01/11/2026, 06:20:43
आइतबार, पुष २७, २०८२

भारतमा ४४ प्रतिशत शहरहरु प्रदूषित


काठमाडौँ, पुस २६ : भारतमा ४४ प्रतिशत शहरहरु प्रदूषित रहेको उर्जा तथा स्वच्छ वायु अनुसन्धान केन्द्र (सीआरइए) को नयाँ प्रतिवेदनले देखाएको छ । तर यसमध्ये केवल ४ प्रतिशत शहरमा मात्रै राष्ट्रिय स्वच्छ वायु कार्यक्रम (एनसीएपी) लागु गरिएको छ ।

कोभिड महामारीको वर्ष २०२० लाई छाडेर सन् २०१९ देखि २०२५ सम्मको अवधिका स्याटेलाइट डाटालाई विश्लेषण गरेर यो प्रतिवेदन तयार गरिएको हो । भारतमा ४०४१ वटा शहरमा गरिएको अध्ययनले १७८७ वटा शहर प्रदूषित रहेको देखाउँछ । यी शहरमा पीएम २.५ स्तर भारतको राष्ट्रिय मानकभन्दा अधिक पाइएको छ । भारतमा वार्षिक रुपमा हावामा ४० माइक्रोग्राम प्रति घन मिटर पीएम २.५ लाई राष्ट्रिय मानक र यसभन्दा बढीको अवस्थालाई प्रदूषण मानिन्छ ।

पीएम २.५ हावामा रहेका अति साना धुलो र धुवाँका कणहरु हुन्, जसमो व्यास २.५ माइक्रोमिटरभन्दा कम हुन्छ र सास लिदाँ फोक्सोमा सहजै छिर्नसक्छन् । प्रतिवेदनले असमको बार्यिनीहाट सर्वाधिक प्रदूषित शहर रहेको जनाएको छ । यहाँ पीएम २.५ स्तर १०० माइक्रोग्राम प्रति घन मिटर छ । त्यस्तै, दिल्लीमा ९७ माइक्रोग्राम प्रति घनमिटर र गाजियाबादमा ९३ माइक्रोग्राम प्रतिघनमिटर छ ।

प्रदूषित शहरको चौथो नम्बरमा नोएडा, पाँचौ नम्बरमा गुरुग्राम, छैटौं नम्बरमा ग्रेटर नोएडा, सातौंमा भिवान्डी, आठौंमा हाजीपर, नवौंमा मुजफ्फरनगर र दशौंमा हापुड छन् ।

भारतको राजधानी शहर नयाँ दिल्लीमा शनिबार वायु गुणस्तर सूचकांक (एक्युआई) निकै खराब अवस्थामा थियो । यहाँस्थित आनन्द विहारमा शनिबार बिहान एक्युआईले ४२५ को रेकर्ड पार गर्‍यो । नेहरू नगरमा ४२८ थियो ।

त्यस्तै, चाँदनी चौकमा ४०८, द्वारका सेक्टर– ८ मा ४०१, सिरी किल्लामा ४०३, विवेक विहारमा ४१४, पटपडगञ्जमा ३९७, जवाहरलाल नेहरू रंगशालामा ३९४ र आरके पुरममा ३९२ थियो । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) ले (०–५०) बीचको एक्युआईलाई उत्तम, (५१–१००) सन्तोषजनक, ( १०१–२००) ‘मध्यम’, (२०१–३००) ‘खराब’, (३०१–४००) अति खराब’ र (४०१–५००) ‘गम्भीर’ मानिन्छ ।

दिल्लीमा शुक्रबार राति न्युनतम तापक्रम ४.६ डिग्री सेल्सियसमा झरेको थियो । शनिबार बिहानैदेखि बाक्लो कुहिरोले शहर ढाकेको थियो । यहाँ शनिबार बिहान भिजिविलिटी कम भएकाले दिल्ली विमानस्थलमा कतिपय उडानहरु रद्द र कतिपय ढिला भए । शुक्रबार दिल्ली एनसीआर क्षेत्रका केही भागहरूमा वर्षा भएको थियो ।

तर, यसका बाबजुद पनि हावाको गुणस्तरमा उल्लेखनीय सुधार देखिएको छैन । चिसो, स्थिर वायुमण्डलीय अवस्था र हल्का हावाका कारण यस्तो अवस्था निम्तिएको मौसम विद्हरुले जनाएका छन् ।

सत्तापक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोप

दिल्ली विधानसभाको हिउँदे अधिवेशनको अन्तिम दिन शुक्रबार वायु प्रदूषणको विषयलाई लिएर सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र विपक्षी आम आदमी पार्टी (आप) आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

वातावरणमन्त्री मनजिन्दर सिंह सिरसाले विगतमा आप सरकारले प्रदूषण नियन्त्रणका लागि कुनै कदम नचाल्दा अहिले दिल्लीवासीले समस्या भोग्नुपरेको आरोप लगाए । त्यस्तै, आपका विधायकहरूले भाजपाको शासनकालमा दिल्लीको वायु गुणस्तर इतिहासमै सबैभन्दा धेरै बिग्रिएको बताए ।

