12/20/2025, 15:36:52
शनिबार, पुष ०५, २०८२

घुम्ती व्यापारमा व्यस्त दृष्टीविहीन व्यक्ति


जाजरकोट, पुस ५ गते । भेरी नगरपालिका–११ धुल्यौटाकी २२ वर्षिया सिता विक पूर्ण दृष्टीविहिन अपाङ्गता हुनु हुन्छ । आफु पूर्ण दृष्टीविहिन भएता पनि सिता चाउचाउ, विष्कुट, चक्लेट, कापी, कलम, मोवाइलको रिचार्ज कार्ड, अगरबत्ति, साबुन, सेम्पो लगायतका सामानहरु लिएर सबैको घरदैलोमा धाउने गर्नुभएको छ । झोलामा सामान बोकेर सेतो छडिको सहायताले सिता अरुको घरदैलोमा पुग्ने र दिनभरको घुम्ती व्यापारबाट आएको नाफाबाट सिताले आफ्नो जीवन निर्वाह गर्दै आउनुभएको छ ।

सिता जस्तै भेरी नगरपालिका–११ का निम बहादुर विक, खिमा महतारा, सितला वर, तुल्सी खत्री पनि पूर्ण दृष्टीविहीन हुनु हुन्छ । उहाँहरुले पनि सिता जस्तै सेतो छडिको सहायतामा झोलामा सामान बोकेर घुम्ती व्यापार गर्न दिनभर गाउँ चहार्ने गर्दै आउनु भएको छ ।

उहाँहरु जस्तै भेरी नगरपालिका–६ की निर्मला हमाल, पिउकली विक, धनसरी विक, पवित्रा पुन, कृष्ण विक पनि घुम्ती व्यापार गर्ने दृष्टीविहीन अपाङ्गता हुनुहुन्छ । दिभर गरेको व्यापारबाट भएको नाफाले जीवन धान्नुको साथै आफ्ना परिवारका सदस्यहरुलाइ सहयोग गर्दै आउनुभएको छ ।

दृष्टीविहीन उहाँहरुले समावेसीकरण र सशक्तिकरण परियोजनाले आर्थिक सहयोग गरेपछि घुम्ती व्यापारमा गर्न थाल्नुभएको हो । भेरी नगरपालिकाका १५ जना दृष्टीसम्बन्धी अपाङ्गता भएका व्यक्तिलाई परियोजनाले दुई लाख सहयोग गरेपछि उहाँहरु घुम्ती व्यापारमा लागेको परियोजनाको सामाजिक परिचालक झरना रानाले जानकारी दिनु भयो ।

परियोजना सल्लाहकार खेमराज शर्माले सन् २०२२ देखि सञ्चालित समावेसीकरण र सशक्तिकरण परियोजनाले भेरी नगरपालिकाका ४५ जना दृष्टी सम्बन्धीका अपाङ्गता भएका व्यक्तिहरुलाई सेतो छडि वितरण गर्नुका साथै हिँडाइ तथा डुलाइ सम्बन्धीको तालिम दिएकोे जानकारी दिनुभएको छ । परियोजनाले हालसम्म भेरी नगरपालिकामा २४ लाख बजेट खर्च गरिसकेको शर्माले जानकारी दिनुभएको छ ।

अपाङ्ग स्वावलम्वन संस्था जाजरकोटका सचिव हस्तबहादुर विकले अपाङ्गता भएका व्यक्तिहरुको जिविकोपार्जनमा परियोजनाले ठुलो भूमिका खेलेको बताउनुभयो ।

– सहदेव बस्नेत