01/04/2026, 06:59:06
आइतबार, पुष २०, २०८२

पूर्वमन्त्री कुमार खड्का रास्वपा प्रवेश


लेखनाथ, पुस १९ गते । पूर्वमन्त्री कुमार खड्का  र नेकपा (एमाले) का नेता एवम् व्यवसायी पुष्पराज अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकीले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा रास्वपा उपसभापति स्वर्णीम वाग्लेले उहाँहरुलाई पार्टी प्रवेश गराउनुभएको हो ।

नेपाली कांग्रेस पृष्ठभूमिका खड्का दोस्रो जनआन्दोलनपछि अखण्ड नेपाल पार्टी खोलेर समानुपातिकबाट सांसद बन्नुभएको थियो । संविधान सभामा रहँदा उहाँ पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री बन्नुभएको थियो ।

पछि आफ्नो सिङ्गो पार्टीलाई नै नेपाली कांग्रेसमा विलय गराउनुभएका खड्का गण्डकी प्रदेशमा समानुपातिकबाट सांसद बन्नुभएको थियो । उहाँ प्रदेशसभाको अघिल्लो कार्यकालमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्रीसमेत बन्नुभएको थियो । २०७९ को निर्वाचनका बेला कास्की २ (२) मा निकटका आकांक्षी खड्काले टिकट पाउनु भएन ।

पछि निर्वाचनमा काङ्ग्रेसका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको अभियोगमा कारवाहीमा पर्नुभएको थियो । त्यस यता निष्क्रिय रहनुभएका खड्काले वैकल्पिक शक्तिबाट देश निर्माण सम्भव भएकाले रास्वपा रोजेको बताउनुभयो । “परम्परागत शक्तिबाट अब देशको विकास र समृद्धि सम्भव नभएको उहाँको भनाइ छ ।

रास्वपा प्रवेश गर्नुभएका अधिकारी एमालेका स्थापित नेता हुनुहुन्छ । रुपाकोट रिसोर्टका सञ्चालक समेत रहनुभएका उहाँ गत निर्वाचनमा सांसदको आकांक्षीसमेत हुनुहुन्थ्यो । शनिबार व्यवसायी मिलन थापाले पनि रास्वपा रोज्नुभएको छ ।

– फडिन्द्र अधिकारी