01/11/2026, 06:56:15
आइतबार, पुष २७, २०८२

“कुलमानले दिनदिनै माग फेर्न थालेपछि आ-आफ्नो बाटो लागौँ भनेँ”

सचिवालयले उज्यालो नेपालसँग पुस १४ मा भएको सहमतिलाई अनुमोदन नगर्ने निर्णय गरेको छ ।


काठमाडौँ, पुस २६ : उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँगको सहमति भंग भएकोबारे रास्वपाका सभापति रवि लामिछानेले पार्टी सचिवालय बैठकमा ब्रिफिङ गरेका छन् । घिसिङले दिनदिनै माग फेर्ने गरेपछि अहिले एकताबद्ध भएर जान नसक्ने अवस्था आएको लामिछानेले सचिवालयको भर्चुअल बैठकमा जानकारी दिएका थिए ।

रास्वपाका दुई सचिवालय सदस्यहरूका अनुसार पुस १४ मा सहमति भएको दिनदेखि नै कुलमानले नयाँ-नयाँ माग अघि सार्दै आएको कुरा सभापति लामिछानेले बताएका थिए । बालेन्द्र शाह र कुलमान घिसिङसँग राम्रो पार्टी बनाउने सोचेर सहमति गरेको, सहमतिका लागि नक्खु कारागारमा रहे देखि नै पहल लिएको तर अन्तिममा सँगै जाने अवस्था नबनेको घिसिङले बताएका थिए ।

कुलमानले सरकारको मन्त्री पद छोडेपछि पार्टीमा उपसभापति दिने सहमति भइसकेपछि दिनदिनै नयाँ-नयाँ माग राख्ने गरेको रविले सचिवालय बैठकमा सुनाएका थिए । ‘कुलमानले प्रत्येक दिन नयाँ नयाँ कुरा ल्याउने गर्नुभयो । एउटा माग सम्पन्न गर्‍यो भोलिपल्ट अर्को माग ल्याउने काम भयो । त्यसमा पनि मेरो भाग कति, म के हुने, मेरा मान्छे कति जना कहाँ राख्ने जस्ता माग ल्याउने काम कुलमानबाट भयो,’ लामिछानेले सचिवालय बैठकमा ब्रिफिङ गरेका थिए, ‘बालेनले केन्द्रीय समितिमा राख्ने मान्छेका नाम दिनुभयो । प्रक्रिया अगाडि बढ्यो । तर कुलमानले समानुपातिकमा नाम दिएपछि छुट्टाछुट्टै मान्छे मिलाउँ भन्ने । राम्रो मान्छे छ भने तेरोमेरो नभनी काम गरौं भन्दा भागबण्डा र पावरको कुरा मात्रै प्रधान बनाउनुभयो ।

रविलाई पार्टी, बालेनलाई सरकार र कुलमानलाई भौतिक पूर्वाधार लगायतका कामको जिम्मेवारी तोक्ने प्रस्ताव गर्दा पनि कुलमानले नमानेको लामिछानेले ब्रिफिङ गरेका थिए । ‘तीन नेतामा काम बाँडफाँटको कुरा गर्ने क्रममा रविले पार्टी सम्हाल्ने, बालेनले सरकार सम्हाल्ने सहमति भयो । कुलमानको विज्ञताअनुसारको भौतिक पूर्वाधारमा कायापलट गर्ने जिम्मेवारी तोकौं भन्दा नमान्ने । म के र कहाँ हुन्छु भन्ने कुरा गरिरहेपछि सहमति बनेन,’ लामिछानेको ब्रिफिङ उल्लेख गर्दै एक सचिवालय सदस्यले भने ।

पछिल्लो समय घिसिङले आफ्नो तर्फबाट समानुपातिक सांसद कति जना सुनिश्चित हुन्छन् र प्रत्यक्षमा कति जना भन्ने माग गरेका थिए । त्यस्तै, पार्टीमा वरिष्ठ उपसभापति, महासचिव र ३० भन्दा बढी केन्द्रीय सदस्य माग गरेका थिए ।

यो ब्रिफिङसँगै रास्वपाले उज्यालो नेपालसँगको सहमति अनुमोदन नगर्ने निर्णय गरेको थियो । रास्वपा सचिवालय सदस्य शिशिर खनालले भने, ‘सचिवालयले उज्यालो नेपालसँग पुस १४ मा भएको सहमतिलाई अनुमोदन नगर्ने निर्णय गरेको छ ।