काठमाडौँ, पुस २६ गते । गत मङ्सिर महिनाभर चलेको नेपालको चर्चित फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) ले लुम्बिनी लायन्सलाई नयाँ च्याम्पियनको रूपमा पायो ।
सुरुवाती तीन खेलमा लगातार हार खेपेपछि लुम्बिनीका अध्यक्ष ईश्वर जिसीलाई लागेको थियो कि नियती फेरि दोहोरिएला । आठ टोली सम्मिलित एनपिएलमा अघिल्लो सिजन अन्तिममा रहेको टोलीले यसपटक पनि सुरुवातमा लगातार हार खेप्दा झस्किनु स्वभाविक थियो ।
तर लुम्बिनीले चौथो खेलमा आएर सकात्मक नतिजा निकाल्न थाल्यो । विस्तारै समूह चरण पार गर्दै लुम्बिनीले अन्तिममा ट्रफी नै उचालेर छाड्यो । फाइनलमा लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिम रोयल्समाथि ६ विकेटको एकपक्षिय जित हात पारेको थियो ।
उपाधिको प्रमुख दावेदार रहेको सुदूरपश्चिमलाई ८५ रनमै अलआउट गरेको लुम्बिनीले ८६ रनको समान्य लक्ष्य नौ ओभरमै चार विकेटको क्षतिमा पूरा गरेको थियो ।
लुम्बिनीका अध्यक्ष जिसी पहिलो सिजन र यस सिजनको सुरुवाती खेलमा हारको तिजाले जितका लागि पाठ सिकाएको बताउनु हुन्छ । ‘‘जितका लागि हामीले व्यवस्थापकको हिसाबले कुनै कमी राखेका थिएनौँ । पहिलो सिजन धेरै नराम्रो भयो । यसपटक पनि सुरुवातमा आत्तिएको जस्तो भयो । तर बिचमा पुगेर हेर्दा अझै गर्न सकिन्छ भन्ने थियो ।
आखिर अन्तिमसम्म नेपाली र विदेशी खेलाडीले गरेर देखाए । कप्तान रोहित पौडेलको प्रदर्शन र टिम सम्हाल्ने क्षमता बेजोड रह्यो । फाइनलमा कम स्कोरको लक्ष्य पाउनु एक अर्थमा भाग्यमानी भयौँ । तर जितका लागि हामीले हारबाट पाठ सिकेर मिहिनेत गरेका थियौँ । जसलाई साकार पारेर छाड्यौँ । उपाधि ‘ड्रिम कम ट्रयु’ जस्तै भयो,’’ जिसीले भन्नुभयो ।

प्रवेशिका परिक्षापछि अध्ययनका लागि भारत जानु भएका जिसी खेलाडी सामान्य क्रिकेट खेलाडी हुनु हुन्छ । तर विश्व क्रिकेटको महारथि भारतीय क्रिकेट र विशेष गरी आइपिएल देख्दा नेपालमा पनि केही गर्न सकिन्छ भन्ने हेतुले एनपिएलको फ्रेन्चाइज टोली लिएको बताउनु हुन्छ ।
‘‘पछिल्लो समय नेपाली क्रिकेटको क्रेज बढेको छ । लगानीका लागि नीजि क्षेत्र अग्रसर भएका छन् । सरकारले पनि अहिले क्रिकेटमा राम्रो गरिरहेको छ । संरचना निर्माणमा सरकारको चासो बढि रहेको छ । एनपिएलमार्फत क्रिकेटलाई व्यवसायिक बाटोमा लान नेपाल क्रिकेट सङ्घ (क्यान) ले ठुलो महत्त्व दिएको छ ।
यसलाई फ्रेन्चाइज टोलीले नाफा भन्दा लगानी र देशकै ब्रान्डिङको रूपमा प्रयोग गरेका छौँ । लगानी गर्दै जाँदा एक दिन नाफा पनि होला भन्ने सोच छ । एनपिएललाई खेलसँगै एउटा उद्योग बनाउन सकिन्छ,’’ जिसीले भन्नु भयो । उहाँले सरकारले खेलाडी अनुबन्धका लागि कर र श्रम इजाजत सहज बनाई दिए अझै विदेशका राम्रा खेलाडी नेपाल आउने र यसले नेपाली क्रिकेटलाई थप फाइदा हुने बताउनु भयो ।

एक्साटेक ओभललाई होम मैदान बनाएको लुम्बिनीले अहिलेको उपाधिसँगै अर्को उपाधि जित्नका लागि तयारी सुरु गरेको पनि जिसीको भनाइ छ । ‘‘हामीले लुम्बिनीमै राम्रो होम मैदान पाएका छौँ । एक्साटेक होम मैदान पाउनु गर्वको क्षण हो । सोही मैदानमा एनपिएलको होम एन्ड अवे खेल खेल्ने रहर छ । लुम्बिनी प्रदेशलाई केवल लुम्बिनीले मात्र होइन, अब क्रिकेट खेल र संस्कृतिले पनि चिनाउने प्रयत्न गर्ने छौँ ।
लुम्बिनीको च्याम्पियन ट्रफी टुर भर्खर सकिएको छ । ट्रफी टुर पछि सबै जिल्लाको उत्साहलाई बोकेर हामीले अर्को वर्ष पुन: च्याम्पियन बन्ने अभियान थालेका छौँ । लुम्बिनी लायन्स अर्को सपनाको यात्रामा छ,’’ जिसीले भन्नु भयो ।
– गाेविन्द रेग्मी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














