01/03/2026, 19:07:14
शनिबार, पुष १९, २०८२
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

कपुरकोटमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न


सल्यान, पुस १९ गते । सल्यानको कपुरकोट गाउँपालिकाले सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा जीवनज्योति नमुना माध्यमिक विद्यालय, कपुरकोट–५, रिमले पहिलो स्थान हासिल गर्न सफल भएको छ ।

१६ स्वर्ण, १५ कांस्य र ११ रजत पदकसहित जीवनज्योति माबि पहिलो भएको छ । यस्तै, भवानी माध्यमिक विद्यालय, कपुरकोट–६, छायानाथले १६ स्वर्ण, ११ कांस्य र २० रजत पदकसहित दोस्रो स्थान प्राप्त गरेको छ भने नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, कपुरकोट–४, किमुचौरले १३ स्वर्ण, १२ कांस्य र ८ रजत पदकसहित तेस्रो स्थानमा चित्त बुझाएको छ ।

प्रतियोगितामा ६ विद्यालयको सहभागिता रहेको थियो । पुस १५ देखि किमुचौरमा सुरु भएको प्रतियोगिता शुक्रबार समापन भएको हो । विभिन्न खेलकुद विधामार्फत विद्यार्थीको प्रतिभा, अनुशासन र प्रतिस्पर्धात्मक क्षमता उजागर गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगिता समापन कार्यक्रममा कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी लगायतले उत्कृष्ट प्रदर्शन गर्ने विजयी खेलाडी तथा विद्यालयलाई प्रमाणपत्र, पदक र सम्मान प्रदान गर्नु भएको थियो ।

प्रतियोगिताले विद्यार्थीमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुगेको खेलकुद विकास समिति कपुरकोटका अध्यक्ष शेरबहादुर पुनले बताउनु भयो ।

– शङ्कर केसी