सदनमा प्रदूषणलाई लिएर झन्डै घण्टा लामो दुई घण्टा लामो सवाल–जवाफ चलेको थियो । मन्त्री सिरसाले सरकारले सरकारले प्रदूषण नियन्त्रणका लागि विशेष योजना बनाइरहेको बताए । उनले विश्व स्वास्थ्य संगठन र आईक्यु एयरजस्ता वैश्विक एजेन्सीहरूको विश्लेषण उद्धृत गर्दै आपको सरकारले लिएका खराब नीतिहरुको असफल परिणाम अहिले उजागर भएको बताए ।

भारतको महालेखा परीक्षकको निष्कर्षलाई उल्लेख गर्दै, उनले आप सरकारको समयमा लागु गरिएको ‘जोर–बिजोर’ सवारी योजनाले प्रदूषण नियन्त्रण गर्न नसकेको बताए । उनले वायु–गुणस्तर अनुगमन स्टेशनहरू स्थापना गर्न उक्त सरकार असफल रहेको आरोप लगाए ।

आपका विधायक तथा पूर्व वातावरणमन्त्री गोपाल रायले आफ्नो असफलता लुकाउनका लागि भाजपाले विगतको सरकारलाई दोष दिएको बताए । भाजपा सरकारले कृत्रिम वर्षा प्रयोगको योजनामा कराडौं लगानी गरेर पनि वर्षा गराउन नसकेको उनले बताए । ‘करोडौं खर्च गर्दा पनि सरकारले आफ्नो असफल कृत्रिम वर्षा प्रयोगको बारेमा किन कुरा गर्दैन?’ उनले सोधे ।

मुख्यमन्त्री रेखा गुप्ताले कृतिम वर्षाका लागि विगत गरिएको प्रयत्नको विरोध गर्नुको साटो प्रशंसा गर्नुपर्ने बताइन् । ‘क्लाउड सिडिङ गर्ने हाम्रो प्रयास असफल भयो होला । तर, हामीले प्रयास गर्‍यौं । यसको कदर हुनुपर्छ,’ उनले भनिन् । उनले फोहोर र सडक सफाई प्रयासका लागि दिल्ली महानगरपालिकालाई पर्याप्त रकम जारी गरिएको बताइन् । ‘दिल्ली ग्यास चेम्बरबाट हरियो हुँदैछ,’ उनले भनिन् ।

दिल्लीमा गत अक्टुबरमा क्लाउड सिडिङमार्फत कृतिम वर्षा गराउने प्रयास गरिएको थियो । तर, आद्रताको कमीका कारण सुरुवाती प्रयासहरु विफल भए । यद्यपी, भविष्यमा राम्रो मौसम भएको अवस्थामा कृतिम वर्षा गराउन सकिनेमा सरकारी अधिकारी र विज्ञहरु आशावादी देखिएका छन् ।

हावामा औषधी प्रतिरोधी जीवाणु

दिल्लीको विषाक्त हावामा औषधी प्रतिरोधी ब्याक्टेरिया रहेकोे जवाहारलाल नेहरु विश्वविद्यालयको नयाँ अध्ययनले देखाएको छ । यसले जनस्वास्थ्यमा चुनौती थपेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

उक्त रिपोर्ट नेचर– साइन्टिफिक जर्नलमा प्रकाशित छ । वैज्ञानिकहरुका अनुसार अधिाकंश ब्याक्टेरिया मेथीसिलिन प्रतिरोधी रहेका छन् र यी ब्याक्टेरियालाई कडा एन्टिबायोटिकल पनि छुँदैन । जसकारण, दिल्लीको प्रदूषण हावा लिनेहरुमा ज्यानै लिने वा कडा उपचार गनुपर्ने खालको श्वास प्रश्वास सम्बन्धी जोखिम रहेको वैज्ञानिकहरु बताउँछन् ।

दिल्लीको वायु प्रदूषणले दम र मुटु सम्बन्धी रोगलाई खराब गर्ने मात्रै होइन, एन्टिमाइक्रोबायल रेसिस्टेन्स् वा एएमआरको जोखिम पनि बढाउँछ । जेएनयुका अनुसन्धानकर्ताहरुले दिल्लका विभिन्न इलाकामा घरभित्र र बाहिरको हावाको नमुना लिएर यो अध्ययन गरेका थिए ।

हावामा रहेका औषधी प्रतिरोधी जीवाणुहरुले निमोनिया, रक्त संक्रमण, युरिनरी ट्रयाक इन्फेक्सन, छालाको समस्यालगायत विभिन्न रोगको जोखिम निम्त्याउनसक्ने जनस्वास्थ्यविद्हरुले बताएका छन् । त्यस्ता जीवाणु नियन्त्रणका लागि सामान्य एन्टिबायोटिक र औषधिहरुले काम नगर्ने भएकाले उपचारका जटिलता थपिने चिकित्सकहरुले बताएका छन् ।

प्रतिरोधी क्षमता विकासोन्मुख शिशु र बालबालिका, कमजोर प्रतिरोधी क्षमता भएका जेष्ठ नागरिक, दिर्घकालीन फोक्सोको समस्या (दम र सिओपिडी), कमजोर प्रतिरोधी क्षमता भएका र भर्खरै शल्यक्रिया गराएका वा आलो घाउ भएका मानिसहरु यस्तो समस्याको ठूलो जोखिममा रहेको चिकित्सकहरुले बताएका छन् ।