01/11/2026, 09:19:49
आइतबार, पुष २७, २०८२

कांग्रेस विशेष महाधिवेशनमा सभापति देउवासहितका पदाधिकारीलाई निम्तो


काठमाडौँ, पुस २६ गते । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ  पनि पार्टीको विशेष महाधिवेशनमा सहभागी हुनु हुने भएको छ ।

शनिबार विशेष महाधिवेशन  स्थलमा पत्रकार सम्मेलन  गरी विशेष महाधिवेशन पक्षले संस्थापन पक्षका वरिष्ठ नेता श्रेष्ठ पनि विशेष महाधिवेशनमा सहभागी हुने जानकारी गराएको हो ।

त्यसैगरी पार्टी एकताको पक्षमा वकालत गरिरहेका नेताहरू डा. चन्द्र भण्डारी, डा. सुनिल शर्मा लगायतका नेताहरूले पनि विशेष महाधिवेशनमा सहभागी हुने जानकारी गराएको नेता सुवास पोखरेलले बताउनु भयो ।

सो महाधिवेशनमा भाग लिनका लागि सभापति शेरबहादुर देउवासहित पदाधिकारीलाई पनि पत्र पठाइएको पत्रकार सम्मेलनमा बताइएको छ । नेता पोखरेलले कांग्रेसको गरिमालाई बढाउन महाधिवेशनमा सभापति देउवा सहभागी हुने विश्वास समेत व्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो,  ‘पार्टी सभापतिले हाम्रो निम्तोलाई स्वीकार गरेर हामीलाई सम्मान गर्नु हुने छ । हामीले यो अपेक्षा गरेका छौँ ।

विशेष महाधिवेशनको तयारीको काम पूरा भएको पनि त्यसको सचिवालयले जनाएको छ ।