित थियो । मञ्चमा कुनै मर्यादाक्रम थिएन, सबै एउटै लयमा बसेका थिए । उद्घाटन कार्यक्रममा विशेषतः प्रतिनिधिसभा निर्वाचनअगाडि नै महाधिवेशन गर्नुपर्ने पक्षमा रहेका संस्थापन पक्षका ३० केन्द्रीय सदस्यमध्ये २८ जना उपस्थित थिए । देउवालाई जस्तोसुकै अप्ठ्यारोमा पनि काँध थाप्दै आएका पूर्वउपसभापति गोपालमान श्रेष्ठले उद्घाटनमा वाहीवाही पाएका थिए । राजनीतिबाट हराइसकेका पूर्वसभामुख तारानाथ रानाभाट  र २०१४ को विशेष महाधिवेशनका प्रतिनिधि ८८ वर्षीय ओमकारप्रसाद श्रेष्ठको समेत उपस्थिति थियो ।

नेता शेखर कोइरालानिकट रहेका पूर्वसांसद राजेन्द्र बजगाईं, सुनील शर्मा  समेत विशेष महाधिवेशनको पक्षमा आएका थिए । सुरुमा विशेष महाधिवेशनको पक्षमा नदेखिएका चन्द्र भण्डारी समेत विशेष महाधिवेशनको पक्षमा खुलेका थिए । भण्डारीले उद्घाटनमा बोल्दै हठ छाडेर बन्दसत्रमा उपस्थित हुन सभापति देउवालाई आग्रह गरेका थिए ।

विद्यार्थी राजनीतिदेखि नै देउवाका नजिक रहेका पूर्वसांसद ध्रुव वाग्ले  र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका नजिक रहेका सुधीर शिवाकोटी  पनि विशेष महाधिवेशनको पक्षमा खुलेका थिए । शिवाकोटीले जेन–जी आन्दोलनपछि सिटौलाको साथ छाडेको बताए । ‘हामी ५२ वर्षदेखिका साथी हौं, जेन–जी विद्रोहअघिसम्म म सिटौलाजीसँगै थिएँ, त्यसपछि उहाँले बुझ्नु भएन, परिवर्तनलाई आत्मसात् गर्नु भएन, त्यसपछि छाडें’  उद्घाटन समारोहमा बोल्दै शिवाकोटीले भने ।

संस्थापन पक्षमा रहेका उद्योगपति विनोद चौधरीले समेत विशेष महाधिवेशन उद्घाटनमा उपस्थित भएर मन्तव्य राखेका थिए । उद्घाटन सुरु हुनअघि बिहान ११ बजेदेखि नै काठमाडौंका विभिन्न ठाउँमा जुलुस र झाँकी सुरु भएको थियो । दिउँसो १ बजेतिर सुरु उद्घाटन कार्यक्रम राति साढे ७ बजेसम्म चलेको थियो ।

यसअघिका कार्यक्रममा अन्तिम वक्ता बोल्दा दर्शकदीर्घा खाली हुनेमा यस पटक अन्तिम समयसम्मै धैर्य गरेर नेता तथा कार्यकर्ता महामन्त्री विश्वप्रकाश शर्मा  र गगन थापाको भाषण सुन्न धैर्य गरेर बसेका थिए । हलबाट बाहिर निस्कँदा आठ बजिसकेको थियो ।

– कुलचन्द्र न्यौपाने