काठमाडौँ, पुस २६ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकताका क्रममा कुनै पनि पद र प्रधानमन्त्री नमागेको दाबी गरेका छन् । उनले सञ्चारमाध्यममा आएको जस्तो प्रधानमन्त्री र पदाधिकारी आफूहरुले नमागेको दाबी गरे ।
रास्वपासँगको एकता १२ दिनमै तोडे लगत्तै उज्यालो नेपाल पार्टीको अध्यक्षको जिम्मेवारी सम्हाल्दै उनले साधारण सदस्यको रुपमा मिलेर बस्न चाहेपनि सम्भव नभएको दाबी गरे ।
‘मैले प्रधानमन्त्री र पार्टी अध्यक्ष केही मागेको छैन । हाम्रा साथीहरुले साधारण सदस्य भएपनि बस्ने भनेका थिएँ,’ घिसिङले भने, ‘तर आज एकतर्फी रुपमा रास्वपा तर्फबाट तोड्ने काम भयो । हामी एक्लै भएपनि अघि बढ्नुपर्ने भएको छ ।’
रास्वपासँग एकता कायम गर्न घिसिङले पार्टीको नाम फेर्नुपर्ने, वरिष्ठ उपसभापति र महामन्त्री दिनुपर्ने, समानुपातिकमा थप हुनुपर्ने, केन्द्रीय सदस्य कम्तीमा २१ जना चाहिने माग राखेको खबर सञ्चारमाध्यमहरुमा सार्वजनिक भएको थियो ।
‘हामीले केही बार्गेनिङ गरेका थिएनौँ । म उपाध्यक्ष तल वरीयता भएपनि गएको थिए । आज अन्तिम पटक मैले सहमतिको प्रयास गरेका थिएँ । साधारण सदस्य भएर बस्छु भनेको थिएँ,’ घिसिङले भने, ‘केही साथीहरुलाई केन्द्रीय सदस्यमा मिलाऔं भनेको थिएँ । समावेशिता, संघीयता र संविधानले देखाएका आधारभूत कुरामा पूरक सम्झौता गरौँ भनेको थिएँ । तर त्यो हुन सकेन । समानुपातिकका विषयमा पनि लामो समय लिनुभयो ।’
घिसिङले उज्यालो नेपाल पार्टीले १६५ क्षेत्रमै उम्मेदवार उठाउने र सहकार्य गर्न इच्छुकहरुसँग सहकार्य गर्ने दाबी गरे । उनले उज्यालो नेपाल पार्टीको सदस्यता लिएको र आजै अध्यक्ष चयन गरेको दाबी गर्दै अब पार्टीको संगठन बनाउन रातदिन खटिने दाबी गरे । घिसिङले आगामी दिनमा आफ्नो नेतृत्वमा देशव्यापी रुपमा प्रभावकारी बनाएर अघि बढाउने दाबी गरे । उनले दुई महिनाअघि पार्टीको नेतृत्वमा भएकासहित सवैलाई धन्यवादसमेत दिए ।
घिसिङले लामो समय रास्वपालाई पर्खनुपर्दा ठूलो क्षति भएको दाबी गरे । घिसिङले अब आफूहरु जेन–जीको भावना अनुसार काम गर्ने गरी अघि बढ्ने दाबी गरे ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










