सुर्खेत, पुस १९ गते । कर्णालीबाट बन्ने समानुपातिक उम्मेदवारको टुङ्गो लागेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फ सबै जसो दलले सिफारिस गरेका उम्मेदवारको बन्दसूची सार्वजनिक भएको हो ।
१० वटा जिल्ला रहेको कर्णालीमा १२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन् । सबै जसो दलका तल्ला कमिटीले प्रत्येक निर्वाचन क्षेत्रबाट समानुपातिक उम्मेदवारका लागि नाम सिफारिस गरी पठाएका थिए । दुई वटा दलले कुल निर्वाचन क्षेत्रको दुई तिहाइ सङ्ख्यामा समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरे पनि अन्य दलले ५० प्रतिशत वा सोभन्दा कम हुने गरी मात्र उम्मेदवार बनाएका छन् ।
कर्णालीबाट नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आठ/आठ जनालाई बन्दसूचीमा समेटेको छ । अर्को ठुलो दल नेकपा (एमाले) बाट छ जनाको नाम बन्दसूचीमा राखिएको छ । नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तीन जना समेटिएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा जुम्लाबाट चार जनाको नाम समावेश छ । २०७९ मा जुम्लाबाट निर्वाचित निवर्तमान सांसद ज्ञानेन्द्र शाहीका अनुसार दलित महिलातर्फ विपना नेपाली, दलित पुरुषतर्फ बलबहादुर बस्याल, खस–आर्यतर्फ कमलाकुमारी बोहोरा (विष्ट) र जयन्त महतको नाम बन्दसूचीमा समावेश छ ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले पनि कर्णालीमा १० भन्दा बढी नेता कार्यकर्ताको नाम समानुपातिकका लागि केन्द्रमा सिफारिस गरेको सो पार्टीका कर्णाली प्रदेश परिषद्का अध्यक्ष राजेन्द्र बुढाले बताउनुभयो । यद्यपि बन्दसूचीमा परेका उम्मेदवारका नाम सार्वजनिक नभएको उहाँको भनाइ छ । कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा समेटेका आठ जनामध्ये कालीकोटका कालीबहादुर सहकारी निकै पुराना नेता हुनुहुन्छ । यस्तै सल्यानका कुलबहादुर मल्ल, मुगुबाट रोम रोकाया, सुर्खेतकी पार्वतीकुमारी गिरी पनि कांग्रेसबाट समानुपातिकतर्फको बन्दसूचीमा समावेश हुनुभएको छ । रुकुमपश्चिमबाट मानबहादुर नेपाली, जाजरकोटबाट हजारी नेपाली (बादी), हुम्लाबाट ताराबहादुर थापा र दैलेखबाट सरस्वती श्रेष्ठ समानुपातिकतर्फको बन्दसूचीमा हुनुहुन्छ । बन्दसूचीमा परेका प्रायः राजनीतिक वृत्तमा चिनिएका नाम होइनन् ।
नेकपा (एमाले) बाट समानुपातिक बन्दसूचीमा परेका हुम्लाका गोरखबहादुर बोगटी २०४८ सालयताका सबै जसो निर्वाचनमा भाग लिएका नेतामा पर्नुहुन्छ । एमालेले बन्दसूचीमा समेटेको अर्का नेता हुनुहुन्छ सुर्खेतका बालाराम शर्मा । २०५४ सालमै वीरेन्द्रनगरको नगरप्रमुख बनेका शर्मा एमाले सुर्खेतका संस्थापकमध्ये एक हुनुहुन्छ । यस्तै जाजरकोटका लालबहादुर महतारा पनि पुराना नेता हुनुहुन्छ । उहाँ २०७४ मा छेडागाड नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो । कालीकोटका दुर्गाबहादुर शाही, मुगुका सोनाम छिरिङ लामा (आदिवासी) कालीकोटकी यशोदा बराल (अपाङ्गता) पनि एमालेबाट समानुपातिकतर्फको बन्दसूचीमा पर्नुभएको छ ।
यस्तै नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को समानुपातिक बन्दसूचीप्रति साबिक माओवादी नेताहरू असन्तुष्ट बनेका छन् । माओवादीको आधार इलाका भन्ने गरिए पनि कर्णालीबाट माओवादी पृष्ठभूमिका जम्मा चार जनाको नाम समावेश छन् । माओवादीका तर्फबाट खस–आर्यतर्फ कालीकोटकी गङ्गा खड्का, आदिवासी जनजातितर्फ रुकुमपश्चिमका झक्कुप्रसाद घर्ती समावेश छन् । यस्तै दलिततर्फ जाजरकोटकी पार्वती विकको नाम छ । उनीहरू सबै जसो नयाँ अनुहार हुन् । साबिक माओवादी केन्द्रबाटै युवा नेतृ पञ्चा सिंह केन्द्रकै कोटाबाट समानुपातिक उम्मेदवार बन्नुभएको छ । सुर्खेतकी सिंहले अहिलेसम्म कुनै संसदीय चुनावमा भाग लिनुभएको छैन ।
नेकपाले साबिक समाजवादीतर्फबाट उम्मेदवार बनाएका चार जनामा खस–आर्यतर्फ जुम्लाका तीर्थबहादुर बुढा, जाजरकोटका कृष्णबहादुर बुढा र मुगुका जयानन्दा रावल छन् । यस्तै दलिततर्फ सल्यानकी शारदा दमैको नाम समावेश छ । उहाँहरू पनि सबै नयाँ नै हुनुहुन्छ । रास्वपाले कर्णालीबाट समानुपातिकतर्फ तीन जनालाई समेटेको छ । रास्वपाबाट खस–आर्यतर्फ बन्दसूचीमा परेका रुकुमपश्चिमका प्रेम बोहोरा कर्णालीमा चर्चित नाम हो । यस्तै आदिवासी जनजातितर्फ हुम्लाकी टासी ल्हाव्जोमको नाम छ । उहाँ जेनजीका तर्फबाट सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री बन्ने चर्चा थियो । यस्तै रुकुमपश्चिमबाट सिर्जना वली ‘सिज्जु’ को नाम पनि बन्दसूचीमा परेको छ । अहिलेको सामाजिक सञ्जाल चलाउने युवापुस्तामा यो नाम परिचित नाम हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










