01/12/2026, 18:44:44
सोमबार, पुष २८, २०८२

अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : राष्ट्रपति ट्रम्प


एयर फोर्स वन, पुस २८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ आफ्नो नियन्त्रणमा लिने दाबी गर्नुभएको छ । आइतबार एयर फोर्स वनमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यदि वासिङ्टनले कदम नचाले रुस वा चीनले उक्त टापु ‘कब्जा’ गर्ने चेतावनी दिनुभयो ।

राष्ट्रपति ट्रम्पका अनुसार आर्कटिक क्षेत्रमा रुस र चीनको सैन्य गतिविधि बढिरहेका बेला खनिज स्रोतले भरिपूर्ण डेनमार्कको स्वशासित क्षेत्र ग्रिनल्यान्डमाथि नियन्त्रण अमेरिकी राष्ट्रिय सुरक्षाका लागि अत्यन्तै महत्वपूर्ण छ । “ हामीले ग्रिनल्यान्ड लिएनौँ भने, रुस वा चीनले लिनेछन् र म त्यसो हुन दिन्न”, उहाँले भन्नुभयो । यद्यपि कुनै पनि देशले औपचारिक रूपमा उक्त विशाल टापुमा दाबी गरेका छैनन् ।

उहाँले डेनमार्कको स्वशासित क्षेत्रसँग सम्झौता गर्न आफू खुला रहेको बताउँदै ‘तर कुनै न कुनै तरिकाले ग्रिनल्यान्ड हामीसँग हुने छ’ भन्ने अभिव्यक्ति दिनुभयो । ट्रम्पको यस भनाइप्रति डेनमार्क र अन्य युरोपेली सहयोगीले गहिरो चिन्ता व्यक्त गरेका छन् । ग्रिनल्यान्ड उत्तर अमेरिका र आर्कटिकबिच रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा रहेको छ र दोस्रो विश्वयुद्धदेखि नै त्यहाँ अमेरिकी सैन्य आधार अवस्थित छ ।

सन् १९५३ सम्म डेनमार्कको उपनिवेश रहेको ग्रिनल्यान्डले पछि स्वशासन पाएको थियो र पछिल्ला वर्षमा डेनमार्कसँगको सम्बन्धलाई क्रमशः खुकुलो बनाउनेबारे बहस चलिरहेको छ । तर टापुका अधिकांश बासिन्दा र राजनीतिक दलले आफू अमेरिकी नियन्त्रणमा जान नचाहेको स्पष्ट गर्दै आफ्नै भविष्य आफैँले तय गर्ने अधिकारमा जोड दिँदै आएका छन् । राष्ट्रपति ट्रम्पले भने यस दृष्टिकोणलाई पटक-पटक चुनौती दिँदै आउनु भएको छ ।

ग्रिनल्यान्डले सम्झौता गर्नुपर्छ किनभने ग्रिनल्यान्डले रुस वा चीनलाई आफ्नो नियन्त्रणमा लिएको देख्न चाहँदैन”, भन्दै उहाँले आफ्नो भनाइलाई ठट्टामिश्रित शैलीमा बचाउ गर्नुभयो । ग्रिनल्यान्डको सुरक्षालाई व्यङ्ग्य गर्दै उहाँले ‘त्यहाँको रक्षा के हो भने दुईवटा कुकुर स्लेज मात्र हुन्’ भन्नुभयो । उहाँले रुस र चीनसँग ‘सबैतिर विध्वंसक हतियार र पनडुब्बी छन्’ भन्ने दाबी गर्नुभयो ।

यसअघि डेनमार्कका प्रधानमन्त्रीले ग्रिनल्यान्डमाथि बल प्रयोग गरेर नियन्त्रण गर्ने कुनै पनि अमेरिकी प्रयासले आठ दशकदेखि कायम रहेको ट्रान्सएटलान्टिक सुरक्षा सम्बन्धलाई गम्भीर रूपमा क्षति पुर्‍याउने चेतावनी दिनुभएको थियो । त्यसप्रति प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले ‘यसले नाटोलाई असर गर्छ भने, असर गर्छ’ भन्दै टिप्पणीलाई हल्का रूपमा लिने प्रयास गर्नुभयो । उहाँले भन्नुभयो, “तर तपाईंलाई थाहा छ, ग्रिनल्यान्ड हामीलाई उनीहरूलाई चाहिनेभन्दा धेरै आवश्यक छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..